हचुवामा संसद बैठक आव्हान

साझा बिसौनी संवाददाता
सुर्खेत, १६ कार्तिक ।
गत बुधवारको संसद बैठक समापन गर्दै सभामुख राजबहादुर शाहीले शुक्रवार दिउँसो १ बजेका लागि अर्को बैठक आव्हान गरे । बुधवारको बैठकमा पेश गरिएको कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूका साथै प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने गरी सभामुखले शुक्रवारका लागि बैठक आव्हान गरेका थिए । तर प्राविधिक कारण देखाउँदै शुक्रवारको बैठक भने सूचना टाँसेर स्थगित गरिएको छ ।


प्राविधिक कारण भनिए पनि संसद सचिवालयले हचुवाका भरमा शुक्रवारका लागि बैठकको मिति तय गरेको पाइएको छ । जसका कारण अन्तिम समयमा सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
बुधवारको बैठकबाट सभामुख शाहीले मुख्यमन्त्री तथा मन्त्रीहरूका साथै प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनको सूचना पेश गर्नका लागि ७२ घण्टाको समय दिएका थिए । उक्त समयावधि १७ गते मात्र सकिन्छ । तर विधेयकमाथिको संशोधनको सूचना पेश गर्नका लागि दिइएको समयावधिको ख्याल नगरी संसद सचिवालयले शुक्रवारका लागि मिति तय गरेको थियो । जसले गर्दा बैठक बस्न सकेन ।
विगतमा सरकारले विजनेश दिन नसक्दा पटक–पटक स्थगित हुँदै आएको प्रदेश सभा बैठक यस पटक प्राविधिक कारण देखाउँदै स्थगित भएको हो । आवश्यक तयारी विना हचुवाका भरमा बैठक आव्हान गरेपछि प्राविधिक कारण देखाउँदै सचिवालयले तीन घण्टा अगाडि स्थगित भएको सूचना टाँस गरेको थियो । जसले गर्दा दोस्रो अधिवेशनको ४१ औं बैठक दुई दिन पछि सारिएको हो ।
सभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलको अवरोध नभइ प्रदेश सभा सचिवालयको कमजोरीका कारण शुक्रवारको बैठक बस्न नसकेको हो । विधेयक माथिको संशोधनका लागि तोकिएको समय अवधि नसकिएकाले सभा स्थगित भएको सभामुख राजबहादुर शाहीले बताए । ‘अनुमानका भरमा विधेयकमाथि संशोधनका लागि समयावधि तोकिएको थियो’ उनले भने, ‘७२ घण्टा नपुगेकाले बैठक स्थगित गरिएको हो ।’
विपक्षीका माग पूरा भएपछि निरन्तर सञ्चालन हुनुपर्ने सभा सचिवालयको लापरबाहीका कारण सरेको हो । बैठक सरेपछि प्रदेशका मुख्यमन्त्री तथा पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ माथि छलफल गर्ने कार्यतालिका प्रभावित भयो । कर्णाली प्रदेश सभाको अपरिपक्वताका कारण संसद बैठक स्थगित भएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले बताए । ‘संसद सचिवालयले प्राविधिक कारण भएको सूचना टाँस गरी सभा सारेको छ’ उनले भने, ‘विधेयकमाथि संशोधन आवश्यक नै थिएन । तर, सभामुखले समय छुट्याउनुभयो । सामान्य छलफलबाटै पास हुने एजेण्डा सभामा थिए ।’ सचिवालयको लापरबाहीका कारण शुक्रवारको सभा स्थगित भएको उनको भनाइ छ ।
कर्णाली प्रदेश सचिवालयका सचिव दिनेश भट्टले बैठक प्राविधिक कारणले स्थगित भएको दाबी गरे । ‘१४ गतेको सभाबाट १६ गतेका लागि बैठक आव्हान गरिएको थियो’ उनले भने, ‘विधेयकमाथिको संशोधन प्रस्तावको समयावधि र अन्य केही कारणले स्थगित भएको होला ।’ उनले प्रदेश सभा स्थगितबारे ठोस कारण भने देखाएनन् । सचिवालयले टाँस गरेको सूचना अनुसार आगामी आइतवार दिउँसो ३ बजेका लागि अर्को बैठक आव्हान गरिएको छ । आगामी आइतवारको बैठकबाट कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने तयारी गरिएको छ । शुक्रवारसम्म संशोधन सूची पेश गर्नका लागि समय दिइएका दुवै विधेयकमाथि कुनै संशोधन परेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै संशोधन नहाल्ने जनाइसकेको छ । सत्तापक्षीय सांसदहरूबाट पनि संशोधन नपरेमा उक्त दुवै विधेयक सर्वसम्मत् रूपमा पारित हुनेछ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७५, शनिबार १४:०९