पर्यटन वर्षको खर्च विवरण पेश

सुर्खेत, १४ कार्तिक । (साबिस)
कर्णाली प्रदेश सरकारले सार्वजनिक लेखा समितिलाई खर्च विवरण बुझाएको छ । समितिले दिएको समय सीमा भन्दा एक सातापछि सरकारले गत आव र कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनको खर्च विवरण पेश गरेको हो । असोज २४ गते बसेको समितिको चौथो बैठकले खर्च विवरण बुझाउन १५ दिने अल्टिमेटम दिएको थियो ।
बुधवार बसेको समितिको पाँचौं बैठकमा सरकारका सबै मन्त्रालयले गत आर्थिक वर्षको खर्च विवरण, चालु आर्थिक वर्षको योजना र बजेट तथा कर्णाली पर्यटन वर्षको खर्च विवरण पेश गरेका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले पेश गरेको विवरण अनुसार मन्त्रालयले आर्थिक वर्ष २०७४÷०७५ मा अन्य मन्त्रालयको तुलनामा बढी खर्च गरेको छ । मन्त्रालयले गत आवमा १० करोड सात लाख कूल बजेटमध्ये ६७ प्रतिशत चालु र ६४ प्रतिशत पूँजीगत बजेट खर्चिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कानुन निर्माणको प्रक्रियामा सरकारले तीव्रता दिएको बताए । उनले गत आवमा खर्च गर्न मन्त्रालयले नसकेको बताए । प्रदेश सरकारले गत वैशाख १ गते उद्घाटन गरेको कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनमा ७८ लाख रूपैयाँ खर्चिएको छ ।
पर्यटन वर्ष उद्घाटनमा ७८ लाख १६ हजार रूपैयाँ खर्च भएको छ । कार्यक्रम उद्घाटन स्थलसम्म अतिथिहरू पु¥याउनका लागि १० लाख रूपैयाँ खर्च
भएको छ । हवाई यातायातमा नौ लाख र गाडी बुकिङ्गमा एक लाख रूपैयाँ खर्च भएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयले १० लाख ११ हजार रूपैयाँ खर्च गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८ लाख ८५ हजार रूपैयाँ खर्चिएको छ । मन्त्री विमला केसीको संयोजकत्वमा गठित समितिले अतिथिहरूका लागि आवास र खाना खर्च व्यवस्थापनमा उक्त बजेट खर्चिएको हो ।
कार्यक्रमको उद्घाटनमा मुगु जिल्ला समन्वय समितिले सात लाख रूपैयाँ खर्च गरेको छ । कानुन मन्त्रालयले चार लाख ६२ हजार र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ लाख ५८ हजार रूपैयाँ खर्चिएको विवरण मन्त्री बुढाले लेखा समितिमा पेश गरेका छन् । विषयगत समितिबाट आएको खर्च विवरण र बिलका आधारमा मन्त्रालयको खातामा रकम निकासा भइसकेको उनले बताए ।

प्रकाशित मितिः   १५ कार्तिक २०७५, बिहीबार १५:२१