सात पसललाई जरिवाना

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ कार्तिक ।
वीरेन्द्रनगरका सात वटा पसललाई जरिवाना गराइएको छ । पसल दर्ता नै नगरी सञ्चालन गरिरहेको पाईएपछि जरिवाना गराइएको हो । जिल्ला संयुक्त बजार अनुगमन समिति सुर्खेतले सोमवार वीरेन्द्रनगरमा गरेको बजार अनुगमनका क्रममा यस्तो फेला पारेको हो ।
बजार अनुगमन समितिले मूल्य सूची नराख्ने सात वटा पसललाई पाँच सय रूपैयाँ जरिवानासहित सात दिनभित्र मूल्यसूची राख्न निर्देशन दिएको हो । समितिले पिपिराका तीन वटा पसलबाट म्याद नाघेका करिब २० हजार मूल्य बराबरका बिस्कुट, चकलेट आदि बरामद गरी सोही स्थानमा नष्टसमेत गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।
अनुगमन समितिका सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका बजार अनुगमन अधिकृत प्रकाश पौडेलले केही साना व्यवसायीहरूले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएको जनाए । उनीहरूलाई पाँच सय रूपैयाँ जरिवानासहित सात दिनभित्र पसल दर्ता गर्न निर्देशन दिएको उनले बताए । ‘हामी गहनरूपमा जनतालाई सुशासनको प्रत्याभूति हुने गरी बजार अनुगमनका खटिएका छौं,’ उनले भने, ‘सबै नागरिकको उपभोक्ता अधिकारको रक्षा गर्दै बजार स्वच्छ रूपमा प्रतिस्पर्धी रूपले अघि बढाउन व्यवसायीलाई जिम्मेवार बनाउने काम भइरहेको छ ।’ बजार अनुगमनमा खाद्य निरीक्षक भेषबहादुर थापा, प्रहरी सहायक निरीक्षक तेजबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २० कार्तिक २०७५, मंगलवार १२:१५