सुर्खेतमा ‘हेलो सरकार’ सेवाः उद्घाटन नहुँदै गुनासोका चाङ

साझा बिसौनी संवाददाता
सुर्खेत, ७ वैशाख । 
सुर्खेतबाट पनि हेलो सरकार सेवा सुरु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले हेलो सरकार कक्ष स्थापना गरी सेवा सुरु गरेको हो ।
गत माघदेखि नै हेलो सरकार कक्षा स्थापना गरिए पनि औपचारिक रूपमा उद्घाटन भने अझै गरिएको छैन । तर हेलो सरकार कक्षमा नागरिकका गुनासोका चाङ लागिसकेका छन् । उक्त कक्षमा राखिएको ल्याण्डलाइन टेलिफोनमा दर्जनौं गुनासोहरू आइसकेको निमित्त क्षेत्रीय प्रशासक नारायणप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार लिखित रूपमा गुनासोहरू नआए पनि टेलिफोनमार्फत् थुप्रै गुनासोहरू आएका छन् । 
यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मात्र हेलो सरकार राखिएको थियो । तर सबै पाँच विकास क्षेत्रमा क्षेत्रीयस्तरको हेलो सरकार कक्ष सञ्चालन गर्ने सरकारको निर्णयअनुसार गत माघ १८ गते सुर्खेतमा पनि क्षेत्रीयस्तरको हेलो सरकार कक्ष स्थापना गरिएको हो । तर स्थापना भएको तीन महिना पुग्न लागिसक्दा पनि औपचारिक रूपमा उद्घाटन भने गरिएको छैन । सरकारका मुख्य सचिवमार्फत् कक्षको उद्घाटन गरिने जनाइएको छ । जतिसक्दो चाँडो उक्त कक्षको औपचारिक रूपमा उद्घाटन गरिने भन्दै निमित्त क्षेत्रीय प्रशासक सापकोटाले वैशाखभित्र सो कार्य गरिने बताए । 
सरकारले जनगुनासो व्यवस्थापनका लागि सुर्खेतमा क्षेत्रीयस्तरको हेलो सरकार सेवा सञ्चालनमा ल्याएको सापकोटाले बताए । जनताको गुनासा सुन्ने, त्यसको व्यवस्थापन गर्ने, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता लगायतका उद्देश्य राख्दै हेलो सरकार कक्ष स्थापना गरिएको भन्दै निमित्त क्षेत्रीय प्रशासक सापकोटाले जनताका गुनासोलाई पनि जतिसक्दो छिटो सम्बोधन गर्ने प्रयास गरिने दावी गरे । उनका अनुसार सुर्खेत हेलो सरकार सेवामा आएका उजुरीको सुनुवाइ र कार्यान्वयन प्रक्रिया पनि सुरु भइसकेको छ । जनताले टेलिफोनमार्फत् गरेका गुनासोहरूको सुनुवाइको प्रक्रिया सुरु भइसकेको उनले बताए । ‘मुख्य सचिवमार्फत् चाँडै नै सेवाको औपचारिक उद्घाटन गरिनेछ’ सापकोटाले साझा बिसौनीसँग भने, ‘तर उद्घाटन नभए पनि कक्षबाट सेवा प्रवाह भइरहेको छ र त्यसको सुनुवाइ पनि भइरहेको छ ।’
अहिले हेलो सरकार कक्षमा दुई वटा ल्याण्डलाइन टेलिफोन राखिएको छ । ०८३–५२१६२३ र ५२१०८५ मार्फत् नागरिकका समस्या र गुनासोहरू लिने काम भइरहेको सापकोटाले जानकारी दिए । औपचारिक रूपमा उद्घाटन भएसँगै कक्षमा टोल फ्रि नम्बर पनि राखिनेछ । ‘अहिले ल्याण्डलाइन टेलिफोन राखेका छांै, चाँडै टोल फ्रि नम्बर पनि राखिनेछ’ सापकोटाले भने, ‘जतिसक्दो जनतालाई सहज बनाउने प्रयासमा छौं, टेलिफोनका साथै कार्यालयमै उपस्थित भएर वा इमेल ठेगाना mधचबयकगचपजभत२नmबष्।िअयm मार्फत् पनि उजुरी वा गुनासो पठाउन सकिनेछ ।’
हेलो सरकार सर्वसाधारणलाई सरकारका तर्फबाट प्रदान गरिने सेवाको प्रभावकारिताका लागि अत्यन्त उपयोगी हुने सापकोटाले बताए । औपचारिक रूपमा उद्घाटन नहुँदै हेलो सरकार सेवाले आम जनतामाझ प्रभावकारी प्रयोग भइसकेको भन्दै सापकोटाले माघदेखि हालसम्म ठूलो संख्यामा उजुरी आएको बताए । विद्युत समयमा मर्मत नभएको, बाटो, पुल तथा विकास निर्माणका काममा ढिलासुस्ती भएको, घरेलु हिंसा भएको लगायतका गुनासो र उजुरी हेलो सरकार कक्षमा आएको उनले जनाए । सापकोटाका अनुसार यस्ता उजुरीलाई हेलो सरकार सेवाले सम्बन्धित कार्यालय वा निकायसँग समन्वय गरी समस्याको समाधान गर्ने गरेको छ । जिल्ला वा क्षेत्रबाट समस्या समाधान गर्न नसकिने उजुरी मन्त्रालयमा पठाउने गरिएको छ । 
सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा भेदभाव गरेको वा वञ्चित भएको, सार्वजनिक निकायबाट सेवा प्राप्त गर्न अवरोध भएको, सार्वजनिक निकायको गैरकानुनी क्रियाकलापबाट संस्था वा व्यक्तिलाइृ हानी नोक्सानी भएको, भ्रष्टाचारजन्य तथा महिला हिंसा सम्बन्धी क्रियाकलापका साथै विकास निर्माणमा भएका समस्या र सुझावहरू हेलो सरकार कक्षमा दिन क्षेत्रीय प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।
प्रकाशित मितिः   ८ बैशाख २०७३, बुधबार ०३:०१