कर दिवसमा प्रभातफेरी

साझा बिसौनी संवाददाता
सुर्खेत, १ मंसिर ।
सातौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूलनाराका साथ दिवस मनाइएको हो । आन्तरिक राजस्व कार्यालय सुर्खेतको आयोजनामा कर दिवस मनाइएको हो । स्थानीय मंगलगढीचौकबाट सुरु भएको प्रभातफेरी वीरेन्द्रचौक हुँदै उद्योग वाणिज्य संघको परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत भूमिराज शर्माले आर्थिक विधेयकले दिएको छुट अनुसारको सुविधा प्रयोग गर्न करदाताहरूलाई आग्रह गरेका थिए । कर दिवसको उद्देश्यबारे प्रष्ट पार्दै उनले व्यापारी र कर प्रशासन कार्यालय बीच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताए ।
दिवसको अवसर पारी साताव्यापी रूपमा कार्यक्रम गरिने भएको छ । जस अन्तर्गत आज (आइतवार) सुर्खेतमा विद्यार्थीहरूलाई कर बारेमा जानकारी दिइनेछ । यस्तै ३ गते दैलेख, ५ गते जाजरकोट, ६ गते बावियाचौर र ७ गते वीरेन्द्रनगरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने कर कार्यालयका नायव सुब्बा टंक थापाले बताए । उनका अनुसार आन्तरिक राजस्व कार्यालय मातहतका सेवाग्राहीलाई सम्मान पनि गरिनेछ ।

प्रकाशित मितिः   २ मंसिर २०७५, आईतवार १६:१३