साँघुरो बसपार्कले सास्ती
दुर्घटनाको जोखिम, सिटी बसपार्क सञ्चालन गर्न माग
साझा बिसौनी संवाददाता
सुर्खेत, १ मंसिर ।
वीरेन्द्रनगरका व्यवसायी रमेश खड्काले नयाँ बस किनेर सञ्चालनमा ल्याएको चार दिन भयो । उनले ९० लाख रूपैयाँमा भारतबाट ल्याएको गाडी बसपार्कभित्र पार्किङ्ग गर्न समेत पाएका छैनन् । सडक किनारमै बस पार्किङ्ग गर्नुपर्ने बाध्यता रहेको उनको बताए ।
स्थानीय मंगलगढीचौकस्थित अस्थायी रूपमा सञ्चालनमा आएको बसपार्क साँघुरो छ । सवारीका साधनहरूको संख्या बढ्दै गएपछि बसपार्क साँघुरो बन्दै गएको छ । यातायात व्यवसाय सञ्चालन गरिरहेका प्रालिहरू पनि बढ्दै छन् । ‘नयाँ बस सञ्चालन त गरियो तर, बसपार्कभित्र लियो भने मोड्नै मिल्दैन’ उनले भने, ‘साँघुरो बसपार्कले ठूला गाडी पार्किङ्ग त परै हो, यात्रु चढाउनसमेत मिलेको छैन ।’
बसपार्क साँघुरो हुँदा गाडी धनीहरूले आफ्नो घर, सडक छेउछाउमा राख्नुपर्ने बाध्यता छ । बसपार्कमा गाडी पार्किङ्ग गर्ने ठाउँ नहुँदा असुरक्षा बढेको उनले बताए । सडक सञ्जाल विस्तार भएसँगै व्यवसायीहरूले सुर्खेतदेखि ग्रामीण क्षेत्रसम्म बसहरू सञ्चालित गरेका छन् । वर्षेनी व्यवसायीहरूले सुविधा सम्पन्न र स्तरीय बसहरू सञ्चालनमा ल्याउँदै आएका छन् । देउती नागरिक यातायात प्रालिमा आवद्ध भएका खड्कासहित ६ जना व्यवसायीले नयाँ बसहरू सञ्चालनमा ल्याएका छन् । चालु आर्थिक वर्षमा मात्रै साना र ठूला गरी झण्डै ४५ वटा गाडीहरू थपिएका छन् । संघीय संरचना अनुसार प्रादेशिक राजधानी भएपछि गाडीको चाप ह्वात्तै बढेको छ । तर, पार्किङ्गका लागि पर्याप्त ठाउँ नहुँदा निकै समस्या भएको यातायात व्यवसायीहरू बताउँदै आएका छन् ।
निर्माणाधीन सिटी बसपार्क पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाहीले पटक–पटक म्याद थप हुँदा पनि बसपार्क समयमा सञ्चालन हुन नसकेको आरोप यातायात व्यवसायीको छ । नगरपालिकाले प्रभावकारी अनुगमन नगर्दा बसपार्क निर्माण समयमा नभएको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले बताए । बसपार्क निर्माणको जिम्मा पाएको चाङमिला नरसिंह जेभीसँग सम्झौता अनुसार काम गर्न नसक्दा बसपार्क सञ्चालनमा आउने समय टरेको हो । असोजमा सञ्चालन गर्ने भनिएको बसपार्क मंसिर सुरु भइसक्दा समेत सञ्चालन हुन सकेको छैन । वि.सं. २०७३ सालमा ६ करोड ८३ लाख रूपैयाँमा उक्त कम्पनीले सिटी बसपार्क निर्माणको जिम्मा लिएको थियो । सम्झौता अनुसार १५ महिनामा बसपार्क निर्माण गर्नुपर्ने थियो । तर, सम्झौता अनुसार काम नहुँदा निर्माण कम्पनीले दुई पटक म्याद थप गरिसकेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । सिटी बसपार्कमा साना÷ठूला गरी एक सय १० बस अटाउने क्षमता छ । सिटी बसपार्कमा टिकट काउण्टर, यात्रु बस्ने टर्मिनल, ५४ अस्थायी पसल, महिला तथा पुरुष शौचालय, दुईवटा प्रवेशद्वार, गाडी मर्मत गर्ने वर्कसप रहनेछन् । विद्युत जडान, ५० मिटर पर्खाल निर्माण, गार्डेन, रङ्गरोगन तथा सेनिटरीको काम अझै बाँकी रहेको छ । पहिलो पटक ६ महिना म्याद
थप गरेको कम्पनीले दोस्रो पटक एक वर्षको म्याद थपेको थियो । वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बसपार्क निर्माणको काम लगभग ९० प्रतिशत सकिएको बताए । समयमा बसपार्क निर्माण नहुँदा यातायात व्यवसायीले जथाभावी रूपमा बसहरू पार्किङ्ग गर्नुपरेको छ । साँघुरो ठाउँमा बसपार्क सञ्चालन भइरहेकाले यात्रुले निकै हैरानी खेप्नु परेको छ । हाल बसपार्कबाट नौ वटा यातायात प्रालिहरूले बस, फोर्स, हाइस, जीप, माइक्रो गाडीहरू सञ्चालन गरिरहेका छन् । समितिहरूको तथ्यांक अनुसार पाँच सय भन्दा बढी गाडीहरू दैनिक रूपमा सञ्चालन हुने गरेका छन् । सवारी साधनको चाप बढेकाले दुर्घटनाको उच्च जोखिममा रहेको काँक्रेविहार यातायात व्यवसायी संघका सचिव सापकोटाले बताए । उनले चारलेन सडक निर्माणका लागि मंगलगढीचौक भत्काउँदा गाडीहरू जथाभावी रूपमा सञ्चालन भइरहेको बताए । गाडीहरू पार्किङ्गका लागि निकै चुनौती खेप्नुपरेको दुखेसो उनले पोखे ।
साझा बिसौनी ।