कलाकारितामै समर्पित

लोक नृत्य भनेपछि विशेष गरी मध्यपश्चिमाञ्चल क्षेत्रलाई नै चिनिने गरिन्छ । विशेष गरी झ्याउरे नृत्यका ‘मास्टर’ नै भनेर चिनिएका कुलमान नेपालीले निर्देशन गरेका लोक नृत्यहरू २२ पटकसम्म नेपाल प्रथम हुन सफल भएका छन् ।


वि.सं. २०२२ साल असार २६ गते वीरेन्द्रनगर–७ सुर्खेतमा घरको कान्छो छोराको रूपमा जन्मिएका कुलमान लोक नृत्यका विज्ञ हुन् । बुबा गगनबहादुर नेपाली र आमा जुनकिरी नेपालीको कोखबाट जन्मिएका उनको बाल्यकाल त्यति सहज भएन । उनी सानैदेखि कलाक्षेत्रलाई माया गर्थे । समृद्ध परिवारमा जन्मिएका भए पनि संयुक्त परिवारमा आउने विविध समस्याका कारण कुलमानको बाल्यकाल त्यति राम्रोसँग बित्न पाएन । कलाकारितामा नै आफ्नो जीवन समर्पण गरेका कुलमानले आफ्नो कलायात्राको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाएः

मैले वि.सं. २०४० सालमा श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्रामबाट एसएलसी उत्तीर्ण गरें । म सानैदेखि कला क्षेत्रमा असाध्यै रुची राख्ने मान्छे । हरेक काममा सक्रिय हुने स्वभावको थिएँ । परिवारबाट मलाई यो क्षेत्रमा लाग्न पटक्कै सहयोग थिएन । तर म भागी–भागी विभिन्न कार्यक्रममा जान्थें । कक्षा ९ पढ्दा खेरी नै राष्ट्रिय कलाकारको रूपमा स्थापित भइसकेको थिएँ । मलाई कलाक्षेत्रमा आउनको लागि शिक्षक लक्ष्मीनारायण पौडेलले सहयोग गर्नु भएको हो । त्यस्तै चुडामणी रेग्मीले पनि सहयोग गर्नुभयो । बाल पुस्तकालय छ ईत्राममा । त्यहाँका संस्थापकहरूले समेत मलाई कलाक्षेत्रमा हौसला प्रदान गर्नुभएको हो । वि.सं. २०३९ सालमा राष्ट्रिय कलाकारको रूपमा स्थापित भएको हुँ ।
खेलकुदमा पनि मेरो रुचि थियो । विशेष गरेर भलिबल तथा फुटबल खेल्थें । भेरी अञ्चलबाट राष्ट्रियस्तरको भलिबल र फुटबल खेलमा सहभागी हुने मौका पनि पाएँ । धेरै पटक भेरी अञ्चल प्रथम भएका थियौं । खेलकुदको यात्रा २०४२ सालसम्म मात्रै रह्यो । मैले आफै नाचेर ६ पटकसम्म नेपाल प्रथम भएको छु, वि.सं. २०३९ सालदेखि २०४४ सालसम्म । जसमा टेकराज भारतीले निर्देशन गर्नुभएको थियो । म आफैले निर्देशन गरेका नृत्य भने बाईस पटकसम्म नेपाल प्रथम भएका छन् । २०४४ सालदेखि २०७५ सालसम्म विभिन्न समयमा भएका राष्ट्रिय प्रतियोगिताहरूमा मैले निर्देशन गरेका लोक नृत्यहरूले प्रथम स्थान ओगट्न सफल भए । यसमा मलाई गर्व लाग्छ । मैले निर्देशन गरेका कलाकारहरू अहिले नेपालका टप निर्देशक तथा कलाकार बनेका छन् । निर्देशक शंकर बिसी, चलचित्र निर्देशक दिपाश्री निरौला, अर्जुन सोनाम, नन्दा बस्याल, टीका पुन, चन्द्र मन्दिर, जानकी तारामी लगायत दर्जनौं कलाकारहरू राष्ट्रियस्तरमा पुगेका छन् । मलाई यसमा खुशी लाग्छ । मैले सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रनिष्ठानका वरिष्ठ नृत्य कलाकारहरूलाई पनि निर्देशन गरको छु । म नृत्य निर्देशक मात्रै होइन लोकगीत संकलक तथा संगीतकार पनि हुँ ।
मैले नृत्य निर्देशन गरेको तीन वटा चलचित्र पनि उत्कृष्ट रहे । अब ‘बेली’ भन्ने फिल्म सुटिङ हुँदैछ । जसको निर्माता डा. सिं गुरुङ्ग हुनुहुन्छ । त्यो पनि नेपालमा टप हुन्छ मैले आशा गरेको छु । म लोकगीतमा पनि तीन पटक नेपाल प्रथम भएको छु । २०६० देखि २०६३ सालमा राष्ट्रियस्तरको लोकगीत प्रतियोगिता भएको थियो । मेरो सफलताको राज म कला क्षेत्रमा निरन्तर रूपमा लागिरहेको छु । सानो ठूलो नभनिकन जस्ता सुकै परिस्थितिलाई सामना गर्दै म अगाडि बढेको हुनाले मैले सफलता प्राप्त गरेको हुँ ।
म आफूलाई संस्कृतिकर्मी भनेर चिनाउन चाहन्छु । कला क्षेत्रको संरक्षण गर्ने अभियान्ताको रूपमा आफूलाई चिनाउन चाहन्छु । पछिल्लो समयमा कलाक्षेत्रमा विभिन्न विकृती र छाडापन आएको छ । त्यो मलाई पटक्कै मन पर्दैन । राज्यले पनि कलाक्षेत्रलाई माया गर्दैन । मलाई नेपालमा बजाइने सबैखालका बाजा बजाउन आउँछ । सबैखालका लोकभाकाहरू आउँछ र देउडा, कौडा, झ्याली जस्ता सम्पूर्ण नृत्य आउँछ तर खोइ राज्यले मेरो क्षमतालाई प्रयोग गरेको ? यहाँ त बास्तविक कलाकार भन्दा पनि कलाक्षेत्रका व्यापारीको विगविगी छ । अग्रज श्रष्टाको सम्मान न राज्यले गरेको छ नत पछि आउने कलाकारले नै गर्छन् । मलाई यसमा एकदमै दुःख लागेर आउँछ । विदेशी छाडा र नाङ्गा नाचलाई प्राथमिकता दिइन्छ तर नेपाली लोकनृत्यलाई सम्मान छैन ।
देउडा, कौडा, न्याउलीहलेदी, धामी नाच, ठाडीभाका जस्ता थुप्रै नाच मलाई आउँछ । मेरो क्षमतालाई राज्यले चिन्न सकेको छैन । राज्यले कलाकारको संरक्षण गर्न सकेको छैन । आज मैले जानेको सीप पाँच वर्षपछि लोप हुनसक्छ । जसका कारण राज्यलाई नै घाटा हुन्छ । हामी हाम्रो मौलिक कला संस्कृतिलाई बेचेर पर्यटक भिœयाउन सक्छौं तर खोइ राज्यले यसमा लगानी गर्न सकेको ? राज्यले कलाकारको सम्मानको लागि प्रत्येक प्रदेशमा प्रज्ञा प्रतिष्ठानको स्थापना गरिदिनुपर्दछ । वास्तविक कलाकारको पहिचान पनि हुनु जरुरी छ । जिन्दगीमा गर्न चाहेको कुरा त धेरै छन् । मैले विभिन्न क्षेत्रबाट पाएका ५÷६ सय प्रमाण पत्र राख्ने ठाउँ पनि छैन । अब मेरो वास्तविक जिवनी लेख्ने धोको छ । जसलाई पढेर भावी कलाकारहरूले केही सिक्ने मौका पाउन् ।
मेरो पारिवारिक अवस्था एकदमै राम्रो छ । मेरा दुईजना छोरा र छोरी हुन् । छोरा शिव संगीत पनि कलाकालर हुन् । छोराले सुगम संगीतमा करिब ३५ जति एल्बममा स्वर दिएका छन् । छोरी पनि स्नातकोत्तर पढ्दैछिन् । श्रीमती सीता नेपाली गृहणी हुन् । मेरो जीवनमा सबैभन्दा मलाई बुझ्ने मेरो श्रीमती नै हुन् । म जहाँ गए पनि मेरो घरधानेर बस्छिन् उनी । मैले जीवनमा कमाएको त त्यति छैन । कमाएका जति सबै सम्पत्ति पनी महŒवका हुँदैनन् । मेरो महŒवपूर्ण सम्पत्ति भनेको मेरा छोराछोरी र श्रीमती नै हुन् । परिवारमा सन्तुष्टी छ ।
मेरो जीवनको दुःखको क्षण मैले भन्ने पर्छ । मैले २०४५ सालदेखि श्री कृष्ण संस्कृत उच्च माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएको छु । कक्षा ८ ÷९ का भाइबहिनीलाई सामाजिक तथा नैतिक शिक्षा अध्यापन गराउँदै आएको छु । मलाई जानकारी नै नगराइकन विद्यालयले चौकुने गाउँपालिकाको घाटगाउँको कुमाला भन्ने ठाउँमा सरुवा गरिदियो । म गएँ तर हिँड्न नसकिने भिरबाट लडेर झण्डै मृत्यु नै भएन । त्यो क्षण मेरो जीवनको सबैभन्दा दुःखको क्षण हो । म जीवनमा चाहेर पनि भुल्न सक्दिन । मलाई जानकारी नै नगराइ मेरो सरुवा विकट गाउँमा गरियो, मैले ५÷६ महिना तलब पनि नलिएर बसें । म त्यो क्षेत्रमा जानै नसक्ने भएपछि कृष्ण संस्कृत माध्यमिक विद्यालयमा नै अध्यापन गराइरहेको छु । मेरो जीवनको एकदमै खुशीको क्षण पनी छ । जो म भुल्नै सक्दिन । मैले २०४५ सालमा राजा वीरेन्द्र शाहको हातबाट गोल्ड मेडल लगाउने अवसर पाएको थिएँ । त्यो खुशीको क्षण म भुल्न सक्दिन ।
मेरो योग्यताको कुरामा धेरैलाई चासो होला । मैले विद्यालय शिक्षा त एसएलसी पास गरेको छु । तर कलाक्षेत्रको भने म विज्ञ नै हो । नेपाल राजकिय प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले लोक नृत्य विज्ञको प्रमाणपत्र दिएको छ । म लोक नृत्य विज्ञ पनि हुँ । म बागीना समूहमा पनी आवद्ध छु । २०५० सालमा बागीना समूहको स्थापना भयो । त्यसमा धेरै सुर्खेती कलाकारको योगदान छ । विशेष गरी बागीना समूह सुर्खेतको स्थापना गर्नमा गणेशभक्त गौतमको ठूलो योगदान छ । त्यस्तै प्रेददेव गिरी, गंगा केसी, प्रकाश पौडेल, यामलाल आचार्य, ललित सिंजाली र म लगायत धेरै सुर्खेती कलाकारहरूले बागीना समूहको स्थापना गरेका हौं । बागीना समूहको उद्देश्य खासमा यो क्षेत्रमा भएका श्रष्टाहरूलाई राष्ट्रियस्तरमा लैजानको लागि तथा बाध्यबादन, गीत र नाच तथा नाटकलाई संरक्षण गर्नको लागि स्थापना भएको हो । बागीना समूहको स्थापनाको उद्देश्य पूरा भएको जस्तो मलाई लाग्दैन । पछिल्लो समयमा राजनीतिकरण भएको छ । कलाकारहरूबीच फाटो आएको छ । सँगसँगै आर्थिक अवस्थासमेत कमजोर भएकोले कलाकारहरू विभिन्न क्षेत्रमा आवद्ध भएका छन् । कलाकारिता गरेर बाँच्न नसकिने भएपछि अन्य पेसा रोज्नुपर्ने बाध्यता भएपछि बागीना समूह खस्किएको छ । अन्तमा के भन्न चाहन्छु भने कलाकारको लागि राज्यले मापदण्ड बनाइदियोस् । विकृती ल्याउनेलाई कारवाही र लोक विधालाई संरक्षण गर्नको लागि राज्यले सोचोस् भन्न चाहन्छु ।

प्रकाशित मितिः   २८ कार्तिक २०७५, बुधबार १६:३२