आफ्नै उद्देश्यलाई प्रेम गर्छु
लेकवेशी नगरपालिका–९, चौरासे, सुर्खेतकी सपना सापकोटा बुबा मोतिप्रसाद सापकोटा र आमा धना सापकोटाको कोखबाट घरकी जेठी छोरीको रुपमा जन्मिएकी हुन् । वि.सं. २०५५ साल चैत्र १५ गते उनको जन्म भयो । वि.सं २०७२ सालमा एसएलसी पास गरेर १५ महिने भेटेरेनरी जेटीए पढेकी सपनाले हाल शिक्षा क्याम्पस सुर्खेतमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्दैछिन् ।
सानैदेखि शान्त स्वभावकी सपनालाई भविष्यमा सरकारी जागिर खाने रहर छ । त्यो सपना पूरा नभए उनले जीवनमा समाज सेवा गर्ने लक्ष्य बोकेकी छन् । आफ्नो विपरित कसैले बोलेको पटक्कै मन नपराउने सपना सापकोटाले आफ्नो कलेज लाइफबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुलिन्ः
बुबाआमा व्यापार गर्नुहुन्छ । हामी दुईबहिनी छौं । मैले २०७२ सालमा एसएलसी पास गरेकी हुँ । मलाई सानैदेखि प्राविधिक विषय पढेर सरकारी जागीर खाने रहर थियो । किनकी मेरो मामा र माइजुहरू सबै सरकारी सेवामा हुनुहुन्छ । त्यो प्रभाव मलाई परेकोले मलाई पनि सरकारी जागीरमा रहर लागेको हो ।
मेरो बुबाआमाको पनि छोरीले सरकारी जागीर खाइदियोस् भन्ने सपना छ । सायद त्यो पुरा गर्ने अठोट मैले बोकेकी छु । मैले सरकारी जागीर खान सकिन भने पनि समाज सेवा गर्ने लक्ष्य बोकेकी छु । अहिले पनी लोकसेवा आयोग तयारीको लागि वीरेन्द्रनगर–८ खजुरास्थित मामाको घरमा बस्दै आएकी छु ।
मेरो कलेजको पहिलो दिन मैले २०७२ सालमा श्री खाँडदेवी माध्यमिक विद्यालय चौरासेबाट एसएलसी पास गरेकी हुँ । मेरो सपना त सानैदेखि प्राविधिक क्षेत्र पढ्ने थियो । तर मेरो बुबा–आमाले के पढाउने भन्ने नसोचे पनि छोरी सरकारी जागीर खाइदियोस् भन्ने थियो । मेरो लक्ष्य र मेरो मामाहरूको सल्लाह अनुसार मैले मिरर इन्स्टिच्यूटमा भेटेरेनरी जेटिए पढें ।
कलेजको पहिलो दिन अलि नरमाइलो नै लाग्यो । किनभने साथीहरू पनि सबै नयाँ नै थिए । तर त्यो नरमाइलो पल धेरै दिन टिकेन । विस्तारै माहोल बदलिंदै गयो । साथीहरू बनाउँदै गइयो । त्यसपछि कलेज लाईफ साँच्चिकै रमाइलो हुँदै गयो ।
मलाई कलेजको पढाइ र विद्यालयको पढाइमा धेरै भिन्नता लाग्यो । विद्यालयमा आफू पनि सानै उमेरको भएर हुनसक्छ । पढाइप्रति त्यति चासो दिइदैन । अर्कैका लागि पढ्ने जस्तो गर्ने, आमा–बुबाले पढ भन्दा गाली गरे जस्तो लाग्ने । तर कलेज लाईफ यस्तो रहेछ की जीवन कस्तो बनाउने भन्ने कुरा विद्यार्थी कै हातमा हुने रै’छ । पढाइप्रति आफै रुची बढेर आउने । पढ् भनेर कसैले कर गर्न नपर्ने । सक्षम लाईफ हो कलेज लाईफ ।
विद्यालय पढ्दा कम बोल्ने बानी थियो । त्यो बानी अहिले पनि गएको छैन । मैले क्लास बंक गर्ने र फिल्म हलमा गएर फिल्म हेर्ने काम कहिल्यै गरिनँ । बरु घरमा भने मोबाइलबाट कहिले काहीं फिल्म हेरिन्छ । त्यो बाहेक पढाइमा ध्यान हुन्छ । तर मलाई घुम्न भने एकदमै रहर लाग्छ । कहिले काहीं साथीहरूसँग घुमिन्छ पनि । म कलेजबाहेक घरमा ५/६ घण्टा पढ्ने गर्दछु । मलाई संगीत क्षेत्र पनि मनपर्छ तर त्यही पेसा गर्नलाई भने होइन ।
म शान्त स्वभावको मान्छे । सकेसम्म कसैलाई पनि पिर नपारौं जस्तो लाग्छ । आजसम्म कसैलाई त्यसरी पिरै पर्ने खालको काम गरे जस्तो पनि लाग्दैन । तर मेरो विपरित कसैले बोलेको पटक्कै मन पर्दैन । चाहे जुनसुकै कुरालाई लिएर होस् । मलाई प्रेमको परिभाषा आउँदैन । तर माया आफ्नो लक्ष्यलाई गरिन्छ । जबसम्म जीवनको लक्ष्य भेटिंदैन प्रेम भन्ने शब्दलाई म भन्दा टाढै राख्न चाहन्छु । भविष्यमा सरकारी जागीर खाने ठूलो रहर छ । त्यो पूरा भएन भने पनि समाज सेवा पनि मेरो रुचीको विषय हो । त्यो लक्ष्य बोकेर अगाडि बढेकी छु ।
साझा बिसौनी ।