संघको अधिवेशन मंसिरमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ कार्तिक ।
सुर्खेत उद्योग वाणिज्य संघको अधिवेशन आगामी मंसिर २९ गते हुने भएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको संघको विशेष साधारणसभाले आगामी मंसिर २९ गतेका दिन अधिवेशन गर्ने निर्णय गरेको हो ।
गत वैशाख २५ गतेका लागि तोकिएको अधिवेशन व्यवसायीहरूबीचको विवादका कारण स्थगित भएको थियो । संघको कार्यसमितिले आफू अनुकूल हुने गरी विधान संशोधन गरेपछि असन्तुष्ट व्यवसायीहरूले पटक–पटक संघमा तालाबन्दीसमेत गरेका थिए । व्यवसायीहरूबीच विवाद चुलिएपछि कर्णाली प्रदेशका मुख्यसचिव सहितको छलफलमार्फत् विधान संशोधनका लागि विशेष साधारणसभा गर्ने सहमति भएको थियो ।
उक्त सहमतिलाई कार्यान्वयन गर्दै शनिवार संघको विशेष साधारणसभा सम्पन्न गरिएको छ । उक्त साधारणसभाले विगतमा भएको सहमति अक्षरश कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
विधान संशोधनको प्रस्ताव विशेष सधारणसभाले सर्वसम्मत् रूपमा पारित गरेको छ । अब सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार बन्नका लागि विगतमा संघको कार्यसमिति सदस्य वा पदाधिकारी भएको हुनुपर्नेछ । यसअघि गरिएको संशोधनमा अध्यक्ष हुनका लागि एक कार्यकाल पदाधिकारी भएको हुनुपर्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै व्यवसायीहरूले आन्दोलन गरेका थिए ।
यसैगरी संघको पदाधिकारीका अन्य पदमा उम्मेदवार बन्नका लागि भने सबै साधारण सदस्यहरूले पाउने भएका छन् । यसअघि एक कार्यकाल संघको कार्यसमिति सदस्य भइसकेको व्यक्तिले मात्र पदाधिकारीमा उम्मेदवारी दिन पाउने व्यवस्था गरिएको थियो । व्यवसायीहरूले त्यसको पनि विरोध गरेका थिए । आफूहरूले राख्दै आएको माग अनुसार नै विधान संशोधनको निर्णय भएको व्यवसायी कलाधर उपाध्याय (केदार) ले बताए । उनले विधान संशोधन भएसँगै संघले सबै व्यवसायीहरूको मागलाई सम्बोधन गरेको जनाए । साथै उनले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीहरूको हितमा काम गर्ने साझा संस्थाको रूपमा स्थापित गर्नुपर्नेमा समेत जोड दिए ।
विशेष साधारणसभाले आगामी मंसिरमा हुने अधिवेशन सफल बनाउन निर्वाचन सहजीकरण समितिसमेत गठन गरेको छ ।
संघका महासचिव गोपालकृष्ण गिरीको संयोजकत्वमा कलाधर उपाध्याय (केदार), हर्षविक्रम खड्का, रामप्रसाद गौतम, मदनबहादुर खड्का र राजेश ढकाल सदस्य रहेको समिति गठन गरिएको हो ।

प्रकाशित मितिः   १८ कार्तिक २०७५, आईतवार १४:१४