पूर्वाधार विकास कार्यालय स्थापना

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ कार्तिक ।
कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले तीन जिल्ला हेर्नेगरी सुर्खेतमा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । साविकको जलउत्पन्न प्रकोप नियन्त्रण सव–डिभिजन कार्यालयमा सो कार्यालय बुधवार मन्त्रालयले स्थापना गरेको हो ।
कार्यालयको भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा बोल्दै मन्त्री खत्रीले प्रदेशका सडकहरूको विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालय स्थापनासँगै जनतालाई विकासको अनुभूत गराउन सडक, झोलुङ्गे र मोटरेवल पुल निर्माणमा सहजता हुनेमा बताए । प्रदेशका बाँकी तीन जिल्लाहरूमा कार्यालय स्थापना गर्न मन्त्रालय जुटेको मन्त्री खत्रीले जानकारी दिए । बाँकी कार्यालयहरू तिहार लगत्तै स्थापना हुने मन्त्री खत्रीको भनाइ छ । सुर्खेत केन्द्र भएको कार्यालयले सल्यान र दैलेख जिल्लाका सडक, झोलुङ्गे र मोटरेवल पुलहरू हेर्नेछ ।
कार्यालय स्थापनासँगै डिभिजनल इन्जिनियर कमल अधिकारीसहित १८ जना कर्मचारीको दरबन्दी कायम
भएको छ । कार्यालयमा इन्जिनियर, ६ जना सव–इन्जिनियर, एक जना ल्याब प्राविधिकसहितका कर्मचारी रहेको डीइ अधिकारीले जानकारी दिए ।
मन्त्रालयले रुकुमपश्चिम, जुम्ला र हुम्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने तयारीमा छ । रुकुमपश्चिमले जाजरकोट र डोल्पा, जुम्लाले कालिकोट र मुगु हेर्नेछ । बुधवार नै मन्त्रालयले सुर्खेतमै खानेपानी कार्यालयको स्थापना गरेको छ । यी कार्यालयहरू जुम्ला र रुकुम पश्चिममा समेत स्थापना हुनेछन् । यस्तै, मन्त्रालय मातहतमै रहने गरी प्रदेशका सुर्खेत, जुम्ला र जाजरकोटमा भवन कार्यालय स्थापनामा मन्त्रालय जुटेको छ ।

प्रकाशित मितिः   १५ कार्तिक २०७५, बिहीबार १५:१९