‘सहकारीमार्फत् समृद्धि’

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ कार्तिक ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारीको माध्यमबाट कर्णालीको गरिबी अन्त्य गरिने बताएकी छन् । कर्णालीको गरिबी अन्त्यका लागि सहकारी आवश्यक रहेको मन्त्री केसीको भनाइ थियो ।


सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं साधारण सभाको शनिवार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मन्त्री केसीले कर्णालीको गरिबी सहकारीका माध्यमबाट अन्त्य गरिने बताएकी हुन् । कर्णालीको गरिबी अन्त्य गर्न सरकारले नमुनाका रूपमा एक जिल्लाको एक स्थानीय तहमा सहकारी नमुना गाउँ निर्माण गर्न १० करोड रकम विनियोजन गरिएको मन्त्री केसीले जानकारी दिइन् । सहकारीका माध्यमबाट कर्णालीको समृद्धि सम्भव रहेकोले कर्णालीका सहकारीहरूले गरिबी अन्त्यका लागि ग्रामीण क्षेत्रमा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘कर्णालीको गरिबी हटाउन सहकारी अभियान सञ्चालन गर्नुपर्छ, सहकारीको जगमा कर्णालीको आर्थिक रूपान्तरणको बाटो अगाडि बढ्छ ।’ प्रदेश सरकारले अबदेखि किसानलाई प्रोत्साहन गर्न उत्पादक नायक र नायिका घोषणा गर्ने उनले बताइन् ।
किसानलाई हौसला प्रदान गर्न उनीहरूले गरेको उत्पादनका आधारमा प्रोत्साहन अनुदानको व्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिइन् । कर्णाली प्रदेश अर्गानिक प्रदेश बनाउन आधार निर्माणको लागि किसानलाई उत्पादनका आधारमा प्रोत्साहन अनुदान वितरण गरिने केसीको भनाइ छ । श्रमलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने भएकोले सरकारले यस्तो कार्यक्रम ल्याएको मन्त्री केसीले जानकारी दिइन् । कार्यक्रममा बोल्दै मन्त्री केसीले कर्णालीका सहकारीहरूले आर्थिक, सामाजिक विकासका लागि सहकारी अभियान सञ्चालन गरी जनचेतनामूलक कार्यक्रम अगाडि बढाउनुपर्ने बताइन् ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तीले मन, भावना र व्यवहार मिलेकाहरूको संगठन नै सहकारी भएकाले सहकारीको माध्यमबाट समाजको आमूल परिवर्तन गर्न सकिने बताइन् । अबका दिनमा सहकारीले वित्तीय कामलाई भन्दा पनि उत्पादनमूलक कामलाई प्राथमिकता दिनुपर्ने बताइन् । सहकारीको आर्थिक वर्ष २०७४÷०७५ मा डेढ अर्ब बराबरको आर्थिक कारोबार भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः   १८ कार्तिक २०७५, आईतवार १४:१४