लैंगिक हिंसा घटाउन ‘हेल्पलाइन’

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ कार्तिक ।
लैंगिक हिंसा न्यूनीकरण गर्न कर्णाली प्रदेशस्तरीय हेल्पलाइन (सहायता कक्ष) सञ्चालन गरिने भएको छ । पछिल्लो समय लैंगिक हिंसाका घटनाहरू बढेसँगै न्यूनीकरणका लागि हेल्पलाइन सञ्चालन गर्न लागिएको हो ।


राष्ट्रिय महिला आयोगले लैंगिक हिंसा न्यूनीकरणका लागि प्रदेशस्तरकै हेल्पलाइन सञ्चालन गर्ने तयारी थालेको हो । आयोगले हेल्पलाइन सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन र सुझाव संकलन गरेको छ । आयोगले हाल काठमाडौंमा मात्रै हेल्पलाइन सेवा सञ्चालन गर्दै आएको आयोगका सचिव अनिलकुमार ठाकुरले बताए । उनले अब सबै प्रदेशमा सञ्चालन गर्नेगरी तयारी थालेको जानकारी दिए । ‘आयोगले संघीय संरचना अनुसार प्रदेशमा पनि लैंगिक हिंसा घटाउन हेल्पलाइन सञ्चालन गर्ने योजना बनाएको छ’ उनले भने, ‘कर्णालीमा हिंसाको अवस्था र यसको प्रभावकारी कसरी बनाउने प्रदेशवासीको हातमा छ ।’
उनले कर्णालीको भौगोलिक अवस्थालाई मध्यनजर गरी हेल्पलाइनलाई प्रभावकारी बनाइने बताए । हिंसा घटाउनु मुख्य उद्देश्य भएकाले आवश्यक प्रचार–प्रसारमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सुझाव दिँदैै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा विकासका सबै सूचकांकको अवस्था दयनीय रहेको बताए । सामाजिक न्यायका लागि आयोगले थालेको अभियानको स्रहाना गरे । सामाजिक विकासका सूचक बलिया नबनाइ प्रदेशको समग्र विकास सम्भव नहुने उनले बताए । सामाजिक विकास मन्त्रालयले हिंसामुक्त समाज निर्माणका लागि बजेट, संरचना र योजना बनाउने कामलाई प्रदेश सरकारले प्राथमिकता दिएको उनले दाबी गरे । चालु आर्थिक वर्षमा प्रदेश सरकारले हिंसा न्यूनीकरणका लागि छुट्याएको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए । उनले विगतमा जस्तो लक्षित समुदायको बजेटलाई विकास निर्माणमा खर्चिने परिपाटीको अन्त्य गरिने बताए ।

प्रकाशित मितिः   २७ कार्तिक २०७५, मंगलवार १५:२६