‘पत्रकारको सुरक्षा सरकारले गर्छ’

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ कार्तिक ।
कर्णालीमा कार्यरत पत्रकारहरूको सुरक्षा प्रदेश सरकारले गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताएका छन् । पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य गर्दै जीवन सुरक्षाका लागि प्रदेश सरकारले प्राथमिकता दिने उनले प्रतिबद्धता जनाए ।
‘पत्रकारहरूको सुरक्षाको ग्यारेण्टी सरकारले गर्छ, यहाँहरू सरकारलाई रचनात्मक सुझाव र भ्रष्टाचारविरुद्ध सशक्त भएर लाग्नुहोस्’ उनले भने, ‘पत्रकारको स्वास्थ्य उपचारदेखि जीवनबीमासमेत प्रदेश सरकारले दिने तयारी थालिएको छ ।’ राज्यको चौथो अङ्गका रूपमा लिइएको पत्रकारिता पेसाको संरक्षण र पत्रकारको हितमा सरकारले काम गर्ने उनले बताए । पत्रकारहरूको स्वास्थ्य बीमा सम्बन्धी आवश्यक कार्यविधि तयार भइरहेको भन्दै उनले पेसाको सम्मानका लागि एक लाख राशी बराबरको पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने नीति सरकारले लिएको बताए ।
‘कर्णाली प्रदेश सरकार पत्रकारमाथि हुने दण्डहीनता अन्त्यको लागि तयार छ’ मन्त्री भण्डारीले भने, ‘समाजप्रतिको जवाफदेहिता निर्वाह गर्दा पत्रकारको जीवन सुरक्षा गर्नु राज्यको दायित्व हुन आउँछ, प्रदेश सरकारले पत्रकारहरूलाई असुरक्षित भएको महसुस हुन दिनेछैन ।’ मन्त्री भण्डारीले पत्रकारहरूले खोजमूलक पत्रकारितामा ध्यान दिनुपर्ने सुझाव समेत दिए । ‘कर्णालीका पत्रकारहरूलाई खोजमूलक पत्रकारितामा लाग्न आकर्षित गर्छौं’ मन्त्री भण्डारीले भने, ‘पत्रकारिता लोकतन्त्रको पहरेदार पनि हो, समाज रूपान्तरणको उत्तरदायित्व बोकेको पत्रकारिता क्षेत्रमा जति जिम्मेवारी छ, त्यति जोखिम छ ।’
उनले पत्रकारहरूको सुरक्षाका लागि कानुन मन्त्रालयले ‘पत्रकार स्वास्थ्य बीमा’ को व्यवस्था गर्न लागेको जानकारी दिए । ‘हामी पत्रकारहरूको स्वास्थ्य बीमाको व्यवस्था गर्दैर्छौं, करिब कार्यविधि अन्तिम चरणमा पुगिसकेको छ’ भण्डारीले भने, ‘अबको केही दिनमा नै हामी पत्रकार स्वास्थ्य बीमामा सामेल हुन तपाईंहरूलाई अपिल गर्छौं ।’ स्वास्थ्य बीमा कार्यक्रमले पत्रकारहरूलाई केही हदसम्म भए पनि सुरक्षाको प्रत्याभूति हुने उनले बताए । अहिलेको संघीय गणतन्त्रात्मक व्यवस्था द्वन्द्वकालमा थुप्रै पत्रकारहरूले ज्यान गुमाउनुको प्रतिफल भएको बताउँदै मन्त्री भण्डारीले राज्य व्यवस्था परिवर्तनदेखि विभिन्न कुरिती, भ्रष्टाचार अन्त्य गर्नुमा पत्रकाहरूको ठूलो भूमिका रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले खोजी रिपोर्टिङ्ग गर्दा पत्रकारहरू जोखिममा रहेको भन्दै पत्रकारको सुरक्षाको लागि राज्यले ध्यान दिनुपर्ने बताइन् । नेपाल पत्रकार महासंघका शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले दण्डहीनता अन्त्यको लागि कर्णाली सरकारले पहल गर्नुपर्ने बताए ।
पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा फ्रिडम फोरमले बुधवार सुर्खेतमा आयोजना गरेको सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य विषयक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्य, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ कार्तिक २०७५, बिहीबार १६:२३