हिंसाविरुद्ध स्कुले बालिका

साझा बिसौनी संवाददाता
दैलेख, १३ कार्तिक ।
विभिन्न समयमा बालिकाहरू यौन दुव्र्यवहार र बलात्कार लगायतका हिंसाको सिकार भइरहेका बेला दैलेखका बालिकाहरू यौन दुव्र्यवहार र बलात्कारविरुद्ध अभियानमा जुटेका छन् । यहाँको नारायण नगरपालिका स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाहरू यौन दुव्र्यवहारविरुद्ध एकताबद्ध भएर अभियानमा जुटेका हुन् । दैलेखमा सञ्चालन भएको बालिका बचाऊ अभियानले उक्त विद्यालयमा गरेको कार्यक्रममा उनीहरूले बालिका बचाऊ विद्यालय समन्वय समितिसमेत गठन गरेर एकताबद्ध भएका हुन् । ६ देखि १० कक्षासम्म अध्ययनरत बालिकाहरूले सात सदस्यीय समिति गठन गरेका छन् । उनीहरूले आफ्नो समुदाय र विद्यालयमा बालिकामाथि हुने हिंसाजन्य घटनाहरू न्यूनीकरणका लागि काम गर्ने बालिका बचाऊ अभियान दैलेखका संयोजक सजना सुनारले जानकारी दिइन् । बालिका बचाऊ अभियान दैलेखले उक्त विद्यालयमा आयोजना गरेको कार्यक्रममा बालिकाहरू जोखिमका कारण, कस्तो अवस्थामा बालिका जोखिममा पर्दछन्, जोखिमबाट कसरी बच्ने, बालिकालाई कुनै पनि माध्यमबाट आक्रमण हुन खोजेमा बच्ने उपायबारे प्रशिक्षण दिइएको छ ।
बालिका तथा विद्यालयका शिक्षकहरूलाई यौन दुव्र्यवहार र बलात्कारका घटनामा हुने कानुनी कारबाहीबारे अधिवक्ता सर्वराज जोशीले जानकारी गराएका थिए । सम्भावित यौन हिंसा तथा बलात्कारबाट बच्न कराँते प्रशिक्षक खगेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः   १४ कार्तिक २०७५, बुधबार १५:३४