राउटे बालबालिकाले खाए भिटामिन

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ कार्तिक ।
राउटे समुदायका बाल–बालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–९ गंगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै पुगेर भिटामिन र जुकाको औषधि खुवाइएको हो ।
सरकारले अभियानको रूपमा खुवाँउदै आएको औषधि यस वर्ष राउटे समुदायका बालबालिकालाई पनि खुवाइएको हो । वर्षमा दुई पटक सञ्चालन हुने अभियान अन्तर्गत दोस्रो चरणमा राउटे समुदायमा सञ्चालन गरिएको थियो । अभियानका क्रममा ६ महिनादेखि पाँच वर्षसम्मका ३५ जना बालबालिकालाई पहिलो पटक भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो ।
सरकारी अभियानको पहिलो दिन राउटे समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरित भएको भन्दै खान मानेका थिएनन् । स्थानीय तह, स्वास्थ्यचौकी र चिकित्सकहरूको पहलमा दोस्रो दिन भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको राउटे समुदायको नागरिकको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले बताए । यस अघिका वर्षहरूमा राउटे समुदायले भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउँदैन थिए । जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरू अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेसँगै बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउन सहज भएको हो ।
राउटेहरूले पछिल्लो समयमा सरसफाइप्रति ध्यान दिन थालेका छन् । ४१ घरपरिवारमा कूल एक सय ४८ जनाको बसोबास छ । जसमध्ये ७४ जना बालबालिका छन् । मेडिकलमा औषधि उपचार गराउन आउने राउटेले उपचारका लागि बस्तीमै डाक्टरहरू पुगेपछि औषधि खाएका हुन् । रोगी हुँदा मात्रै नभइ रोगबाट बच्नका लागि बालबालिकालाई औषधि खुवाइएको मुखिया डिलबहादुर शाहीले बताए । राउटेहरू सरसफाइमा ध्यान नदिने भएकाले रोगको संक्रमण फैलिने र जनसंख्या घट्दो क्रममा छ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७५, शुक्रबार १६:२२