तर चोर्ने म, चोट खाने बिरालो
वीरेन्द्रनगर–८ सुर्खेत निवासी घनश्याम ज्ञवाली पूर्व शिक्षक हुन् । ३६ वर्ष शिक्षण पेसामा रहेका ज्ञवाली वीरेन्द्रनगर–१६ गर्पनमा बुबा देवीलाल ज्ञवाली र आमा पूर्णकला ज्ञवालीको कोखबाट जन्मिए । वीरेन्द्रनगरमा रहेको जन माध्यमिक विद्यालयका पूर्व शिक्षक समेत रहेका ज्ञवालीले आफ्नो बाल्यकालको सम्झना यसरी गरे ः
बाल्यकालमा चाडपर्वको समयमा धेरै रमाइलो लाग्थ्यो । चाडपर्व मध्य दशैं अझै राम्रो लाग्थ्यो । सबैले जमरा टीका लगाएको देख्दा सुन जस्तै लाग्थ्यो । त्यो भन्दा पनि रमाइलो दशैंमा नयाँ कपडा लगाउन पाइन्थ्यो । मिठोमिठो खाने आफन्तहरूकोमा जान रमाइलो लाग्थ्यो । मासुभात खान पाइन्थ्यो । दशैंमा छोरा मान्छेहरूलाई बुबा–आमाले दक्षिणा दिनुहुन्थेन । प्रायः छोरालाई दक्षिणा दिँदैन थिए । तर मामाको घरमा भने दशैंका बेलामा टीका लगाएर दक्षिणा दिनुहुन्थ्यो । दशैं कहिले आउँला र मामाको घरमा जाउँला भन्ने हुन्थ्यो । दशंै नजिकिदैं आयो भने दिन गनेर बस्थ्यौं । बाल्यकालमा चाडपर्व विशेष हुन्थे ।
मैले सानै उमेरमा अक्षर चिन्ने मौका पाएँ । बुबाले पढेको हुनुहुन्थ्यो । उहाँले नै पहिलो पटक अक्षर चिन्न सिकाउनु भएको हो । त्यस बेलामा गाउँमा विद्यालय स्थापना भएका थिएनन् । हामीले सुरुमा गोठमा बसेर पढेका हौं । अहिले पनि गोठमा ३५ जना साथीहरूले एकै ठाउँमा बसेर पढेको सम्झना आउँछ । त्यस बेलामा हामीलाई पूजापाठ गर्ने गुरु पण्डितले पढाउने गर्नुहुन्थ्यो । हामीले पढ्ने भनेको दुर्गा, चण्डी, महाभारत र रामायण नै हो । मैले त्यस बेलामा यि सबै पढिसकेको थिएँ । कण्ठ थियो ।
राती मकै बनाउन बस्दा मैले लय हालेर रामायण पढ्थें । काम गर्नुभन्दा पनि रामायण पढ्यो भने सबैले छिटोछिटो काम गर्थे । बिहान त एक शुली मकै तयार हुन्थे । वि.सं. २०२१ सालमा गाउँमा विद्यालय स्थापना भयो । मेरो बुबा देविलाल ज्ञवालीको अध्यक्षतामा नै २०२१ साल असोज १ गते बुधवार विद्यालय स्थापना भएको हो । त्यसबेलामा मेरो उमेर १० वर्षको भइसकेको थियो । कक्षा चारसम्म मात्र विद्यालय खुलेको थियो । मैले सिधै कक्षा ४ मा भर्ना भएर पढें । कक्षा चार पढिसकेपछि पढ्नका लागि गोठीकाँडा आउनुपर्ने हुन्थ्यो । मैले गाउँमा पढ्नुपर्ने दुर्गा, चण्डी, महाभारत र रामायण पढिसकेको थिएँ ।
गाउँभरी सबैभन्दा पढ्न जान्ने, पढेको म नै थिएँ । मलाई पढेर ठूलो मान्छे बन्नुपर्छ भन्ने लाग्थ्यो, त्यो भन्दा पनि शिक्षक बन्नुपर्छ भन्ने थियो । गाउँमा कक्षा चारसम्म मात्र विद्यालय भएकाले म पढ्नका लागि गोठीकाँडा आएँ । गोठीकाँडामा कक्षा ५ सम्म पढेपछि कट्कुवाको स्कुलमा पढें । त्यसपछि फूलबारी स्कुल (हाल श्री संस्कृत तथा साधारण मावि ईत्राममा) मा पढ्न आएँ । कुहिनेपानीमा थियो त्यतिबेला विद्यालय । पछि वि.सं. २०२४ सालमा पब्लिक हाइस्कुल हालको जनमावि मा कक्षा ६ देखि पढ्न सुरु गरें । मैले जनमाविबाटै एसएलसी पास गरेको हुँ ।
पढ्न जानेको छ भनेर बुबाले राम्रो कपडा किनिदिनुहुन्थ्यो । दौरासुरुवाल, भात गाउँले टोपी सान नै फरक हुन्थ्यो । म सानोमा मायालु, अनि ज्ञानी स्वभावको थिएँ । सबैले माया गर्नुहुन्थ्यो । म पनि सबैलाई पछ्याउने माया गर्ने गर्थें ।
बाल्यकालमा खेल्ने भनेको डन्डीबियो, कपर्दी लगायतका खेलहरू हुन्थे । कपर्दी खेलमा भने म जान्ने थिएँ । त्यसमा आईडीया भएकोले जित्न सक्छ । कपर्दीमा म नै प्रायः जित्ने गर्थें । मेलापात, गाइगोरु चराउन जाँदा पनि खेल्थ्यौं । रमाइलो हुन्थ्यो । साथीहरू मिलेर रमाइलो गथ्र्यौं । कहिले काहीं बदमासी पनि गरिन्थ्यो । एक ठाउँमा गाइभैंसीको गोबर थुपारेर किला गाड्ने र साथीलाई नजिकै बसेर हेर भन्ने अनि साथीको खुट्टा तानिदिएर गोबरमा लडाउने पनि गरिन्थ्यो । कहिले–काहीं साथीहरू मिलेर केरा चोर्न जाने पनि हुन्थ्यो । डर पनि उत्तिकै लाग्थ्यो । मैले घरमा दुधको तर चोरेर खाएको छु । साइला अंकलले बिरालोले दुध चोरेर खान्छ भनेर ढाँकेर राख्नुहुन्थ्यो । एक दिन नजिकै बिरालो पनि बसेको थियो । बिरालो प्रायः त्यहाँ मुसाका लागि बस्थ्यो । त्यस दिन मैले तर चोरेर खाएँ । बिरालो खाएको जस्तै गरेर । त्यतिबेलामा नै साइलो बुबा आइपुग्नुभयो । उहाँले बिरालाले नै खाएको होला भनेर बिरालोको ढाडमा हान्नुभयो । पछि त्यो बिरालो म¥यो । त्यस यता चोरेर खान डर लाग्थ्यो ।
काँसको गिलासमा खट्टेमा मह मिसाएर खाजा बनाएर विद्यालय लिएर जान्थें । घरबाट विद्यालय पुग्न आधा घण्टाको समय लाग्थ्यो । विद्यालयमा लिएपछि सार्थीहरूले खाइदिन्थे । त्यसैले बाटोमा खाजा लुकाएर विद्यालय जान्थें । घर फर्किदा खान्थें । अझै पनि त्यो बाल्यकालको खाजाको सम्झना आउँछ । बाल्यकालमा दहीमोही, घ्यू र दुध धेरै हुन्थ्यो । धेरै नै खाइयो । म मोटो थिएँ । सबैले मलाई गाला राता छन् कति मोटो भनेर भन्थे । मसंग लड्नका लागि बलिया मात्र आउँथे । तर पनि मैले जितिहाल्थें ।
अहिले त भविष्यमा डाक्टर, पाइलट भन्ने सम्मका सपना लिएर पढ्छन् । त्यस बेलामा हामीले पढेर जान्ने भइन्छ, ठूलो मान्छे भइन्छ भनेर
पढ्थ्यौं । शिक्षक हुनुपर्छ भन्ने थियो । मैले सानैबाट शिक्षक नै बन्छु भनेको थिएँँँ । पछि शिक्षक भए । ३६ वर्षसम्म शिक्षण पेशा गरे । २०२९ सालमा एसएलसी पास गरेपछि २०३० सालबाटै मैले जनमाविमा शिक्षण पेशा सुरु गरेको हुँ । अहिले त शिक्षण पेशाबाट अवकाश लिइसकेको छु । मैले पोलटिकल साइन्समा एमए र इतिहास र पोलटिकल साइन्सबाट बीएडसम्मको अध्ययन गरेको छु । बाल्यकालमा जे बन्छु भनेँ त्यसै बाटोमा लागे शिक्षक बन्न सफल भएँ भन्ने लाग्छ । बाल्यकाल मेरो लागि गोल्डेन यज हो भन्ने लाग्छ । त्यति बेलाको शिक्षा नैतिक शिक्षा थियो । तर अहिलेको शिक्षा व्यवसायिक शिक्षा बढी छ तर नैतिक शिक्षा बिना नै । बाल्यकालमा जुन मैले नैतिक शिक्षा पाएँ । त्यसले जीवनमा सकारात्मक सुधार ल्यायो ।
प्रस्तुतीः मुना हमाल
प्रकाशित मितिः १९ कार्तिक २०७५, सोमबार १५:२०
साझा बिसौनी ।