‘प्रेम र विश्वासले सम्बन्ध दिगो बनाउँछ’

life
चार दिदी र चार भाइ मध्येका साइला छोरा श्याम क्षेत्री भर्खर ७ वर्षका थिए, उनका बुबाको निधन भयो । उनले कल्पना समेत गरेका थिएनन्, बुबा विनाको आफ्नो जीवन कस्तो होला भनेर । उनको जीवनमा तबबाट सङ्घर्षका दिनहरू सुरु भए । बाल्यकाल दुःखद् रह्यो । पिता कालिचरण बुढा क्षेत्री र माता भगवती बुढा क्षेत्रीको कोखबाट वि.सं. २०३८ सालमा काठमाडौंको ललितपुरमा जन्मिएका क्षेत्री बाल्यकालदेखि नै व्यवहारिक व्यक्ति थिए । जब मान्छेमा दुःख आइपर्छ तब ऊ व्यवहारिक बन्दै जान्छ । यस्तै व्यवहारिक क्षेत्री पनि बन्दै गए । उनी शान्त स्वभावक अनि मेहेनती थिए । केही नयाँ काम गर्नुपर्ने, जस्तोसुकै काममा पनि पछि नहट्ने उनको स्वभाव थियो ।
धेरै दिदी भाइ भएको र घरको आर्थिक अवस्था पनि नाजुक थियो । उनले भने, ‘हामी धेरै भाइबहिनी त्यसमा पनि घरको आर्थिक अवस्था कमजोर थियो ।’ घरको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई एसओएसले पढ्ने अवसर दियो । काठमाडौंको एसओएसले विद्यार्थी धेरै भएकाले उनी लगायत अन्यलाई पनि
सुर्खेत पठाइयो । उनी भन्छन्, ‘म लगायत धेरै साथी थियौं, काठमाडौंमा विद्यार्थी धेरै भएर सुर्खेत आउने ।’
एक त उनले बाल्यकालमा नै बुबा र आमालाई गुमाइसकेका थिए । त्यसमा पनि आफ्नो जन्मथलो काठमाडौंलाई समेत बाल्यकालमा नै छाडेर सुर्खेत आउनुप¥यो । पढाइमा पनि उनी अगाडि नै थिए । उनी एसओएस स्कुलमा नै हुर्किए र पढे । उनका लागि घर, कर्म दिने आमा समेत एसओएस नै थियो । क्षेत्री एसओएसमा स्याहार गर्ने आमालाई नै आफ्नो आमा मान्छन् । उनी भन्छन्, ‘जन्म दिने आमा र मलाई कर्म दिने आमा मेरो लागि समान हुनुहुन्छ ।’ क्षेत्री अहिलेसम्म एसओएसमा जाने र आमालाई भेट्ने गर्छन् । आमाको मुख हेर्ने दिन उनी एसओएसमा नै जाने गर्छन् । किनकी उनलाई जति पनि खुशी दियो त्यो सबै एसओएसले नै दियो । उनलाई शिक्षा मात्र दिएन घर, माया ममता, आमा र भविश्यको बाटो समेत देखाइ दियो । उनले भने, ‘मेरो जीवनमा खुशीको वहार ल्याउने एसओएस नै हो ।’ यहाँसम्म कि उनको बिहे समेत एसओएसले गराइ दियो ।
क्षेत्री एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षाका लागि नेपालगन्ज गए । उच्च शिक्षाका लागि नेपालगन्जको युवालयमा बसेर महेन्द्र बहुमुखी क्याम्पसमा पढ्न
थाले । उनीसँगै पढ्थिन् रेखा पनि । दुवै जना एकअर्काेको मिल्ने साथी थिए । उनीहरूको त्यो मित्रता कतिखेर प्रेममा बदलियो उनीहरूलाई नै थाहा भएन । क्षेत्रीको लागि रेखा भन्दा अरु कोही पनि जीवनसाथी बन्नसक्छ जस्तो लागेन । दुवै जना एकअर्काेको मिल्ने साथी भएकाले एकअर्काेको बानी व्यहोरा सबै कुरा नजिकबाट बुझिसकेका थिए । क्षेत्री असल, इमान्दार र मेहेनती भएकै कारण रेखाको नजर अनि मनमा बस्न सफल भए । रेखा पनि उस्तै थिइन् क्षेत्रीको नजरमा उनी बाहेक अरु कोही केटी माथि थिएनन् । दुवैले एकअर्काेलाई मन पराउन थालेका थिए । क्षेत्रीले धेरै समय रेखालाई मन पराउने कुरा मनमा राख्न सकेनन् । उनले चिठ्ठीमार्फत् रेखालाई प्रेम प्रस्ताव राखे । क्षेत्रीको प्रेम प्रस्ताव रेखाले एक दिनसम्म सोचे र स्वीकारेको जवाफ दिएकी थिइन् ।
उनीहरूको त्यो प्रेम करिब पाँच वर्षसम्म चल्यो । उनीहरूले प्रेम गरे पनि विवाह भने घरपरिवारको सल्लाहमा नै गर्ने निर्णय गरे । क्षेत्रीको आफन्त सुर्खेतमा कोही थिएनन् । क्षेत्री सानै हुँदा बुबाआमाको निधन भएको थियो । उनका लागि सबै आफन्त भनेको नै एसओएस थियो । क्षेत्री युवालयमा बस्ने हुँदा त्यहाँ निर्देशकलाई उनले अंकल
भन्थे । उनी नै गएर रेखाको हात मागेका थिए क्षेत्रीको लागि ।
केटा इमान्दार र मेहेनती भएपछि कसले आफ्नो छोरी दिँदैन र ? रेखालाई पनि उनका परिवारले क्षेत्रीलाई दिने निर्णय गरे । क्षेत्रीको विवाहको जन्ती, खर्च सबै एसओएस सुर्खेतले नै व्यहोर्ने भयो । घरबाट जन्ती एसओएसले नै लिएर गयो । क्षेत्रीको लागि एसओएसकी आमा नै उनकी आमा थिइन् । उनीहरूको २०६१ सालमा मागी विवाह भयो ।
विवाहपछि रेखा माइतीमा नै बसिन् क्षेत्री भने कामको शिलशिलामा दुई वर्ष बाहिर गए । दुई वर्षपछि घर फर्केका क्षेत्री परिवारसहित फेरि सुर्खेतमा नै फर्के । उनको चिनेजानेको जे भने पनि सबै सुर्खेतमा नै थिए । त्यसैले पनि उनी सुर्खेत आए । उनले दिदी मानेको तुल्सी थापाले नै उनीहरूको बस्ने व्यवस्था मिलाइ दिएकी थिइन् । उनले भने, ‘तुल्सी थापा मैले दिदी मानेको थिएँ उहाँ देउती नर्सिङ्ग होममा काम गर्नुहुन्थ्योे उहाँले नै हामीलाई सुर्खेतमा बस्ने व्यवस्था मिलाइ दिनुभएको थियो ।’
उनले दिदी तुल्सीको सहयोगमा मेडिकल पनि सिक्ने अवसर पाए । उनको बाल्यकालदेखिको सपना शिक्षक बन्ने
थियो । त्यही सपनालाई पूरा गर्नको लागि उनले सुर्खेत होराइजन एकेडेमीमा पढाए । पछि एसओएसमा कोटा खाली भएकाले उनलाई एसओएसमा बोलाइयो । उनले विगत सात वर्षदेखि हालसम्म एसओएस बालग्राम सामाजिक केन्द्रमा प्रमुखको जिम्मेवारी वहन गरिरहेका छन् ।
पिता राजकुमार क्षेत्री र माता लिला क्षेत्रीको कोखबाट २०४० सालमा नेपालगन्जमा जन्मिएकी रेखाको बाल्यकाल क्षेत्रीको जस्तो दुःखदायी भने थिएन । उनी बाल्यकालमा अलि बढी छुच्चो र अरुसँग अलि झगडा गर्ने स्वभावकी थिइन् । उनले भनिन्, ‘म बाल्यकालमा अलि बढी नै छुच्चो थिएँ, झगडा पनि गर्ने गर्थें, कसैले आफू माथि लगाएको दोष खेप्न सक्दिनथें, झगडा गर्न गइहाल्थें ।’ उनले नेपालगन्जमा नै आफ्नो पढाइ पूरा गरिन् । उच्च शिक्षा पढ्दा क्षेत्रीसँग उनको भेट भएको थियो ।
विवाहपछिका दिनमा उनीहरूको सामान्य झगडा त भयो तर, झगडालाई उनीहरूले कहिल्यै ठूलो रूप बनाएनन् । उनीहरू भन्छन्, ‘झगडा त एकअर्काेप्रतिको विश्वास नहुनु र शंका उपशंका उत्पन्न हुनाले हुने गर्छ तर, हामी बीच विश्वासको डोरी कसिलो छ जुन एकअर्काेको विश्वासले झगडा हुँदैन ।’ दुवै जना एकअर्काेको काममा पनि निकै सघाउँछन् । साथ रहेको एउटा छोराको हेरचाह र घरको काम जसको फुर्सद हुन्छ उसैले गर्ने गर्छन् । रेखा पनि इगरब्रिजमा लेखापालको रूपमा काम गर्छिन् । दुवै जना जागिरमा व्यस्त हुने भएकाले घरको काम जसको फुर्सद भयो उसैले गर्ने गर्छन् । उनीहरू भन्छन्, ‘हामीमा कामको बाँडफाँड हुँदैन, हामी जसको फुर्सद हुन्छ उसैले घरको काम गर्ने गर्छाै ।’ क्षेत्रीलाई रेखाको सबै बानी मनपर्ने गर्छ । अलि बढी रिसाउने बानी भने हटाइदिए हुन्थ्यो जस्तो लाग्छ । त्यस्तै रेखालाई पनि क्षेत्रीको सबै बानी मनपर्ने गर्छ । उनीहरूका अनुसार एकअर्काेमा विश्वास कायम हुनसकेमा मात्र दाम्पत्य जीवन सुखमय बनाउन सकिन्छ । जब एकअर्काे बीचमा शंका उपशंका उत्पन्न हुन्छ तब सम्बन्धमा टकराव सुरुवात हुन्छ । त्यसैले पनि एकअर्काेको भावना बुझेर सल्लाह अनुसार विश्वास कायम गर्नसक्नु सम्बन्ध बलियो बनाउनु हो ।
उनीहरूका अनुसार विवाह र प्रेम उस्तै उस्तै हुन् । विवाह एकअर्काेको बन्धनमा बाँधिनु हो भने विवाहको सम्बन्धलाई टिकाइ राख्न प्रेम चाहिन्छ । त्यसैले विवाह र प्रेम एकअर्काेको परिपूरक हुन् । जीवनको परिभाषा सबैले आ–आफ्नै बुझाइ अनुसार गर्ने गर्छन् । यो जोडीको बुझाइमा जीवन सुख दुःखको संगम हो । जो जीवनमा दुःख पनि आउँछ अनि सुख पनि आउँछ । जीवन एउटा यात्रा हो । यो जोडीका अनुसार जीवनसाथी भनेको जीवन बिसाउने अनि जीवन बुझेर अगाडि बढाउने प्रक्रिया हो । दुःख–सुख बिसाउने चौतारी नै जीवनसाथी हुन् । उनीहरू नवदम्पत्ती जोडीलाई पहिला एकअर्काेको व्यवहार, संस्कार, रितीरिवाज, सहनसहन र एकअर्काेको भावना मिल्ने नमिल्ने जानेर बुझेर मात्र विवाह गर्न आग्रह गर्छन् ।
प्रस्तुती : गीता थापा

प्रकाशित मितिः   ३० जेष्ठ २०७३, आईतवार ०६:५०