एमालेभित्र कुनै विवाद छैन : विष्ट
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ जेठ ।
नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले पार्टीभित्र अहिले कुनै गुटगत विवाद नरहेको दाबी गरेका
छन् । पेसागत महासंघ नेपाल जिल्ला समन्वय समिति सुर्खेतको दोस्रो जिल्ला अधिवेशनको शनिवार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सुर्खेतमा रहेका आफ्ना कार्यकर्तासँग पूर्व ऊर्जामन्त्री समेत रहेका विष्टले एमालेभित्रैबाट अहिलेको सरकार गिराउने खेल भएको भन्ने हल्लामा सत्यता नभएको जिकिर गरे । उनले एमालेका अध्यक्षको नेतृत्वमा बनेको सरकार परिवर्तनको कुनै सम्भावना नै नरहेको बताए । सरकारले बाटो बिराउन थालेमा पार्टीले सचेत गराउने तर नेतृत्व नै परिवर्तन गर्न नलाग्ने विष्टको भनाइ थियो । उनले सबैभन्दा बढी जनचाहना बुझेको पार्टी नै एमाले भएकाले बरु यही सरकारमा सरकार बाहिर रहेका दलहरूलाई पनि समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउनेतर्फ आफूहरू लागेको बताए ।
आन्तरिक रूपमा नेतृत्व छान्दा फरक–फरक प्यानलमा रहने गरे पनि राष्ट्रिय राजनीतिक सवालमा पार्टीभित्र कुनै समस्या नरहेको उनको दाबी छ । बाहिर हल्लाको रूपमा एमालेभित्र विवाद तथा गुट उपगुट रहेको आउने गरेकोमा दुःख व्यक्त गर्दै पार्टीभित्रका अन्तर सङ्घर्षलाई गुट वा उपगुटको रूपमा नबुझ्न विष्टले आग्रह गरे । विष्टले केन्द्रमा रहेका नेताहरूको कार्यकर्ता नबन्न आग्रह गर्दै एमाले पार्टीको असल कार्यकर्ता बन्नुपर्नेमा जोड दिए । संविधानको कार्यान्वयन र जनताका समस्यालाई समाधान गरी मुलुकलाई स्थायित्व प्रदान गर्नु अहिलेको प्रमुख कार्यभार भएको भन्दै विष्टले एमाले त्यसैका लागि कटिबद्ध भइ लागेको बताए । अहिलेकै सरकारको नेतृत्वमा राष्ट्रिय सहमति कायम गरी संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । उनले सरकार फेर्ने कुरा गर्दा राष्ट्र विकासका लागि फेरि धेरै समय खेर जाने बताए ।
बजेटको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, राष्ट्रिय पुनर्निर्माण, मधेसका समस्या समाधान लगायत महŒवपूर्ण कामहरू बाँकी रहेकाले यी सबै काम सम्पन्न गरेर मात्र एमालेले सरकार छोड्नसक्ने सङ्केत विष्टको थियो । ‘कसैले भन्दैमा सरकार फेरबदल भइहाल्ने हुँदैन, त्यो सम्भव नै छैन’ उनले भने, ‘जनताप्रति इमान्दार छन् भने अन्य दलहरू पनि सरकार बदल्ने खेलमा नलागेर यही सरकारमा सहभागी हुनुपर्दछ ।’
नेकपा एमालेप्रति जनताहरूको अपेक्षा बढ्दै गएको भन्दै विष्टले गाउँ गाउँमा गएर जनताका समस्या बुझ्न जिल्लास्थित नेताहरूलाई निर्देशन
दिए । उनले अब मुलुकको आर्थिक समृद्धिको अभियान सञ्चालन गर्न जरुरी रहेको औंल्याउँदै त्यसको नेतृत्व पनि एमालेले नै गर्ने दाबी गरे । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेल, केन्द्रीय अनुशासन आयोगका सदस्य बालाराम शर्मा, एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साझा बिसौनी संवाददाता ।