कृषकले पाएनन् अनुदानको बीऊ

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
गुर्भाकोट नगरपालिका–२ मालारानी सुर्खेतका तोपनारायण गैरेले मकै, धान, कोदो लगायतका बाली भिœयाइसके । वर्षमा दुई बाली फलाउने उनी यतिबेला गहुँ लगाउने तयारीमा छन् । ६ महिनामा एक बाली भिœयाएका उनले कार्तिकमा अर्काे बाली लगाइसक्नुपर्छ । तर, उनले उन्नत जातको बीऊ पाउन सकेका छैनन् । समयमा उन्नत जातको बीऊ पाउन नसक्दा बारी बाँझै राखेका छन् । ‘बीऊ लगाउन बारी तयार छ तर, बीऊ छैन’ उनले भने, ‘स्थानीय बीऊले कम उत्पादन दिने भएकाले उन्नत जातको बीऊ खोजेको हो, पाउन सकिएको छैन ।’
विगतमा जिल्ला कृषि विकास कार्यालय सुर्खेतबाट अनुदान बीऊ लिने उनी यतिबेला नगरपालिका धाउँदा हैरान परेका छन् । ५० प्रतिशत सहुलियतमा उन्नत जातको बीऊ नपाउँदा जग्गा बाँझै राख्नुपरेको उनले बताए । मकै भिœयाएपछि दशैं लगत्तै लगाइएका गहुँ हरिया भइसकेका
छन् । तर, उनले अनुदानको बीऊ पर्खिदाँ अहिलेसम्म पनि गहुँ लगाउन पाएका छैनन् ।
विगतमा जिल्ला कृषि विकास कार्यालय सुर्खेतले वितरण गर्ने अनुदानका कार्यक्रम नौ वटा स्थानीय तहमा गएका छन् । अधिकार सम्पन्न मानिएका स्थानीय तहले कृषिका विभिन्न कार्यक्रममा बजेटसमेत विनियोजन गरेका छन् । तर, किसान लक्षित उन्नत बीऊ वृद्धि कार्यक्रम अन्तर्गत विनियोजित बजेटमा कृषकहरूले लाभ लिन सकेका छैनन् । अनुदानको बीऊ नपाएपछि उनले महंगो मूल्य तिरेर बजारबाट ४० केजी बीऊ खरिद गरेको बताए । उनले आठ रोपनी जग्गामा गहुँ खेती गर्छन् । समयमा बीऊ पाउन नसक्दा उत्पादन घट्ने चिन्तामा छन् । भन्छन्, ‘मंसिरको पहिलो हप्तासम्म बारीमा गहुँ लगाइएन भने पछाउँछ । धान लगाएको जग्गा बाँझै छ । समयमा गहुँ लगाइएन भने उत्पादन कम हुन्छ ।’
स्थानीय पवित्र कृषि सहकारी संस्थाले किसानहरूका लागि उन्नत जातको बीऊ उत्पादन र बिक्री गर्छ । तर, बीऊ निकै महंगोमा बिक्री वितरण हुन्छ । चालु आर्थिक वर्षमा गुर्भाकोट नगरपालिकाले ‘उत्पादन बीऊ वृत्ति’ कार्यक्रम अन्तर्गत गहुँ खेतीमा अनुदानका लागि बजेट छुट्याएको छ । उन्नत जातको बीऊ उत्पादन गर्दै आएको उक्त सहकारीले नगरपालिकासँग अनुदानको बीऊ वितरण गर्ने सहमति गरेको छ । बीऊमा ५० प्रतिशत छुट दिएर बिक्री गर्ने सहमति भएपनि आफू जस्ता कृषकले समयमा बीऊ पाउन नसकेको गुनासो उनले गरे ।
कृषकहरूले नगरपालिकाबाट सिफारिस लिएर आएमा ५० प्रतिशत मूल्य छुटमा बीऊ वितरण गर्ने सहकारी र नगरपालिका बीचको सम्झौता भएको छ । तर, बाली लगाउने समय बितिसक्दा समेत अनुदानका लागि सिफारिस दिएको छैन । नगरले सिफारिस नदिँदा अनुदानको बीऊ लिन सहकारी धाउनेहरू रित्तै हात फर्किने उनी प्रतिनिधि पात्र मात्रै हुन् । गैरे जस्ता गुर्भाकोट नगरपालिकाका अन्य थुप्रै कृषकहरूले अनुदानको बीऊ पाउन सकेका छैनन् । गहुँ लगाउने समय घर्किदै गए पनि बीऊ नपाउँदा
जग्गा बाँझै राख्नुपर्ने चिन्ता किसानहरूमा छ ।
सम्झौता अनुसार नगरपालिकाले अनुदानका लागि कृषकलाई सिफारिस नदिएकाले बीऊ वितरण गर्न नसकिएको सहकारीका प्रबन्धक गोरखबहादुर खत्रीले बताए । सहकारीसँग गहुँको बीऊ पर्याप्त छ । तर, नगरपालिकाको सिफारिस नल्याएसम्म कृषकलाई अनुदान दिन नसकिने उनी बताउँछन् ।
यता, नगरपालिकाले कर्मचारी अभावको कारण देखाउँदै आएको छ । नगरप्रमुख हस्तबहादुर पुनले गहुँ लगाउने समय भएकाले कृषकहरूको गुनासो आउने गरेको स्वीकार गरे । तर, कर्मचारी अभावका कारण समस्या भएको उनले बताए । उनले आगामी मंसिरको १÷२ गतेसम्म बीऊ वितरण गर्ने बताए ।
‘नगरपालिका र सहकारीबीच सहमति भएको छ’ उनले भने, ‘नगरपालिकाका कारण जग्गा बाँझै राख्नुपर्ने अवस्था आउन दिदैनौं । किसानहरूका लागि विनियोजन गरिएको बजेट सदुपयोग कसरी गर्ने भन्नेबारेमा गृहकार्य भइरहेको छ ।’ उनले यसअघि आलुको बीऊ अनुदानमा वितरण गरिएको बताए । गहुँको बीऊ वितरणमा कृषि शाखाको कर्मचारी सरुवा भएकाले ढिलाइ भएको जानकारी दिए ।

प्रकाशित मितिः   २९ कार्तिक २०७५, बिहीबार १६:२३