सपनाको मध्यान्तर(कथा)
-क्रान्ति शर्मा-
नसम्झिएकै जाती हुन्थ्यो । तैपनि मन न हो, कहाँ मान्थ्यो र ? त्यो बिहान तिमीसँग भेट नहुँदो हो त कति उत्तम हुँदो हो ! त्यही एउटा भेटले धेरैथोक ल्याइदियो मेरो नजिक । एउटा मान्छे, एउटा याद, एउटा सम्झना र एउटा सपना । भेट नहुँदो हो त मैले तिमीलाई यसरी सम्झनु नै कहाँ पथ्र्याे र ? खासमा हाम्रो पानी पर्नुसँग के पो सम्बन्ध थियो र ? तर हेरन त्यसरी बर्सेको पानी आज सम्बन्ध बनेर आइदियो ।
त्यो अन्जान मुहार मैले कहिले देखेकी थिइँन । देखे त जानिहाल्थें नी । किन परेछ त्यो झरी ? किन भेटिएथ्यौ तिमी ? किन आएथ्यौ नजिकै ? आजकल त्यही सोच्न मन लाग्छ, तिम्रा त्यही डुप्लीकेट तस्बिरहरू हेर्दै । सम्झिन्छु म अझैं, तिमीले भन्दा पनि बेसी नै । तिम्ले त के पो सम्झिँदो हौ र ? भिजिरहेको व्यक्ति तिमी, जसलाई मैले छाता ओढाउनसम्म आँट राख्न सकिनँ । तिमी जस्तो पुरुष जसलाई समाजले त सजिलै छोडिदिएको छ नी । बन्देज त मलाई छ, म जस्तोलाई छ । हेर तिम्रै समाजले दिएको बन्देज, लौ न तिम्लाई नै रुझाइदियो । बोल्नसम्म आँट नभएकी मजस्तीसँग तिमीले त बोलेथ्यौ पहिलोपटक । ती वाक्यहरू अझैं याद छ मलाई, मेरो कम्जोरी नै त्यही भइदियो हरेक कुरालाई मनदेखि सुनें र सुनाएँ । याद राखें सबैका सबै कुराहरू, मलाई के थाहा थियो र, यी यादहरू नै यति विषाक्त बनेर निस्किन्छन् भनेर ।
पानी पर्दै थियो । झरी बढ्दै थियो । दूरी घट्दै थियो । वाक्य फुट्दै थियो ।
‘हाइ, म तिमीलाई चिन्छु ।’
एकाएक म आत्तिएँ । तिमी मेरो छातालाई आफ्नो हातमा लिँदै थियौ ।
‘तिमी शिखा हैन ?’ मैले केही जवाफ फर्काउनै नपाइ फेरि तिमी बोल्यौ ।
‘अँ त्यस्तै त्यस्तै..तर मैले चिनिनँ नी
तिमीलाई ?’
‘तिमी मलाई होइन, म तिमीलाई चिन्छु । जसले जसलाई चिने पनि चिन्नुसम्म त हो ।’
बस तिमीसँग धेरै बोल्न नै मन लागेन । लागेन पनि के भनुँ, सकिन बोल्न । मात्र सुनिरहुँ जस्तो
लाग्यो । तिमी बोल्दै गयौ । म सुन्दै गएँ ।
‘मैले भेटाएथें तिमीलाई धेरै ठाउँमा पहिले पनि तर आज यसरी त पहिलो पटक बोल्दैछु ।’
‘एउटा कुरा भनम्, तिमीलाई साया जस्तै लाग्छ तर तिमी साया होइनौं । त्यही समर लभ कि साया ।’
त्यसबेला तिमीलाई ‘समर लभ’को केही ठूलै प्रभाव परेको हुँदो हो । त्यो वाक्य मेरो हृदयसम्म पुग्यो । एकाएक म ढुङ्गा जस्तै स्थिर भएँ, म स्थिर भएरै पो हो कि एक्कासी झरी सँगै हावा चल्यो । तिमीले समाएको छाता उडाइदियो । तिमी छातालाई भेट्न चलाएमान भयौ भने म घर ढलिएर च्यापिएको मानिस जस्तै चुप भएँ । के बोलुँ के नबोलुँ ?
म भिजिरहेँ, त्यो झरी परिरह्यो । तिमी एकाएक हराइदियौ म बाट । म पनि हराइदिएँ त्यो सडकबाट । ए भन्देउ न तिमी कहाँ गएको थियौ तिमी ? म आत्तिदै घर पुँगे, आखिर को थियौ तिमी कि मैले तिमीसँग भेटें झुक्किएर । मैले तिमीसँग कुरा पनि गरेँ झुक्किएर । तिमी कहीं…? अहँ, पक्कै याद छैन मलाई । त्यो झरी रोकियो तर मेरो मनमा झरी परिनै रह्यो । मैले ठम्याउनै सकिनँ । अहँ मैले पहिल्याउनै सकिनँ त्यो समय जहाँ तिम्रो र मेरो भेट भएको थियो । केही गरी कसैगरी चिन्नै सकिनँ त्यसबेला मैले तिमिलाई ।
पहिलो कप चियाको समाप्तीसँगै बाँकी रहेको कथा पूरा गर्न तरखरमा लागें तर मेरो हातमा रहेको कलम स्थिर थियो, स्तब्ध थियो मन । के लेखुँ, के नलेखुँ ? एक पटक कथालाई सुरुदेखि हेर्न मन लाग्यो, त्यहाँ तिमीमात्रै थियौ । हरेक ठाउँमा कोरिएको थियो एक नाम– जीवन ।
म थोरै मुस्कुराउन थाले छु, अनि आफैंलाई भन्न थालेछु, ‘ओहो तिमी त जीवन पो रहेछौ, जसलाई एक हप्तादेखि मेरो कथाको मुख्य पात्र बनाएर म लेखिरहेंथे कथा ।
‘शिखा सुनन्, तिमीलाई एउटा कुरा भन्न
थियो ।’ तिमी भन्दै थियौं । मैले तिमीतिर हेरेँ । फेरि नजर अन्तै घुमाएँ । तत्कालै के बोलुँ, अहँ मेरो मानसिक प्रक्रिया चलायमान भैदिएन त्यो बेला । तिमी फेरी बोल्यौ,
‘तिम्रो छाता ।’
म रोकिएँ, तिमी नजिकै आयौ ।
‘तिमी दुईदिनसम्म आएनौ नी । म छाता समाएर दिनभर उभिएर नआएपछि साँझ फर्किएँ । सन्चै त थियौं ?’
बेस्मारी कराएर ‘नाईं’ भन्न त मन थियो तर बाध्यता तिमीलाई कसरी भन्न सक्थें र वास्तविकता ।
‘हे कहाँ हराएको म त यही छु नि । खै,
छाताको याद नै भएनछ हेरन । खै देउ मेरो छाता, म हतारमा छु ।’
‘कहाँ जानला र ?’
अहो यो प्रश्न सोध्न उपयुक्त थियो ? अब के मैले जवाफ दिन उपयुक्त थियो ? खै म नाजावाफ भैदिएँ । मनले त सोच्यो नि त्यतिखेरै, बाटामा हिँड्ने हरेक बटुवाले सोधेको प्रश्नको जवाफ दिन आवश्यक छैन ।
तिमी नै बोल्यौ,
‘शिखा, तिमीलाई एउटा लेटर छ फ्रम माइ साइड । इफ यू डन्ट माइन्ड, यू क्यान टेक इट एण्ड रिड इट ।’
कत्ती संकोच लागेन, म खुल्ला आकाश जस्तै खुलें र भन्न थालें,
‘ह्वाट इज दिस ? कहीं प्रेम पत्र त होईन ? हो भने म त लैजान्न है ? रिअल्लीआइ डन्ट लाइक अल थिङ्स रिलेटेड वीथ लभ । आइ हेट लभ ।’
‘पहिले पढ अनि भन्नु ।’ तिमीले भनेथ्यौ ।
‘म जान सक्छु ?’ मैले सोधेथें ।
‘यति छिट्टै ?’
‘मतलब ?’
‘नो म्याटर ।’
‘भन न के हो, तिमी हडवडाउनुको कारण ?’
‘त्यसो भए सुन, म भन्छु है त ।’
‘भन न ।’
‘आँखा बन्द गर ।’
‘नार्इं, डर लाग्छ ।’
‘म भूत हो र ?’
‘के भर ?’
‘एकपटक विश्वास गरेर त हेर ।’
‘हेरेर विश्वास गर्ने वा विश्वास गरेर हेर्ने ?’
‘तिम्रो इच्छा । ल ठीक छ, आँखा बन्द गर ।’
र तिमीले बोल्दियौं,
‘म तिमीलाई प्रेम…।’
…
एकाएक आवाज आयो, ‘नानी उठ्ने होइन ? ढिला भइसक्यो । आज कथा भन्ने भन्दै थिइस् नी प्रतियोगितामा ?’
‘अँ मम्मी पनि, मेरो कथा पूरा हुँदै थियो, उठाइदिनु भयो ।’
‘यो पनि जे लेख्छे, त्यही सपनामा देखेर बस्छे ।’
सम्झिएँ, कति सुन्दर थियो त्यो तिम्रो अवास्तविक चित्र अनि कथा र म वास्तविक पात्र । अपुरो त हैन तर सकिएको छैन अवास्तविक पात्र तिमी र म अनि यो कथा । एक झरी । एक खुल्ला आकाश । र, लागिरहेछ, यो हो मेरो एउटा सपनाको मध्यान्तर । मध्यान्तर अर्थात् सुरु भइसकेको तर समाप्त नभइसकेको स्थिति ।
साझा बिसौनी संवाददाता ।