बाल्यकालमा चार्डपर्व कुरेर बस्थ्यौं

गणेशभक्त गौतम स्वास्थ्य कार्यालय, सुर्खेतका क्षय–कुष्ठ रोग अधिकृत हुन् । कलाकारिता र साहित्य सिर्जनामा पनि उनी उत्तिकै सक्रिय छन् । बागीना समूहको संस्थापक अध्यक्षसमेत रहेका गौतम वाङ्मय चौतारी नेपाल सुर्खेत र आरङ्ग नेपाल सुर्खेतका अध्यक्षसमेत हुन् । वि.सं. २०२७ पुस १७ गते बुबा बखत गौतम र आमा सावित्री गौतमको कोखबाट सुर्खेतमा जन्मिएका गौतमले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी गरेः


मेरो बाल्यकाल केही समय दैलेख र धेरै समय सुर्खेतमा बित्यो । जन्म सुर्खेतमै भए पनि पुख्र्यौली घर दैलेख भएकाले कक्षा दुईमा पढ्ने बेलासम्म म दैलेखमा बसें । पहिला मेरो मामाको घर सुर्खेत । जन्म भने मेरो सुर्खेतमै भएको हो । हाम्रो ठूलो परिवार थियो । एउटै परिवारमा ३२ जना बस्थ्यौं । जेठो बुबा र अंकलहरूको परिवार हामी सबै सँगै बसेका थियौं । ठूलो परिवार भएकाले पनि रमाइलो हुन्थ्यो । बुबा सरकारी जागिरे हुनुुहुन्थ्यो । हाम्रो तीन÷चार पुस्तानै जागिरे हुनुहुन्थ्यो । सम्पन्न परिवारकै रूपमा थियौं हामी ।
मलाई घरमै बुबाले अक्षर चिनाउनु भएको हो । मैले विद्यालयमा कक्षा २ मा पढेको हुँ । मैले कक्षा २ मा पढ्दा पहिलो एक महिनाको अनुभव रमाइलो छ । म सानैदेखि नाँच्ने, गाउने, क्यारिकेचर गर्ने बानी थियो तर विद्यालयमा बोल्नै धक लाग्थ्यो । सुरु–सुरुमा हाजिरी लगाउँदा ‘एस सर’ भन्नै अप्ठ्यारो लाग्थ्यो । सरले रोल नम्बर भन्दै मेरो नम्बर नजिक आउँदा म निकै डराउँथे । दिदीको रोल नम्बर र मेरो अघिपछि भएकाले दिदीले मलाई पनि आएको छ है भनेर भन्नुहुन्थ्यो । अनि सरले हाजिर लगाइदिनुहुन्थ्यो । एक दिन त आँट गरेर ‘एस सर’ भनेँ । त्यस दिन ठूलै केही जितेको जस्तो लाग्यो । विद्यालय बिदा हुने बित्तिकै आमालाई सुनाउँछु भनेर दौडिएर घर पुगें । आमा पानी लिन जानु भएको रहेछ । घरमा सबै ठाउँ खोजिसकेपछि पानी लिन गएकै ठाउँमा गएर आज मैले ‘एस सर भनें’ भनेर आमालाई सुनाएँ ।
म सानैदेखि अन्तरमुखी स्वभावको थिएँ । र सिर्जनशील काम गर्ने खालको पनि थिएँ । अभिनय गर्ने, नाँच्ने, गाउने र साहित्यप्रति मेरो रुचि सानैदेखि थियो । कसैले हिँडेको बोलेको छ भने म त्यसैगरी क्यारिकेचर गरेर देखाउँथें । घरमै नाटक देखाउने गथ्र्यौं । दलानमा नाटक देखाउने गथ्र्यौं । एक÷दुई रूपैयाँ टिकट बिक्री गर्ने गथ्र्यौं । एक सय वटा टिकट बनाउने गथ्यौं । ६० वटा टिकट बिक्री गथ्यौं । छ कक्षामा पढ्थ्यौं । टोलका साथीहरू मिलेर काम गथ्यौं । दुई घण्टासम्मको नाटक देखाउँथ्यौं । त्यो पैसा पुस्तकालयमा राख्नका लागि पुस्तक किन्थ्यौं । पुस्तकालयमा पुस्तक पढ्नका लागि सदस्यता लिने व्यवस्था गरेका थियौं । त्यसको लागि हामीले २५ पैसा शुल्क निर्धारण गरेका थियौं । पुस्ताकालय मेरै घरमा थियो । हामीले त्यसमा बाल कथाहरू, अन्य किताबहरू राख्थ्यौं । केही किताब बुबाले पनि ल्याइदिनुहुन्थ्यो । कहिले काहीं खेलकुद प्रतियोगिताहरू पनि आयोजना गर्ने गथ्यौं । प्रायः म सबैको नेतृत्व गर्थें ।
बाल्यकालमा अभियनय, गाउने, नाँच्ने, र साहित्यतर्फ रुचि भए पनि घरमा तीन÷चार पुस्तादेखि जागिर खाँदै आउनु भएकाले जागिर नै खानुपर्छ भन्ने वातावरण थियो । त्यसैले डाक्टर नै बन्छु भन्ने सपना थियो । पछि काठमाडौं पढ्न गएपछि कलाकारितामा पनि आवद्ध भएँ ।
सुर्खेत आएपछि आईएनएफमा कुष्ठ रोगको क्षेत्रमा काम गरें । पछि यता सरकारी जागिरमा प्रवेश गरेको हुँ । अझै पनि कलाकारितालाई निरन्तरता दिइरहेको छु । पढाइमा राम्रो थिएँ । कहिले काहीं साथीहरूसँग बजारमा पनि भुल्लिन्थ्यो । कक्षा नै बन्द गरेर पनि । तर त्यो धेरै दिन भने मैले गरिनँ । साथीहरूको लहलहैमा लागेर पढाइ बिर्गान हुँदैन भन्ने लागेर छिटो नै त्यो काम बन्द गरिदिएँ । पहिले अहिलेको जस्तो गाडीहरू नै हुन्थेनन् । ठूला–ठूला गाडीहरू हुन्थे । गाडीमा चढ्न रमाइलो लाग्थ्यो । जबरजस्ती नै गाडी चढेर एक पटक भेरी गयौं । साँझ आउने बेलामा हामी दुई जना मात्रै परेछौं । राती भेरीबाटै वीरेन्द्रनगर हिँडेर आयौं । खेल्दा–खेल्दै रात परेपछि गाडी पाएनौं । घरमा खोजाखोज भएछ । म भोलि बिहानपख मात्र घर गएँ । बुबाको डर लाग्ने । पिट्नु पनि हुन्थ्यो ।
बाल्यकालमा सबै भन्दा चाडपर्व कहिले आउँला भनेर दिन गनेर बस्थ्यौं । त्यस बेलाको चाडपर्वको महŒव बेग्लै लाग्थ्यो । विशेष गरे राम्रो कपडा लगाउन पाइन्छ र मिठो खान पाइन्छ भनेर । र दशैंमा टिका र जमरा लगाएको धेरै राम्रो लाग्थ्यो । अनि तिहारमा देउसी भैलोको रमाइलो धेरै नै लाग्थ्यो । त्यसबेलामा नयाँ कपडा लगाउन दशैंको अघिल्लो दिन कपडा सिलाउनका लागि रातीसम्मै बस्नुपथ्र्यो । बिहान कतै टाँक राम्रोसँग नलागेको सर्ट लगाउनुपर्ने । नयाँ कपडा लगाएर हिँड्दा सान नै फरक हुन्थ्यो । नवमीको दिनसम्म रातीसम्म कुरेर कपडा लगाउनुपर्ने । तीजमा आमाहरूले नाँचेको हेर्दा रमाइलो लाग्थ्यो । अहिले सबैले बोलाएर खुवाउने गर्छन् । अल्ली झड्किलो भएको छ पहिला भन्दा अहिलेको चाडपर्व । पहिला तीजमा माइती र चेलीको मात्र हुन्थ्यो । चेली माइतिकोमा जाने हुन्थ्यो । पुरुषहरू जाँदैन थिए । हामी केटाकेटी आमाहरूको पछिपछि लागेर मामा घर जान्थ्यौं । खाजा भात खान पाइन्थ्यो । दशैंको समयमा चंगा उडाउन पाइन्थ्यो । बुबाले चङ्गा गराइदिनुहुन्थ्यो । चंगा उडेर गइजाने हो कि भनेर बलियो गरी समात्नु पथ्र्यो ।
टीका लगाएर त्यसबेलामा छोरा मान्छेलाई पैसा नै नदिने । मेरो दिदी र बहिनीको पैसा धेरै हुन्थ्यो । आफूसँग पैसा नहुने । एक दिन दिदी र बहिनीलाई पैसा जम्मा गर्न खुत्रुके बनाउँ भनें । दिदीबहिनी र मेरो छुट्टाछुट्टै खुत्रुके बनायौं । कतैबाट पैसा भयो भने खुत्रेकमा हालीहाल्थ्यौं । मेरो भन्दा दिदीबहिनीकै पैसा धेरै हुन्थ्यो । मैले दिदी र बहिनीको खुत्रेकेबाट पैसा चोर्न थालें । चिम्टीले कागजका पैसा तान्ने गर्थें । आफूलाई खाजा खानका लागि । एक दिन खुत्रेकेमा कति पैसा भएछ भनेर हेर्न लागेको दिदी र बहिनीको खुत्रेकमा डलर पैसा बाहेक काजग पैसा एउटा पनि थिएन । पहिला त कसरी यस्तो भयो भनेर सबै दङ्ग पर्नुभयो । खुत्रुके फुटालेको पनि
छैन । पछि बुबाले फकाइफकाई सोध्नुभयो । मैले यसरी चिम्टीले पैसा तानेको हो भनें । अहिले सम्झदा रमाइलो लाग्छ ।
सानोमा खेल्ने काम बढी नै हुन्थ्यो । पुतली बनाएर खेल्थ्यौं । ढुङ्गाको देउतालाई पुजेर खेल्ने गथ्र्यौं । घर बनाएर पनि खेल्थ्यौं । बाल्यकाल सम्झदा अहिले रमाइलो लाग्छ । बाल्यकालमा मैले सिकेको कुराले अहिले धेरै सहयोग गरेको छ । वि.सं. २०४३ सालमा मैले जन माध्यमिक विद्यालय वीरेन्द्रनगरबाट एसएलसी पास गरेको हुँ । अहिले जागिर र कलाकारिता सँगै अगाडि बढाएको छु ।

प्रकाशित मितिः   ३ मंसिर २०७५, सोमबार १५:३६