‘पश्चिम सुर्खेत अब पहिलेको जस्तो रहँदैन’
नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता नवराज रावत प्रतिनिधिसभा सदस्य पनि हुन् । सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रावतले यसअघि तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको सचिव र अध्यक्षको रूपमा पनि काम गरिसकेका छन् । पहिलो पटक केन्द्रीय संसदमा प्रतिनिधित्व गरिरहेका उनले पटक–पटक सुर्खेतका सवालहरूलाई प्रतिनिधिसभामा उठाउँदै आएका छन् । पहिलो प्राथमिकतामा आफ्नो निर्वाचन क्षेत्रको विकास भए पनि समग्र कर्णाली प्रदेशको समृद्धिका लागि आफ्नो पहल हुने उनी बताउँछन् । तिहारको अवसर पारेर गृह जिल्ला सुर्खेत आएका सांसद रावतसँग साझा बिसौनी दैनिकका लागि गरिएको कुराकानीः
विगतमा पार्टीको जिल्लातहको कार्यकारी पदमा रहँदा र अहिले जनताद्वारा निर्वाचित भएर प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहँदा आफ्नो जिम्मेवारी र दायित्वमा कत्तिको भिन्नता महसुस गरिरहनुभएको छ ?
मैले राजनीतिमा निकै लामो समय बिताइसकेको छु । राजनीति भनेको देश र जनताकै लागि गर्ने हो । त्यसैले मैले विगतमा पार्टीको जिम्मेवारीमा रहँदा पनि पार्टीले दिएका जिम्मेवारीका साथसाथै जनताका हितमा र समग्र सुर्खेतको विकासमा काम गरेको छु । त्यति मात्र होइन तत्कालीन जिल्ला विकास समिति सुर्खेतको उपसभापतिको रूपमा पनि जिम्मेवारी निर्वाह गरेको थिएँ । मैले नेकपा एमालेको जिल्ला नेतृत्व सम्हालिरहँदा हाम्रा स्थानीय निकायहरू जनप्रतिनिधिविहीन थिए । त्यसकारण पनि स्थानीय निकायहरूबाट हुने काममा कुनै न कुनै रूपमा हाम्रो सहभागिता र भूमिका रहने गरेको थियो । हामीले प्रत्यक्ष रूपमा कुनै निर्णय गर्न पाउँदैन थियौं तर हाम्रो सहभागिता विना काम हुँदैन थिए । त्यसैले मैले प्रत्यक्ष भूमिकामा नरहे पनि विभिन्न माध्यमबाट जनप्रतिनिधिहरूको जिम्मेवारी पनि निर्वाह गरिसकेको छु ।
अहिले जनताबाट अनुमोदिन भएर प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहँदा पनि मैले जनताकै पक्षमा काम गर्ने हो । म निर्वाचित भएको क्षेत्र र समग्र सुर्खेतकै सन्दर्भमा कुरा गर्ने हो भने पनि विगतमा जे–जस्ता सवाल र समस्या थिए अहिले पनि तिनै छन् । विगतका जनप्रतिनिधिहरूले काम नगर्दा समस्या जस्ताको त्यस्तै छन् । संस्थागत जिम्मेवारी फरक भए पनि मैले गर्नुपर्ने जनताका काम तिनै हुन् । त्यसकारण मेरो जिम्मेवारीमा त्यति धेरै भिन्नता महसुस गरिरहेको छैन । जहाँ बसेर भए पनि देश र जनताकै हितमा काम गर्ने हो ।
प्रतिनिधिसभामा सहभागी भइसकेपछि हालसम्म तपाईंको भूमिका कस्तो रह्यो ? आफ्नो जिम्मेवारी अनुसारका के–के कामहरू गर्नुभयो ?
मलाई लाग्छ, मेरो कामलाई यहाँका जनताले पनि केही रूपमा भए पनि अनुभूति गरिसक्नुभएको छ । मैले निरन्तर रूपमा सुर्खेतका सवालहरू संसदमा उठाइरहेको छु । यहाँका जनताका माग र समस्यालाई संघीय सदनमार्फत् सरकारसम्म पु¥याइरहेको छु । र, तिनको समाधानका लागि पहल पनि गरिरहेको छु ।
संसदमा निरन्तर सुर्खेतका सवालहरू उठाइरहनुभएको छ, तपाईंले संसदमा उठाएका कुराहरूको सुनुवाइ पनि भएको छन् ?
मैले संसदमा कुनै पनि कुरा उठाइसकेपछि त्यसलाई सम्बोधन गराउनका लागि निरन्तर पहल गरिरहन्छु । मैले उठाएका कुराहरूको सुनुवाइ पनि भइरहेको छ । सुर्खेतमा यातायात व्यवस्था कार्यालय नहुँदा यहाँका नागरिकले निकै समस्या भोगिरहेका थिए । लाइसेन्स बनाउनेदेखि नवीकरण गर्ने लगायत यातायात सम्बन्धी सबै काम गर्ने नेपालगन्ज जानुपर्ने बाध्यता अहिले पनि छ । यो कुरालाई मैले केन्द्रीय संसदमा जोडदार रूपमा उठाएँ । र, अहिले उक्त समस्या समाधान हुँदैछ । यातायातको नेपालगन्जबाट हुने सबै काम सुर्खेतको वीरेन्द्रनगरबाट हुने गरी प्रक्रिया अघि बढेको छ । अबको केही समयभित्रै त्यो काम सम्पन्न हुन्छ । त्यति मात्र होइन संघीय सरकारले ल्याएको बजेटमा सुर्खेतका योजनाहरू समावेश गर्न मैले खेलेको भूमिकाकै कारण थुप्रै योजनाहरूमा बजेट विनियोजन पनि भएको छ ।
संघीय सरकारले ल्याएको बजेटमा सुर्खेतलाई कसरी समेटिएको छ ?
अहिलेको संघीय सरकारको बजेटले सुर्खेतलाई पनि प्राथमिकताका साथ समेटेको छ । यसअघि कहिल्यै पनि पश्चिम सुर्खेतको सडक रातो किताबमा परेको थिएन । मैले पहिलो पटक रातो किताबमा समावेश गरेर बजेट विनियोजन गराउन सफल भएको छु ।
सुर्खेतको विद्युतीकरणका लागि ठूलो रकम छुट्याइएको छ । मेरो निर्वाचन क्षेत्रमा मात्रै संघीय सरकारले विद्युतीकरणका लागि ११ करोड ४० लाख रूपैयाँ बजेट पठाएको छ । जसको ठूलो रकम पश्चिम सुर्खेतको विद्युतीकरणका लागि छ ।
यसैगरी सडक, पर्यटन, खेलकुद, सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान, तटबन्ध निर्माण, सुकुम्बासी समस्या समाधान लगायतका लागि संघीय सरकारको बजेटले सुर्खेतलाई सम्बोधन गरेको छ । अब पश्चिम सुर्खेत विगतको जस्तो रहँदैन ।
कर्णाली प्रदेश सरकारका कार्यक्रम, बजेट र कामलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?
हामी पहिलो पटक नयाँ अभ्यासमा छौं । तीन तहका सरकार सञ्चालनमा छन् । ती तिनै तहका सरकार सञ्चालनका लागि केही प्राविधिक समस्याहरू पनि छन् । विस्तारै समाधान हुँदै जान्छन् । म कर्णालीकै प्रतिनिधि भएकाले पनि समग्र कर्णालीको विकास र समृद्धि मेरो चाहना हो । त्यसका लागि मेरो पनि भूमिका रहन्छ । कर्णाली प्रदेश सरकारले यहाँको विकासका लागि सबैसँग समन्वय गरेर अघि बढ्न जरुरी छ । सरकारले ल्याएको बजेटमाथि विभिन्न प्रश्नहरू उठिरहेका छन् । बजेट मन्त्रीमुखी, पदमुखी र नेतामुखी भएको गुनासो आएको छ । मैले हेर्दा पनि यस्तो समस्या देखें । जुन राम्रो होइन ।
कर्णाली प्रदेशको समग्र विकासका लागि कुनै निश्चित क्षेत्र वा ठाउँको विकास गरेर मात्र पुग्दैन । समानुपातिक रूपमा विकास गर्न आवश्यक छ ।
प्रतिनिधिसभाका सांसदहरूसँग प्रदेश सरकारबाट समन्वय हुने गरेको छ कि छैन ?
केन्द्रमा र प्रदेशमा हाम्रै पार्टीको नेतृत्वमा सरकार छ । देश विकासका लागि केन्द्र र प्रदेशको समन्वय जरुरी हुन्छ । त्यसकारण प्रदेश सरकारका प्रतिनिधिहरूले पनि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सम्बन्धित प्रदेशका प्रतिनिधिहरूसँग समन्वय गर्न जरुरी छ । तर हाम्रो सन्दर्भमा जति हुनुपथ्र्यो त्यो हुनसकेको छैन । मैले प्रदेश सरकारका सबै मन्त्रीहरूलाई नै भेटेर पनि यहाँको विकासमा चासो राख्ने र सुझाव दिने गरेको छु । संघीय सरकारले बजेटमा छुटाएका योजनाहरू प्रदेश सरकारमार्फत् सम्बोधन गर्नका लागि मैले लिखित रूपमै पनि सरकारका प्रतिनिधिहरूलाई दिएको थिएँ । तर बजेटमा त्यसलाई सम्बोधन गरिएको छैन । कर्णालीको विकासका लागि सबै मिलेर अघि बढ्न जरुरी छ । सबै मिलेरमा मात्र कर्णालीको समृद्धि सम्भव हुन्छ । त्यसैले केन्द्र, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीचको समन्वय र सहकार्य आवश्यक छ ।
अर्को कुरा प्रदेश र स्थानीय सरकारले के कुरा बुझ्न जरुरी छ भने संघीय सरकारले पठाएको बजेट हामीले केन्द्रमा ताली बजाएर पारित गरी पठाएको हो । त्यसमा हाम्रो पनि अधिकार रहन्छ । उक्त बजेटको कार्यान्वयन हाम्रो पनि सरोकारको विषय हो । बजेटका कार्यान्वयनका साथ–साथै त्यसको सदुपयोग भए नभएको अनुगमन र निरीक्षण गर्ने दायित्व हाम्रो पनि हो । प्रदेशमा आएको बजेट प्रदेश र स्थानीयमा आएको बजेट स्थानीय सरकारका प्रतिनिधिहरूले आफ्नो मात्रै भन्ने गरेको पाइन्छ । हामी प्रतिनिधिसभाका जनप्रतिनिधिहरूको पहलमा नै प्रदेश र स्थानीय तहमा बजेट आउने कुरा बुझ्न पनि जरुरी छ ।
पश्चिम सुर्खेतको विकासका लागि विगतमा हुन नसकेका र अब तपाईंले गर्ने कामहरू के हुन् ?
विगतमा काम नभएकै कारण पश्चिम सुर्खेतको विकास हुन नसकेको हो । विगतमा जे–जस्ता समस्याहरू थिए अहिले पनि तिनै समस्याहरू विद्यमान छन् । चाहे त्यो सडकको कुरा होस् या विद्युतीकरणको होस् वा अन्य कुनै पनि पूर्वाधार विकासमा पश्चिम सुर्खेत पछि परेको छ । अबको मेरो प्राथमिकता भनेको तिनै पूर्वाधारमा सम्पन्न बनाउनु हो । जसका लागि पहल गरिरहेको छु र केही कामहरू अघि पनि बढिसकेका छन् ।
सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या छ । त्यसको समाधान हुन्छ । चौकुने सिमेन्ट उद्योग सञ्चालनदेखि यहाँका पर्यटकीय स्थलहरूको विकास र संरक्षणको काम हुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको सुविधामा सबै नागरिकको पहुँच पुग्छ । कृषिमा व्यवसायीकरण गर्ने र युवाहरूलाई रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्नका लागि मेरो ध्यान छ । तिनै वटा तहका सरकारहरूसँग समन्वय गरेर यी काम पूरा गर्न प्रतिबद्ध छु । विगतमा भाषण मात्रै गरे, काम गरेनन् । त्यो संस्कारको अन्त्य गर्दै म भने जे भाषण गरें ती काम पूरा गर्नेछु । पश्चिमका नागरिकले हामी पछि प¥यौं भन्नुपर्ने अवस्था अब रहने छैन् ।
स्थानीय सरकारको कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
विकासको मेरुदण्ड नै स्थानीय सरकार हुन् । संघीय र प्रदेश सरकारले दिने बजेट पनि स्थानीय सरकारमा नै जान्छ । बजेट कार्यान्वयन गर्ने सबैभन्दा तल्लो र महŒवपूर्ण निकाय नै स्थानीय सरकार भएकाले सरकारको भूमिका अति नै महŒवपूर्ण छ । तिनको काम कारबाही व्यवस्थित हुन जरुरी छ । तर सञ्चालनमा आएको एक वर्ष बढीको यो समयमा स्थानीय सरकारले अपेक्षाकृत रूपमा काम गर्न सकिरहेका छैनन् । कतिपय कुराहरूमा म पनि सन्तुष्ट हुन सकिरहेको छैन । कमजोरीहरू सुधार गर्दै लैजान जरुरी छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्ष पुग्यो । मलाई यहाँका जनताले ठूलो जिम्मेवारी दिएर पठाउनुभएको छ । म आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छु । तर मलाई अझै पनि जनताहरूको साझ र सहयोग भने जरुरी छ । उहाँहरूको सहयोग र सल्लाह तथा सुझाव मेरा लागि निकै महŒवपूर्ण छन् । उहाँहरूले दिएका सुझाव अनुसार नै म अघि बढ्नेछु । जनताले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न म प्रतिबद्ध छु ।
साझा बिसौनी संवाददाता ।