संसदीय दलमा पनि सरकारको आलोचना

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी(ने क पा)को संसदीय दलको वैठकमा पनि सरकारको चर्को आलोचना भएको छ । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले  मन्त्रीहरुको आलोचना गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेट सन्तुलित नभएको गुनासो सांसदहरूले गरेका छन् । संसदीय दलको बैठकमा सत्तापक्षकै सांसदहरूले सरकारले ल्याएको बजेट र कार्यक्रमको विरोध गरेका हुन् ।

बिहीवार बसेको  संसदीय दलको बैठकमा नेकपाका सांसदहरूले  सरकारले ल्याएको बजेट, कार्यक्रम र मन्त्रीहरुको कार्यशैलीप्रति आफ्ना धारणा राखेका थिए । सांसद गुलाबजंग शाहले विषयगत मन्त्रालयले विनियोजन गरेको बजेट सन्तुलित नभइ मन्त्रीहरूले आफू अनुकूल बनाएको बताए । मन्त्रीहरूले बजेट निर्माणमा भएको कमजोरीबारे आत्मालोचना र समीक्षा गर्नुपर्ने धारणा उनले राखेका थिए ।

सांसद करविर शाहीले बजेट र कार्यक्रमले सबै क्षेत्रलाई समेट्न नसकेको गुनासो गरे । बजेटमाथि मन्त्रीहरूकै हालिमुहाली भएको उनको आरोप छ ।
प्रदेश सरकारले ल्याएको बजेटले सांसदहरूको भावनालाई समेट्न नसकेको सांसद ठम्मर विष्टले बताए । उनले बजेट कार्यान्वयनमा चुनौती देखिएको जनाए । बैठकमा सांसदहरूले सरकारले बजेट विनियोजनमा मनोमानी गरेको आरोप लगाएका छन् । सरकारले रातो किताब उपलब्ध गराएपछि सत्ता पक्षकै सांसदहरूले बजेटको विरोध गरेका हुन् । बैठकमा संसदीय दलको नेता चयन र बजेटबारे छलफल भएको सांसद विष्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नमाथि मुख्यमन्त्री र विषयगत मन्त्रीहरूले आज (शुक्रवार) बिहान जवाफ दिनेछन् ।

प्रकाशित मितिः   १६ कार्तिक २०७५, शुक्रबार १६:२४