प्रारम्भिक अध्ययन सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ कार्तिक ।
चीनसँग जोडिने हुम्लाको हिल्सा नाकादेखि भारतसँग जोडिने बाँकेको जमुनाह नाका जोड्ने त्रिदेशीय द्रूतमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चिनियाँ प्राविधिक टोलीले मंगलवारदेखि प्रारम्भिक अध्ययन थालेको हो । चीनको सीआईईसी रेलवे कम्पनीले द्रूतमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययनको काम थालेको छ ।


चिनियाँ प्राविधिक टोलीले मंगलवार उक्त सडक मार्गका लागि हवाई सर्भे गरेको छ । प्राविधिक टोलीसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री, सामाजिक विकास मन्त्री दल रावल लगायतको टोली मंगलवार हुम्ला पुगेको थियो । ‘प्राविधिकसहितको टोलीले मंगलवार हवाई सर्भे गरेको छ, बुधवारदेखि स्थलगत अध्ययन हुन्छ’ मन्त्री ज्वालाले भने, ‘प्रारम्भिक अध्ययनपछि लागत अनुमान र भौगोलिक अवस्था थाहा हुन्छ । सोही अनुसार कुन मोडलमा द्रूतमार्ग बनाउने टुङ्गो लाग्छ ।’ द्रूतमार्ग निर्माण भएसँगै कर्णाली प्रदेशमा विकासको ढोका खुल्ने उनले बताए ।
चिनियाँ कम्पनीले पहिलो चरणमा प्रदेश राजधानी वीरेन्द्रनगरदेखि हिल्सासम्मको अध्ययन गर्नेछ । ‘जमुनाहा–हिल्सा करिब दुई सय ५० किलोमिटर छ, अब यसलाई अझै दूरी कम कसरी बनाउने भन्नेबारेमा यही द्रूतमार्गको अध्ययनले टुङ्गो लाग्छ’ अध्ययन टोलीसँगै हुम्ला पुगेका नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘हिल्सासम्म दू्रतमार्ग निर्माण हुनसके विकासमा पछाडि परेको कर्णाली समृद्ध हुन्छ ।’ द्रूतमार्गलाई पर्यटकीय र व्यापारिक मार्गको रूपमा विकास गर्ने लक्ष्य कर्णाली प्रदेश सरकारले लिएको छ । उक्त द्रूतमार्ग निर्माण भए कर्णाली प्रदेश उत्तरमा चीन र दक्षिणमा भारतसँग जोडिने छ । प्रारम्भिक अध्ययनमा सात जनाको प्राविधिक टोली खटिएको छ ।
कर्णाली प्रदेश सरकारले पनि हिल्सा–जमुनाह त्रिदेशीय सडकमार्गलाई आफ्नो उच्च प्राथमिकताको आयोजनाको रूपमा समेटेको छ । चीनसँग मात्र सीमा जोडिएको हुनाले पनि प्रदेश सरकारले चीनसँगको वैदेशिक सम्बन्ध विस्तार गर्ने योजनालाई प्राथमिकतामा राखेको छ । जस अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पहिलो विदेश भ्रमण पनि गत असोजमा चीनको गरेका थिए ।
उक्त भ्रमणका क्रममा चीनसँगका नाका खोल्ने र सडक सञ्जालले जोड्ने योजनामा सहकार्य गर्न पहल गरिएको शाहीले बताए । हिल्सा–जमुनाह सडक योजनालाई प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको छ । मुख्यमन्त्री शाहीको चीन भ्रमणका क्रममा हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माण गर्न चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । उक्त फास्ट ट्रयाक निर्माण गर्नका लागि चीन सरकार मातहतको कम्पनीसँग प्रारम्भिक ‘समझदारी’ भएको थियो । समझदारीमा ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गर्ने उल्लेख छ ।
मुख्यमन्त्री शाहीले हिल्सा–जमुनाहा द्रूतमार्ग कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको बताए । उनका अनुसार चिनियाँ कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनपछि प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसका आधारमा संघीय सरकारसँग सम्झौता गरेर यो द्रूतमार्ग निर्माणको काम अगाडि बढाइने सहमति भएको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मितिः   २८ कार्तिक २०७५, बुधबार १६:३४