नौ वर्षपछि पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ कार्तिक ।
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ परेका छन् । लेकवेशी नगरपालिका वडा
नं. ३ दशरथपुरका दलबहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।
विगतका नौ वर्ष भारतमा बसेका रोकाय चाडपर्व मान्न घर आएका बेला पक्राउ परेका हुन् । २०६६ माघ १३ गते जिल्ला अदालत सुर्खेतले रोकायलाई जबरजस्ती करणी मुद्दामा चार वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । अदालतको फैसला भएपछि फरार रोकायलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा रोकायलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार रोकायलाई जिल्ला अदालत सुर्खेतमा बुझाइएको छ ।

प्रकाशित मितिः   २७ कार्तिक २०७५, मंगलवार १५:२५