दश करोड बजेट विनियोजन

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० कार्तिक ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएको बराहताल गाउँपालिका विद्युतविहीन छ । बराहताल मात्र होइन पश्चिम सुर्खेतका अन्य दुई स्थानीय तह पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा पनि विद्युत प्रसारणलाइन पुगेको छैन । तर अब भने पश्चिमका यी तिनै वटा स्थानीय तह झिलिमिली हुने भएका छन् ।
संघीय सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ मा बजेट विनियोजन गरेपछि पश्चिम सुर्खेतका तीन वटै स्थानीय तहमा विद्युतीकरण हुने भएको हो । सरकारले बराहताल, पञ्चपुरी र चौकुनेको विद्युतीकरणका लागि यो वर्षको बजेटमार्फत् साढे १० करोड रूपैयाँ विनियोजन गरेको छ । विनियोजित बजेट सरकारको रातो किताबमा समेत समावेश भइसकेको छ ।
केन्द्र सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट विद्युत विस्तारको प्रक्रिया अगाडि बढाइने छ । बराहतालको बड्डिचौरमा एचटी÷एमटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि ४० लाख विनियोजन गरिएको छ । यसबाहेक समग्र बराहताल गाउँपालिकाका विभिन्न स्थानहरूको विद्युतीकरण गर्न तीन करोड ४० लाख रूपैयाँ केन्द्र सरकारले छुट्याएको छ । यस्तै, पञ्चपुरी नगरपालिकाका लागि तीन करोड ४० लाख, चौकुने गाउँपालिकामा तीन करोड ३० लाख विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र नं. २ मा पर्ने वीरेन्द्रनगर नगरपालिकाको १ देखि १३ वडासम्मका लागि ६० लाख रूपैयाँ विनियोजन गरिएको छ भने वीरेन्द्रनगर १४ देखि १६ सम्मका वडाहरूका लागि भनेर ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
पश्चिम सुर्खेतको पञ्चपुरी र चौकुनेमा लघु जलविद्युत आयोजनामार्फत् विद्युत उत्पादन गरिए पनि त्यो पर्याप्त छैन । पञ्चपुरी नगरपालिकाकाको बावियाचौर, विद्यापुर र हरिहरपुर लगायतका क्षेत्रमा करिब आधा दर्जन लघु जलविद्युत आयोजनाहरू छन् । तर, भएका आयोजनाहरू पनि नियमित सञ्चालनमा छैनन् । हिउँदको हावाहुरी र वर्षात्को बाढीपहिरोले विद्युत अवरोध हुन्छ । पश्चिमको चौकुने, पञ्चपुरी र बराहतालका १५ वटा वडाहरूमा अहिले पनि विद्युत छैन । वीरेन्द्रनगर नगरपालिकाका वडाहरू बाहेक अन्य स्थानीय तहमा विद्युत पुग्न सकेको छैन । लघु जलविद्युत आयोजना समेतले नियमित सञ्चालनमा आउन सकेका छैनन् । पञ्चपुरी नगरपालिका–५ बावियाचौरमा लघु जलविद्युत आयोजनामार्फत् विद्युत उत्पादन गरी वितरण गरिएको छ । तर सामान्य हावा चल्दा पनि बत्ती जान्छ । चौकुने गाउँपालिका–५ रेक्चाको अवस्था पनि त्यस्तै छ । हावा लाग्दा गएको बत्ती आउने पत्तो हँुदैन । विद्युतको लाइन र ट्रान्समिटरमा समस्या आयो भने मर्मत गर्नै हप्ता दिन लाग्छ । जसले गर्दा स्थानीय हैरान भएका थिए । पञ्चपुरी र चौकुनेबासीका लागि विद्युत भन्दा सोलार नै भरपर्दा उर्जाको स्रोत बनेको छ ।
पश्चिम क्षेत्रलाई राष्ट्रिय प्रशारण लाइनसँग जोड्न ३३ केभीए प्रशारण लाइन विस्तारको प्रक्रिया पनि अघि बढ्ने भएको छ । पञ्चपुरीको बावियाचौरमा विद्युत प्रशारण केन्द्रको भवन निर्माण भइरहेको छ । आर्थिक वर्षको अन्त्य सम्म वीरेन्द्रनगर हुँदै बावियाचौर पुग्ने विद्युतको लाइन विस्तार हुने विद्युत प्राधिकरणको शाखा कार्यालय सुर्खेतले जानकारी दिएको छ । वन मन्त्रालयले विद्युतको लाइन विस्तारका लागि अनुमति नदिएकाले ढिलाइ भएको बताइएको छ । मन्त्रालयसँग समन्वय भइरहेकाले लगतै विद्युतको लाइन विस्तार गर्ने र पोल गाड्ने काम थालिने छ ।
राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै त्यस क्षेत्रका नागरिकले अन्धकारबाट मुक्ति पाउने प्रतिनिधि सभा सदस्य नवराज रावतले बताए । विगतदेखि विद्युत अभाव झेल्नुपर्ने बाध्यता हटाउन केन्द्र सरकारले बजेट विनियोजन गरेको उनको बताए । बजेटको सदुपयोग गरी विद्युतको उत्पादन केन्द्र, लाइन विस्तार, टान्सफर्मर जडानको काम हुने छन् । पश्चिम सुर्खेतमा विकासको बाधक विद्युत भएकाले पनि केन्द्र सरकारसँग प्राथमिकतामा राख्न आग्रह गरेको सांसद रावतको भनाइ छ । उनले आगामी पाँच वर्षभित्र पश्चिम सुर्खेतमा जनताले अनुभूत गर्ने गररु विकास हुने बताए ।

प्रकाशित मितिः   १ मंसिर २०७५, शनिबार १६:०७