मरिम्ला–धो सडकको निरीक्षण

साझा बिसौनी संवाददाता
सुर्खेत, १ मंसिर ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तिब्बतको नाका मरिम्ला र तिन्जे धो सडकको निरीक्षण गरेका छन् । शनिवार मन्त्री महासेठले हेलिकोप्टरबाट मरिम्ला धो तिन्जे सडकको निरीक्षण गरेका हुन् ।
मन्त्री महासेठले डोल्पाको विकासका लगि संघीय सरकारले बजेटमा प्राथमिकता दिएको बताए । ‘सरकारले सबै निकायसँग समन्वय गरेर डोल्पालाई विकासतिर लैजाने छ’ उनले भने, ‘सेनाले जिम्मा लिएको काम लगभग अन्त्य भइसकेको छ ।’ हिमाली जिल्ला डोल्पा अझै पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । भारतको जमुनाहा नाकादेखि तिब्बतको मरिम्लासम्मको सडक विस्तार गरी त्रिदेशीय नाका विस्तार गर्ने लक्ष्य अनुरूप हाल जाजरकोट–डोल्पाको दुनै र दुनै–मरिम्ला–धो सडक निर्माण कार्य भइरहेको छ । उनले मंसिर ४ गते उक्त सडकको उद्घाटन गरिने बताए । ‘सेनाले काम छोड्दैन, काम निरन्तर हुन्छ’ मन्त्रीले भने, ‘कुनै पनि कसुर बाँकी नराखी विकास हुन्छ ।’ चालु आर्थिक वर्षमा जाजरकोट–दुनै, दुनै–मरिम्ला–धो तिन्जे सडक निर्माणको लागि २४ करोड रकम विनियोजन भइसकेको उनले बताए । बेलिब्रिजको निर्माण गरेर भए पनि डोल्पाको दुनै सम्म जाजरकोटबाट राष्ट्रिय सड्कमा जोड्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   २ मंसिर २०७५, आईतवार १६:११