‘महिला शक्ति देखाउने मालिका’

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ कार्तिक ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चलचित्र ‘मालिका’ले महिलाहरूको शक्ति देखाउने बताएका छन् । चलचित्र ‘मालिका’ महिला सशक्तीकरणको वैचारिक हतियार भएको उनको जिकिर थियो ।
बिहीवार सुर्खेतको वीरेन्द्रनगरस्थित लक्ष्मी चलचित्र मन्दिरमा चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले मानसिक रूपमा कमजोर मनस्थितिले बाँचेका नारीहरूका लागि अझै सशक्त बनाउने हतियार भएको बताए । ‘हिजोको पुरुषप्रधान समाजले महिलाप्रति हेर्ने दृष्टिकोणले समाज रूपान्तरणका लागि निकै चुनौती बन्यो’ मुख्यमन्त्री शाहीले भने, ‘क्षमता अथाह छ तर, मानसिक हिसाबले उनीहरू कमजोर छन् । फिल्मले कुना–कन्धरामा रहेका, कमजोर छौं भनेर पछि परेका नारीहरू सशक्त छन् भन्ने सन्देश दिएको छ ।’
मालिका अन्य फिल्म भन्दा पृथक रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । ‘यो फिल्मले नारी पनि पुरुष समान सक्षम र अब्बल छन् भन्ने सन्देश दिएको छ’ उनले भने, ‘कर्णाालीको कथालाई फिल्मले चित्रण गरेको छ । नारीहरूलाई सशक्त बनाउन र सबै हिंसा न्यूनीकरणका लागि चलचित्रले विशेष सन्देश दिन्छ ।’
रेखा थापाको निर्माण तथा अभिनय रहेको मालिकामा जाजरकोटकी कमला ओलीले पनि मुख्य भूमिका निर्वाह गरेकी छन् । फिल्मको छायांकन जाजरकोटसहित काठमाडौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ । नरबहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि उनले नै लेखेका हुन् ।
शिवम् अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन् । यस्तै फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ । फिल्म आज (शुक्रवार) देखि देशभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदैछ ।

प्रकाशित मितिः   १६ कार्तिक २०७५, शुक्रबार १६:२०