जंगल रोक्का भएपछि पेसा धरापमा
जगतदल जनाला बिक
पञ्चपुरी, १९ कार्तिक ।
पञ्चपुरी नगरपालिका–६ का झिल्के वादी यतिबेला तिहारको खर्च जुटाउन मादल बनाउने काममा व्यस्त छन् । पहिले नयाँ मादल बनाएर बेच्ने उनी आजभोलि जंगलमा काठ काट्न रोकिएपछि पुराना मादल मर्मत गर्छन् । जंगलबाट काठ काट्न रोक्का भएपछि उनको पेसा नै धरापमा परेको छ ।
‘जंगलमा जान्थ्यौं, मादल बनाउने खमारीका रुखहरू काटेर ल्याउँथ्यौं’ आफ्नो विगत सम्झदै झिल्केले भने, ‘एकदिनमैं १०÷१२ वटा मादल बनाउने काठ ल्याएर मादल बनाइ बेच्थ्यौं । खान–लाउन र घर खर्चसमेत यसैबाट चलाएका थियौं । अहिले त विभिन्न सामुदायिक वन बनेका छन् त्यहाँ रुख काट्न त के, जान नि पाइदैंन, त्यसैले पुराना मादल मर्मत गर्छु ।’ काठ काट्न नपाएपछि जीविकोपार्जनमा समेत समस्या हुने गरेको उनले बताए । ‘कहिले काहीं कसैको बारीमा भएका रुख भए किनेर ल्याउँछु, सकभर भेटिदैनन् कहीं भेटिए पनि महँगो मूल्य भन्छन्’ उनले आफ्नो समस्या पोखे, ‘काठ नै महँगोमा किनेपछि मादलको पनि महँगो मूल्य पर्न जान्छ । जसले गर्दा मान्छेहरू हामीले बनाएको मादल किन्दैनन् बजारबाट नै बनावटी मादल किन्छन् ।’
उनको नौ जनाको परिवार छ । बस्ने घर बनाउनका लागि सरकारले एकलाख ६२ हजार रूपैयाँ अनुदान दिएको थियो । त्यसमा थपथाप गरी घर त बनाए । कृषि गरौं भने जमिन छैन । प्रविधिको विकाससँगै मादलको माग पनि हुँदैन । पहिले मादल र सुल्पा बनाएरै आफूलाई खान लाउन पुग्थ्यो, आजभोलि कमाइकाज पनि केही हुँदैन । जसले गर्दा साँझ बिहान छाक टार्नसमेत मुस्किल रहेको पञ्चपुरी–६ का दिलसरा वादीले बताइन् । वादी समुदायले परम्परागत रूपमा खमारी, पियारी लगायतका कु–काठका मादल बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्ला वर्षहरूमा सामुदायिक वन उपभोक्ता समितिमार्फत् वन संरक्षण गर्न थालेपछि वादीहरूको पेसा नै संकटमा परेको छ । काठ काट्न नपाउँदा आफूहरूको जीविकोपार्जनमा समेत समस्या उत्पन्न भएको दिलसराले बताइन् ।
स्थानीय सरकारले पनि वादी समुदायलाई बेवास्ता गरेको गुनासो उनीहरूको छ । वादीहरूका लागि पर्याप्त बजेट र योजनाहरू नपारेको पञ्चपुरीकै स्थानीय शिक्षक हरिलाल वादीको गुनासो छ । दलित भित्रकै पिछडिएको समुदायको रूपमा चिनिएको वादी समुदायका कैयौं बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाटसमेत वञ्चित भएको उनले बताए । नगरपालिकाले पनि यो विषयमा सोच्न जरुरी भएको बताए ।
यता पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्कबहादुर थापाले सात घरधुरी वादी समुदायलाई आर्थिक रूपमा सबल बनाउन कार्यक्रम ल्याइएको जानकारी दिए । आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा वडाबाट ३० हजारको बाख्रा पैंचो कार्यक्रम ल्याएको र आगामी दिनमा शिक्षा, स्वास्थ्य सम्बन्धित अन्य कार्यक्रमहरू ल्याउने प्रतिबद्धता उनले जनाए ।
साझा बिसौनी ।