भाडामा मनपरी, ठगिदै यात्रु
साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
गतवर्ष तिहार मानेर सुर्खेत झरेका दैलेखको भगवतीमाइ गाउँपालिका–६ का कृष्ण दाहाल एक वर्षपछि घर फर्किए । वीरेन्द्रनगरदेखि दैलेख सदरमुकाम हुँदै बेस्तडा पुगेका उनले यस पटक निकै महंगो भाडा तिर्नुप¥यो । ‘गतवर्ष एक सय तिरेर पुगिने ठाउँमा दुई सय भएछ’ उनले भने, ‘गाडी गुड्न थालेपछि सहज भयो । तर, गरीबले तिर्नै नसक्ने गरी हुने भाडा असुली घटेन ।’
सुर्खेतदेखि बेस्तडासम्म गुड्ने बसको भाडा चार सय २५ बाट वृद्धि भएर चार सय ६८ पुगेको छ । दैलेख सदरमुकामसम्म तीन सय ५० छ । यातायात व्यवसायीले पछिल्लो समयमा सदरमुकामदेखि बेस्तडासम्मको बस भाडा दुई सय लिने गरेका छन् । यस रुटमा गुड्ने बस, फोर्स गाडी र जीपले फरक–फरक भाडा लिने गरेका छन् । सर्वसाधारणले दोब्बर भाडा तिर्नुपरेको छ । गतवर्षसम्म बसमा एक सय रूपैयाँ रहेको भाडा दुई सय पुगेको छ । फोर्स गाडी र जीपमा एक सय ५० तिर्नुपर्ने सोही रुटमा तीन सय ५० रूपैयाँ भाडा लिने गरिएको छ ।
‘भनेको समयमा गाडी नै पाइदैन’ उनले भने, ‘उभिएर गन्तव्यसम्म पुग्नलाई भाडाको बार्गेनिङ्ग गर्नुपर्छ । जसले बढी पैसा दिन्छ, उसैले बस्न पाउँदो रै’छ ।’ दैलेख सदरमुकामदेखि बेस्तडासम्म २२ किलोमिटर छ । दैलेख–सुर्खेत दूरी ६६ किलोमिटर छ । तर, सदरमुकामदेखि बेस्तडा र सुर्खेतको भाडा दर निकै असमान रहेको उनले बताए । सदरमुकाम–बेस्तडा दैनिक दुई जीप, एक बस गुड्छन् । वीरेन्द्रनगरदेखि बेस्तडाका लागि दुई बस र एक फोर्स गाडी दैनिक रूपमा यात्रु बोक्छन् । तर, यात्रुको चाप अनुसार यी सवारी साधन पर्याप्त होइनन् । जसले गर्दा पनि यातायात व्यवसायीहरूले चर्काे भाडा असुली गर्ने गरेका छन् ।
सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा पनि मनोमानी रूपमा भाडा असुली हुने गरेको छ । यातायात व्यवसायीहरूले मेहेलकुना–छिन्चुसम्म १६ किलोमिटरमा ७० रूपैयाँ भाडा लिने गरेका छन् । यस्तै, वीरेन्द्रनगरदेखि छिन्चुसम्म २९ किलोमिटरको भाडा पनि ७० रूपैयाँ नै छ । दूरी अनुसार भाडादर कायम नहुँदा ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणहरू मर्कामा पर्ने गरेका छन् । १० प्रतिशत भाडा वृद्धिको मौका छोपी यातायात व्यवसायीहरूले अचाक्ली रकम उठाउने गरेको गुनासो सर्वसाधारणले गरेका छन् । ग्रामीण सडकहरूमा अवैज्ञानिक र असान्दर्भिक भएको गुर्भाकोटका शिक्षक इन्द्रबहादुर थापाले बताए । उनका अनुसार यसअघि छिन्चु–मेहेलकुना भाडा ६० रूपैयाँ थियो । तर, सरकारले ६ रूपैयाँ भाडा बढाएपछि यस क्षेत्रमा गुड्ने सवारी साधानले यात्रुबाट १० रूपैयाँ नै लिने गरेका छन् । ‘१० प्रतिशत भाडा वृद्धि हुँदा ६६ रूपैयाँ लिनुपर्ने हो तर, ७० रूपैयाँ लिने गरिएको छ’ उनले भने, ‘जसले गर्दा यात्रुहरू निकै मारमा पर्ने र यातायात व्ययवसायीले खुलेआम ठगी गर्ने गरेका छन् ।’
यातायात व्यवसायीहरूले इन्धनको मूल्य वृद्धि भएको भन्दै ग्रामीण सडकहरूमा मनोमानी रूपमा भाडादर कायम गरेका छन् । सरकारले १० प्रतिशत भाडा बढाए पनि यातायात व्यवसायीले अटेरी गर्दै मनलाग्दी भाडा असुली गरेका हुन् । ग्रामीण सडकहरूमा यातायात व्यवसायीले मनलाग्दी भाडा असुली गर्दा यात्रुहरू मर्कामा परेका छन् । सरकारी मापदण्डलाई नै मिचेर यातायात व्यवसायीहरूले भाडा लिने गरेको पाइएको हो । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा सदरमुकामदेखि गाउँ पुग्ने अधिकांश सडकमा गुड्ने सवारी साधनले विना मापदण्ड भाडा लिने गरेका छन् ।
मनोमानी रूपमा भाडा लिन थालेपछि बोटेचौर–मेहेलकुना–छिन्चुसम्मको गाडी भाडा समायोजन गर्नुपर्ने माग राख्दै स्थानीयहरूले हस्ताक्षर संकलन गरेका छन् । नगरपालिकालाई भाडादर समायोजन गर्नका लागि दबाब दिन हस्ताक्षर संकलन गरिएको हो ।
यता, यातायात व्यवसायीहरूले असमान प्रतिस्पर्धाका कारण भाडादर समान हुन नसकेको बताउँदै आएका छन् । काँक्रेबिहार यातायात व्यवसायी संघका सचिव रमेश सापकोटाले नियमनकारी निकाय नहुँदा भाडा दर मनलाग्दी रूपमा असुली भइरहेको बताए । उनले सुर्खेत–जुम्ला सञ्चालनमा आएका जीपले ५० प्रतिशत महंगो भाडा लिने गरेको बताए । ‘असमान र चर्काे भाडा असुली गर्ने सवारी साधनहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ’ उनले भने, ‘सरोकारवाला निकायबाट मतलब नहुँदा सर्वसाधारण ठगिनु परेको साँचो हो ।’
साझा बिसौनी ।