हिमाली जिल्लामा हिमपात
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ कार्तिक ।
कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको छ । आइतवार बिहानैदेखि हिमाली जिल्लाहरूमा हिमपात सुरु भएको हो । हिउँ पर्न सुरु भएपछि जनजीवन प्रभावित भएको छ ।
हुम्ला, डोल्पा र जुम्लाका उच्च हिमाली क्षेत्रमा आइतवार बिहानैदेखि हिउँ पर्न थालेको हो । हिमाली क्षेत्रमा हिउँ पर्न थालेपछि मानिसहरू बस्ती सर्न थालेका छन् । चिसो बढेसँगै हुम्लाको उपल्लो क्षेत्र लिमीको प्रहरी चौकी पनि सदरमुकाम सरेको छ । चिसोले काम गर्न सक्ने अवस्था नरहेपछि उक्त क्षेत्रमा कार्यरत प्रहरीहरू नै सदरमुकाम सिमकोट आइपुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख गेहेन्द्र बोगटीले बताए । चार जना प्रहरीको दरबन्दी रहेको लिमी चौकीमा चिसोका कारण सदरमुकाम सरेका हुन् ।
विगतका वर्षहरूमा मंसिरको अन्त्यदेखि हिउँ पर्ने गरे पनि यस वर्ष कार्तिकमै हिउँ परेको छ । हिमपातसँगै आइतवार हुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियसमा पुगेको छ । यस्तै, जुम्लाका उच्च क्षेत्रमा पनि आइतवार बिहानैदेखि हिउँ वर्षा सुरु भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । वर्षे बाली भिœयाइ नसक्दै हिमपात सुरु भएपछि किसानहरूले छतमाथि राखिएको अन्नबाली कुहिने चिन्ता व्यक्त गरेका छन् । सिजन अगावै हिउँ पर्नाले फलफूल र हिउँदेबालीमा समेत असर पर्ने देखिएको छ । हिउँका कारण तापक्रम माइनसमा पुगेपछि जमिन चिसो हुनुका साथै बरफ जम्ने भएकाले हिउँदे बाली लगाउन कठिन हुने किसानहरूको भनाइ छ ।
साझा बिसौनी ।