चोरीको काठले ज्यान गयो

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ कार्तिक ।
मध्यारातमा काठ चोरी गरेर ल्याउँदा काठले च्यापिएर एक जनाकोे मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–७ को रानीवन सामुदायिक वनबाट मध्यरातमा काठ चोरी गरी ल्याउने क्रममा काँधमा बोकेको काठले च्यापिएर स्थानीय २५ वर्षका मिम बेगारको मृत्यु भएको हो ।
घर निर्माण गर्दा आवश्यक काठ लुकिछिपी ल्याउन बुधवार राती स्थानीय आठ जना युवा जंगलमा छिरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधु न्यौपानेले बताए । उनका अनुसार रुख काटेर ल्याउँदै गर्दा बाटोमा भाग्ने क्रममा आठजनाले बोकेको काठ छोडेका थिए । आठ जनाले बोकेको गह्रौं काठ बेगारको काँधमा पर्दा घाँटी थिचिएर घटनास्थलमै उनको ज्यान गएको प्रहरीले बताएको छ ।
प्रहरीले जानकारी पाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका अन्यलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय सुर्खेतमा बुझाइने प्रहरी निरीक्षक न्यौपानेको भनाइ छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७५, शुक्रबार १६:२३