पन्ध्र विधेयक पारित

सुर्खेत, १९ कार्तिक । (साबिस)
कर्णाली प्रदेश सभाको दोस्रो अधिवेशनबाट १५ वटा विधेयकलाई पूर्णता दिइएको छ । प्रदेश सभाले बजेट अधिवेशनको अवधिमा ४१ वटा बैठकमार्फत् विविध कानुनहरू पूर्ण बनाएको हो ।
प्रदेश सभा सचिवालयमा दर्ता भएका २० वटा नयाँ विधेयकमध्ये १३ वटा प्रमाणीकरण भइसकेका छन् । तीन वटा विधेयकहरू संसदीय समितिहरूमा छलफलका लागि पठाइएको छ भने सभाले पारित गरेका चार वटा विधेयक प्रमाणीकरण हुन बाँकी छन् । सचिवालयले दिएको जनकारी अनुसार गत जेठ ११ गतेदेखि सुरु भएको दोस्रो अधिवेशन एक सय ७२ दिनमा ४९ घण्टा १७ मिनेट ११ सेकेण्ड सञ्चालन भएको थियो ।
सभाबाट सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको गठन तथा काम कतव्र्य र अधिकार सम्बन्धी आदेश, कर्णाली प्रदेशको आकस्मिक कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, सामाजिक संघ–संस्था सञ्चालन तथा व्यवस्थापन विधेयक, गाउँसभा र नगरसभाको सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् । यस्तै, कर्णाली प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक, वित्तीय हस्तान्तरण व्यवस्थापन सम्बन्धी विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी लगायतका विधेयक पारित भएका छन् ।

प्रकाशित मितिः   २० कार्तिक २०७५, मंगलवार १२:१८