सुर्खेतका रोशन उत्कृष्ट २५ मा

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ वैशाख । 
१४ वर्षमुनीको नेपाली राष्ट्रिय फुटबल टोली निर्माणका लागि छनौट गरिएको उत्कृष्ट २५ खेलाडीमा सुर्खेतका रोशन राना मगर पर्न सफल भएका छन् । जिल्ला र क्षेत्रीय हुँदै राष्ट्रिय छनौटमा पुगेका उनी उत्कृष्ट २५ जनाभित्र परेको सुर्खेत जिल्ला फुटबल संघका सदस्य रमेश तुलाधरले जानकारी दिए । 
काजकिस्तानमा हुने फुटबल फेस्टिवलमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीका लागि देशभरबाट खेलाडी छनौट गरिएको छ । वीरेन्द्रनगरमा भएको जिल्लास्तरीय छनौटबाट सुर्खेतका १९ जना खेलाडी क्षेत्रीय प्रतियोगिताका लागि छानिएका थिए । त्यसमध्ये ४ जना क्षेत्रीयमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय छनौटमा सहभागी भएका थिए । ४ जनामध्ये रोशन राना मगर उत्कृष्ट २५ भित्र पर्न सफल भएका हुन् । 
देशभरबाट छनौट भएका २५ जना खेलाडीबाट अन्तिम १८ खेलाडी छनौट गरिनेछ । जिल्लादेखि नै रोशनले उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै फुटबल संघका सदस्य तुलाधरले उनी अन्तिम १८ मा पर्न सफल हुने विश्वास व्यक्त गरे । मिडफिल्डर रोशनको खेलकौशल उत्कृष्ट रहेकाले पनि उनले राष्ट्रिय टोलीमा अवसर पाउने उनले बताए । 
प्रकाशित मितिः   ८ बैशाख २०७३, बुधबार ०२:५५