जीप दुर्घटनामा दश जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ कार्तिक ।
डोल्पाको ठूलीभेरी नगरपालिका–९ बतासेमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमवार जीप दुर्घटनामा परी २ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ का ४५ वर्षीय हेमराज हमाल, त्रिपुरासुन्दरी–५ का १८ वर्षीय लक्ष्मी रोकाय, त्रिपुरासुन्दरी–१ का ६५ वर्षीय नरसिंह कठायत, त्रिपुरासुन्दरी–२ का अस्मिता रोकायको मृत्यु भएको छ ।
यस्तै, त्रिपुरासुन्दरी–१ का २५ वर्षीय शेरबहादुर थापा, त्रिपुरासुन्दरी–३ का ४५ वर्षीय बोधराज धराला, भद्र रोकाय, त्रिपुरासुन्दरी–२ का २४ वर्षीय कुमार राकोय, त्रिपुरासुन्दरी–५ का याम रोकाय, त्रिपुरासुन्दरी–३ का १७ वर्षीय मनिषा धरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक इन्द्रबहादुर साउँदले बताए ।
डोल्पाको दुनैबाट सुपानी जाँदै गरेको भे १ ज १६१० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–२ का वडा अध्यक्ष नन्दबहादुर थापा र जीपका चालक त्रिपुरासुन्दरी नगरपालिका–३ का दिनेश बोहरा घाइते छन् । ‘ओरालो, कच्ची र साँघुरो सडकका कारण जीप दुर्घटना भएको हो’ उनले भने, ‘उकालोबाट ओरालो जाँदा जीप दुर्घटनामा परेको छ, ठूलीभेरी नदीमा खसेको जीप डुबेपछि धेरैको मृत्यु भएको हो ।’ घाइतेहरूको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनास्थलमा अमिना बुढाको प्रमाण–पत्रहरू मात्रै भेटिएको छ । जिल्ला अदालत डोल्पामा कार्यरत उनी सोमवार साँझसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । डीएसपी अवदेश विष्टका अनुसार उनको खोजी कार्य तीव्र पारिएको छ । ‘बेपत्ता अमिनाको घटना स्थलमा प्रहरी टोली परिचालन गरेर खोजी थालिएको छ’ उनले भने, ‘नदी गहिरो भएकाले पनि खोज्न कठिनाइ भएको छ । उनले त्यही गाडी चढेकी थिइन् वा थिइनन् भन्ने बारेमा हामीले बुझिरहेका छौं ।’

प्रकाशित मितिः   २० कार्तिक २०७५, मंगलवार १२:१७