जुवाखालबाट तेह्र जना पक्राउ

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ कार्तिक ।
लेकवेशी नगरपालिका–४ दशरथपुरबाट प्रहरीले १३ जना जुवाडे पक्राउ गरेको छ । जुवातास खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले बिहीवार नगदसहित १३ जनालाई पक्राउ गरेको हो ।
जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरूबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एक लाख ८० हजार नगद पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधु न्यौपानेले जानकारी दिए । उनका अनुसार लेकवेशी नगरपालिका–३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेश वली, अनुव बस्नेत, विनोद शाही, अमर थापा, ललित सुनार, छवि पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की पक्राउ परेका छन् ।
पक्राउ परेका १३ जनामाथि आवश्यक कारबाहीका लागि प्रहरीको निगरानीमा राखिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरेले चाडपर्वका बेला हुने जुवातास, झै–झगडा, चोरी डकैती लगायतका आपराधिक गतिविधिविरुद्ध प्रहरी सशक्त भएर लागेको बताए । अन्य समयभन्दा चाडपर्वका बेला धेरै आपराधिक गतिविधि हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७५, शुक्रबार १६:२४