पढ्दै पढाउँदै
गुराँस गाउँपालिका–६ रेग दैलेखका दानबहादुर खत्री घरका कान्छा छोरा हुन् । बुबा नैनबहादुर खत्री र आमा सशीला खत्रीको कोखबाट वि.सं. २०४९ चैत्र ७ गते उनको जन्म भएको हो । दैलेखको विकट क्षेत्रमा जन्मिएका दानबहादुर पढाइमा मध्यम थिए । चञ्चल स्वभावका दान विद्यालय लाईफदेखि कलेज लाईफसम्म साथीहरुको प्रिय भइ राखे । औपचारिक रुपमा जुन विषय पढे पनि भविष्यमा समाजसेवी बन्ने लक्ष्य बोकेका दानबहादुरका बुबा–आमाले भने उनलाई कृषि जेटीए पढाउन चाहन्थे । वि.सं. २०६५ सालमा एसएलसी पास गरेका उनलाई भने कलेज पढ्दा कम्प्युटर पढ्ने ईच्छा थियो । तर व्यवस्थापन विषय लिएर पढे । विद्यार्थी जीवनमा राजनीतिक दलका कार्यक्रमहरुमा खुब सक्रियता देखाउने दानबहादुरले राजनीति सबैले जान्नैपर्ने विषय भएको बताउँछन् । उनै दानबहादुरले आफ्नो कलेज लाईफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाएः
म गाउँको सम्पन्न परिवारमा जन्मिएको मान्छे । कुनै किसिमको दुःख झेल्नु परेन । बुबा–आमाले कृषि गर्ने भएको भएर होला उहाँहरूले मलाई कृषि जेटीए पढाउन चाहानुहुन्थ्यो । तर मेरो भने एसएलसी पास गरिसकेपछि कम्प्युटर पढ्ने ठूलो चाहाना थियो ।
वि.सं. २०६५ सालमा एसएलसी पास गरेपछि श्री अमरज्योति नमुना माध्यमिक विद्यालय नेवारे चनौटेमा व्यवस्थापन विषय लिएर पढें । मेरो र बुबा–आमाको चाहनाभन्दा फरक विषय मैले पढें । त्यो कुनै कारणले थिएन तर त्यस्तै हुन पुग्यो ।
मेरो कलेजको पहिलो दिन सुखद् रहेन । गाउँबाट भर्खरै झरेको थिएँ । नयाँ ठाउँ र नयाँ परिवेशमा घुलमिल हुन समय लाग्छ । त्यसैले पहिलो दिन एकदमै नरमाइलो महसुस पनि भयो । हुन त मेरो बुबाको सुर्खेतमा प्रशस्त जग्गा थियो । उहाँ जमिन्दार नै हो तर हाम्रो बसाइँ भने गाउँमै भएको कारण यहाँको वातावरण र हावापानी सबै नौलो लाग्यो । जब म कक्षा कोठामो छिरें नबोली बस्नै सकिनँ र कलेजको पहिलो दिनमै साथीहरू धेरै बनाएँ । त्यसपछि भने मेरो निराशा उत्साहमा बदलियो । कलेजबाट फर्किंदा पनि रमाइलो महसुस भयो ।
नयाँ ठाउँ कलेजको अनुभव त्यसमा पनि नयाँ साथीहरू कलेज लाईफ एकदमै रमाइलोसँग बित्न थाल्यो । कलेजको पढाइ र विद्यालयको पढाइमा त धेरै फरक छ । विद्यालयमा जसरी शिक्षकहरूले निगरानी राख्नुहुन्छ र बुबा आमाले पनि त्यो कलेज लाईफमा आएपछि बदलिने रहेछ । तर त्यसमा कस्तो खालको बाटो रोज्ने र जीवन कस्तो बनाउने भन्ने कुरा विद्यार्थीको हातमा हुन्छ । जब विद्यार्थीले पिंजडाको पन्छी स्वतन्त्र भएको जस्तै आफूलाई पनि स्वतन्त्र भएको महसुस गर्छ नि त्यसपछि त्यो विद्यार्थीको जीवन बर्बादीतिर धकेलिन्छ । कलेज लाईफ शिक्षक र अभिभावकको निगरानी नभए आफू स्वयम् अभिभावक र शिक्षक बन्नु जरुरी छ । तब मात्रै उद्देश्य अनुसार विद्यार्थी सफल हुन्छ । मलाई लाईफको सबैभन्दा मनपर्ने पक्ष भनेको नै स्वतन्त्रता हो तर त्यो स्वतन्त्रतालाई मैले कहिल्यै पनि दुरूपयोग गरेको छैन र गर्ने पनि छैन । कलेज लाईफको नराम्रो पक्ष भनेको खासै भेटेको छैन । तर त्यही स्वतन्त्रतालाई प्रयोग गर्न जानिएन भने थुप्रै बुबाआमाको सपना माटोमा बिलिन हुने खतरा हुन्छ ।
म चञ्चल स्वभावको थिएँ सानैदेखि । कलेज लाईफमा मोजमस्ती पनि खुबै गरियो । साथीहरूसँग जिस्किने र रमाउने गरियो । कलेज लाईफमा क्लास बंक खासै गरिएन र फिल्म पनि बिदाको समयमा मात्रै हेर्ने गर्थें ।
प्रेम भनेको दुई आत्मामको मिलन हो । मैले कलेज लाईफमा हाइहेल्लो बाहेक प्रेम भने कसैलाई गरिनँ । मलाई राजनीतिमा पनि उत्तिकै रुची छ । अहिलेसम्म कुनै पद र प्रतिष्ठामा त छैन तर पनि राजनीतिक दलका प्रायः कार्यक्रममा मेरो सहभागिता कलेज लाईफदेखि आजसम्म पनि उत्तिकै रूपमा हुन्छन् । वास्तवमा राजनीति सबैले बुझ्नुपर्ने विषय पनि हो । म अहिले जुम्ला मल्टिपल कलेजमा स्नानकोत्तर तेस्रो वषमा ईतिहास विषय लिएर पढ्दैछु । किनभने सुर्खेतको मान्छे जुम्ला कसरी गयो भन्ने होला । प्लस टू सुर्खेतबाट गरे पनि म पेसाले शिक्षक हुँ त्यसैले पढाउँदै पढ्दै गरेको छु । मेरो भविष्यको लक्ष्य भनेको समाज सेवा नै हो । मलाई सानैदेखि समाज सेवा खुब मनपथ्र्यो त्यसैले भविष्यमा जुनुसुकै क्षेत्रबाट भए पनि समाज सेवा मेरो उद्देश्य हो ।
साझा बिसौनी ।