कस्तो हुनुपर्छ वैकल्पिक राजनीति ?

रविकिरण हमाल
एउटा युगमा एउटा कुरा प्रधान हुन्छ ,त्यो कालखण्डमा आवश्यकता अनुसार विचार, संगठन,आचरण र गोरेटो निर्माण भएन भने मानव समाज उन्नति र प्रगतिको बाटोमा लम्कन सक्दैन । नेपाल एउटा लामो इतिहास र सभ्यता बोकेको मुलुक हो, पृथ्वीनारायण शाहको पालादेखि सुरु भएको राज्य विस्तारको फौंजी अभियानकै कारण आज हामी नेपाल नाम गरेको देशका नागरिक भएर बाचेका छौ । विशेष गरी नेपालमा प्रथमतः भौगोलिक एकीकरण, त्यसपछि लोकतान्त्रीकरणको लागि थुप्रै आन्दोलन, युद्ध र संघर्ष हामीले गरिसकेका छौ । अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगमा प्रवेश गरिसकेको छ । पुर्खाले विस्तार गरेको भूगोल अर्थात् प्राकृतिक स्रोत–साधन र त्यसपछिका संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा हिँड्नु नै आजको प्रमुख कार्यभार हो । भौगोलिक एकीकरणका बेला प्रयोग गरिएको फौजी संगठन, बिचार र व्यवस्था अथवा लोकतान्त्रीकरणका लागि उठाइएको विचार, संगठन र परिपाटीबाट वर्तमान समस्याहरूको हल हुने सम्भावना छैन त्यसैले नेपालमा नयाँ विचार, नयाँ संगठन र नयाँ भिजनसहितको बैकल्पिक राजनैतिक शक्ति अपरिहार्य छ,त्यहि विषयमा छलफल बिमर्श शुरु गरौँ । आखिर कस्तो हुनुपर्छ वैकल्पिक राजनीति ?
१. विचार र सिद्धान्तको खोज अनुसन्धान
राजनीतिमा विचार प्रधान हुन्छ,जसलाई मार्गनिर्देशक सिद्धान्त पनि भन्छौं । वैकल्पिक राजनीतिमा होमिएका अभियान्ताहरूले विगतमा प्रतिपादन भएका कुनै वाद र विचारमा टाँसिएर बस्न हुँदैन । २१ औं शताब्दीमा सुहाउने पछिल्लो ज्ञान र विज्ञानमा आधारित भएर प्रगतिशील सोच राख्न सक्नुपर्छ । एका एक विचारको जन्म हुँदैन, विचारको जन्म खुला दिमागले गरिएका विमर्श, छलफल, अध्यन र बहसबाट हुन्छ, जो एउटा दीर्घकालीन लक्ष्य प्राप्तीका लागि अनुशरण गर्न सकियोस् ।
अहिले विश्वमा एकातिर पूँजीवादी व्यवस्था जसले व्यक्तिको निजत्व र खुला बजारलाई केन्द्रमा राख्छ र अर्कातिर साम्यवादी व्यवस्था जसले राज्य नै सबैथोक हो भन्ने मान्यता राख्छ, दुवै व्यवस्था असफल सिद्ध हुँदै गएका छन् । व्यक्तिको निजत्व प्रस्फुटन हुने र सामूहिक हितलाई पनि प्रबद्र्धन गर्ने सामाजिक लोकतान्त्रिक प्रणाली विकास गर्नैपर्छ, निजी र राज्य दुवै क्षेत्रको सहकार्य आवश्यक छ । राज्यको नियमनसहित प्रतिस्पर्धात्मक खुला बजार अर्थतन्त्रको विकास आजको विकल्प बन्नसक्छ । हामी पछिल्लो समय ज्ञान र विज्ञानले आविष्कार गरेका प्रणालीहरू स्वीकार्ने र अझ त्यसलाई समृद्धिकरण गर्दै जानुपर्छ ।
२. आचरण र प्रवृत्ति
नेता भनेको अगुवा हो, राजनीतिमा लागेका पात्रहरूको व्यव्हार र आचारण जनताले प्रत्यक्ष अवलोकन गर्छन्, अगुवाइ गर्ने मान्छे ईमान्दार, जिम्मेवार र दुरदर्शी हुनुपर्छ ।
हामीले शक्ति आर्जन गर्न जस्तोसुकै समुहका मानिसहरूसँग सहकार्य बढाउँदै गयौं भने सदाचारयुक्त राजनीतिक संस्कार बसाल्न सकिन्न जो बैकल्पिक राजनीतिको प्रमुख शर्त हो । राजनीतिलाई सफा गर्न आफूबाट नै सुरुवात गर्नुपर्छ, अझै पनि नेता भनेको जनताभन्दा माथि हुनुपर्छ । उनीहरूको जीवनशैली आम नागरिक भन्दा माथि हुनुपर्छ भन्ने किसिमको सोचाइ बदल्न जरुरी छ । सामन्ती प्रथा वा उपनिवेशवाद भएको बेला शासकहरूले जनतालाई रैती बनाएर उनीहरूको श्रम, स्रोत र साधन आफू र आफ्ना आसेपासेको भड्किलो जीवनशैली व्यतित गर्न प्रयोग गर्थे, वैकल्पिक राजनीतिले त्यस्तो मान्यता लोकतान्त्रिक मुल्य मान्यता विपरित छ भनेर समाजका सामु व्यवहारिक पुष्टी गर्न सक्नुपर्छ । ‘हरेक ठाउँमा आफ्नो मान्छे चाहिन्छ चाहे त्यो राजदुत बन्न होस् वा पाले बन्न’ भन्ने किसिमको वातावरणले आम गरीब, किसान मजदुर हरू अर्थात बहुसंख्यक नेपाली जनता निराश छन्, राजनीतिक नेतृत्वले यस्तो शक्तिको दुरूपयोग गर्ने भ्रष्ट आचरण सुधार्न न्यायोचित विधि र पद्धति बसाल्ने आट गर्नैपर्छ ।
३. कुटनैतिक पारदर्शीता
नेपालको राजनीतिमा सत्ता र शक्तिमा पुग्न देशी र बिदेशी शक्तिहरूसँग लम्पसार पर्ने प्रवृत्ति रही आएको सबैलाई महसुस हुन्छ, यसरी जनताको मायाले सत्तामा पुगेको होइन भन्ने भान नेताहरूमा पर्न जान्छ जसको कारण उनीहरू जनता प्रति जिम्मेवारी बोध नगर्ने प्रचलन कायम छ । मुलुकको सार्वभौमसत्ता र स्वाधीनताको कुरामा आँच आउने कुनै प्रकारका कदमहरू विरुद्ध डटेर सामाना गर्न सधैं अग्रसर नेतृत्व बैकल्पिक शक्तिमा होस् भन्ने जनताको चाहाना छ । हामीले राष्ट्रवादको निति भन्दा पनि राष्ट्रभक्तिलाई बढी जोड गर्नुपर्छ । सबै देशहरूसँग कुटनैतिक सम्बन्ध मर्यादित र पारदर्शी बनाउन साझा राष्ट्रिय नीति आवश्यक छ, यसका लागि सबै राजनीतिक दल, बुद्धिजीवी र कुटनीतिज्ञहरूलाई गोलमेच गर्ने वातावरण सिर्जना गर्नु बैकल्पिक राजनीतिको एक प्रमुख कर्तव्य हुन जान्छ । विदेशी पूँजी र प्रविधिलाई बढी भन्दा बढी मात्रामा भिœयाएर देशको बिकास र समृद्धिलाई गति दिनसक्ने खालको क्षमता वैकल्पिक नेतृत्वमा हुनु अत्यावश्यक छ ।
४. समावेशी र सहभागितामूलक व्यवहार
सबै जात, धर्म, भाषा, लिङ्ग, संस्कृति, वर्गका मानिसहरूको सहभागीता राज्यका सबै तह र तप्कामा होस् भनेर लोकतन्त्रको परिकल्पना गरिएको हो । नेपालमा सामन्तवादको अन्त्य भएर संघीय गणतन्त्रमा प्रवेश गरे पनि पुरानो व्यवस्थाका जराहरू गजडिएर बसेका छन्, विभिन्न समुदायका मानिसहरूबीच आर्थिक र राजनैतिक अधिकार समान हुन सकेको छैन । हामीले योग्यता र समावेशीता दुवैलाई मिलाएर लिनसक्ने वातावरण निर्माण गर्नपर्छ । बैकल्पिक नेतृत्व उत्पीडित जनताको पक्षमा आवाज उठाउन र संघर्ष जहिले पनि तयार हुनुपर्छ । लोकतान्त्रिक ब्यबस्थामा बढी भन्दा बढी जनताको सहभागिताले कुनै पनि नीति र कार्यक्रमको सर्वोत्तम स्वीकार्यता देखाउछ र ती कार्यक्रमहरूको लाभ न्यायपूर्ण तरिकाले सबैले पाउँछन् । समाजमा विद्यमान सबै प्रकारका विभेद र असमानतालाई जरै देखि उखेलेर फाल्न सबैको सहभागिता लाई सुनिस्चित गर्न बैकल्पिक नेतृत्व सदैव तयार हुनुपर्छ ।
५. सचेत विद्रोह र सार्वभौम अभियान्ता
राजनीति कुनै व्यक्ति विशेषबाट गाइड हुँदैन, हामीले सामुहिक नेतृत्व स्थापित गर्न सक्नपर्छ । वैकल्पिक राजनीतिमा संलग्न पात्रहरू सदैव सचेत बिद्रोहका लागि तयार भएर बस्नुपर्छ, यसको मतलब के हो भने कुनैपनी कुरालाई असल बनाउन र उत्कृष्ट नतिजा दिन गरिएको बिरोध आवश्यक हुन्छ । पछिल्लो समय राजनीति कुनै व्यक्ति विशेषले नियन्त्रण गर्ने हर्कतहरू हुँदै आएका छन्, पार्टी वा सरकारमा एउटा पंक्तिले सधैं आफ्ना कुरा लाद्ने निषेधको राजनीतिलाई चिर्न सचेतता पूर्वक बिद्रोह गर्नु लोकतन्त्रका लागि शुभ हुन्छ । हामीले बुझ्नुपर्ने के हो भने राजनीतिमा जनताको माया, ममता र समर्थन मुख्य कुरा हो, उहाँहरूकै आशीर्वाद वा विश्वासले राज्य सञ्चालनको अभिभारा बोक्न सकिन्छ । हामी कुनै व्यक्तिको पूजा गरेर प्राप्त हुने लाभ र पदलाई निरुत्साहित गर्नैपर्छ, त्यसैका लागि सबै सार्वभौम अभियान्ता बन्नु अपरिहार्य छ । नेपालमा वैकल्पिक राजनीति आवश्यक छ, हामीले अब पुरानो संस्कार र विचारबाट देशवासीलाई उन्मुक्ति दिएर नयाँ बिहानीको सुरुआत गर्न किन ढिला गर्ने ?

(लेखक नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित मितिः   ४ मंसिर २०७५, मंगलवार १५:४४