चाडपर्वमा मौलाउँदै जुवातास

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ कार्तिक ।
गत बुधवार जुवा खेलिरहेको अवस्थामा सुर्खेतको लेकवेशी नगरपालिकाबाट १३ जना पक्राउ परे । उनीहरूबाट एक लाख ८० हजार नगदसमेत बरामद गरिएको थियो ।
लेकवेशी नगरपालिका–३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेश वली, अनुभव बस्नेत, विनोद शाही, अमर थापा, ललित सुनार, छवि पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की पक्राउ परेका हुन् । अदालतबाट म्याद थप गरी प्रहरीले उनीहरूमाथि आवश्यक कारबाही थालेको छ ।
यस्तै गत शुक्रवार दिउँसो वीरेन्द्रनगर–६ बुद्धपथबाट एक लाख भन्दा बढी नगदसहित प्रहरीले चार जना जुवाडे पक्राउ गर्‍यो । पक्राउ पर्नेमा लेकवेशी नगरपालिकाका यम ढकाल, वीरेन्द्रनगर–११ चनौटेका गगन विष्ट, वीरेन्द्रनगर–११ पिपिरा बस्ने गणेश पौडेल र वीरेन्द्रनगर–४ बस्ने विशाल हमाल थिए । जुवा खेलिरहेको विशेष सूचनाका आधारमा छापा मारेको प्रहरीले उनीहरूबाट एक लाख ४२ हजार ६ सय रूपैयाँ बरामद गरेको थियो । उनीहरूमाथि पनि आवश्यक अनुसन्धान थालिएको छ ।
उल्लेखित घटना चाडपर्वको समयमा जुवातास मौलाउँदै गएका दुई दृष्टान्त मात्रै हुन् । दशैं, तिहार, छठ लगायतका पर्वहरू नजिकिएसँगै जिल्लामा जुवातास मौलाउँदै गएको हो । शान्ति, सुरक्षा र अमर्यादित गतिविधिविरुद्ध कडाइ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले चाडपर्वको अवधिमा जुवातास र जाँडरक्सीमाथि विशेष निगरानी बढाएको छ । प्रहरीले निगरानी बढाएसँगै जुवाडेहरू पक्राउ पर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार असोज महिनादेखि यता मात्रै ४० जना जुवाडेहरू जुवा खेलिरहेको अवस्थामा पक्राउ परिसकेका छन् । प्रहरी प्रवक्ता डीएसपी प्रदिपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार असोज महिनामा मात्रै चार वटा जुवातासका मुद्दाहरू दर्ता भएका छन् । जसमा २७ जना पक्राउ परेको उनले जानकारी दिए ।
यस्तै, कार्तिक महिनाको १७ दिनमा दुई वटा मुद्दा दर्ता भएका छन् भने २३ जना पक्राउ परेका छन् । ६ जना एक पटक र १३ जना अर्को पटक गरी १९ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने शुक्रवार पक्राउ परेका चार जनामाथि आइतवार (आज) म्याद थप गर्ने तयारी थालिएको छ । विगतका महिनाहरू भन्दा यस अवधिमा धेरै जुवाडेहरू पक्राउ परेका छन् । विभिन्न स्थानबाट जुवाडेहरूसहित साढे पाँच लाख रूपैयाँ बरामद गरिएको छ । असोजमा एक लाख ५४ हजार ३० रूपैयाँ र कार्तिकमा चार लाख ६ सय ८५ रूपैयाँ गरी पाँच लाख ५४ हजार सात सय १५ रूपैयाँ बरामद गरिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
डीएसपी क्षेत्रीले चाडपर्वका बेला हुने जुवातास, झै–झगडा, चोरीडकैती लगायतका आपराधिक गतिविधिविरुद्ध प्रहरी सशक्त भएर लागेको बताए । अन्य समय भन्दा चाडपर्वका बेला धेरै आपराधिक गतिविधि हुने गरेकाले पनि निगरानी बढाइएको हो । जिल्लामा शान्ति, सुरक्षा मजबुत बनाएको उनले बताए । समाजमा हुने आपराधिक गतिविधि विरुद्ध प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ । अपराध न्यूनीकरण सबैको दायित्व भएको भन्दै प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमसमेत लागू गरेको छ । जिल्लाका स्थानीय तहसम्म आवश्यक सञ्जाल विस्तार गरी अपराध घटाउने रणनीति अनुसार विशेष अभियान सुर्खेतमा लागू गरिएको हो ।
अभियान अन्तर्गत शनिवार मात्रै २५ वटा स्थानहरूमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । आम नागरिकलाई सुरक्षित कसरी रहने र आपराधिक गतिविधिविरुद्ध जानकारी दिन कार्यक्रम गरिएको डीएसपी क्षेत्रीले बताए ।

प्रकाशित मितिः   १८ कार्तिक २०७५, आईतवार १४:१५