लोप हुँदै कोल

जगतदल जनाला बिक
पञ्चपुरी, १३ कार्तिक ।
प्रविधिको विकास क्रमसँगै सुर्खेतमा परम्परागत कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा पनि मिलको पहुँच बढ्दै जानु तथा विद्युत मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् ।


पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको चौकुने गाउँपालिका–२ का स्थानीय मोती सिंह बोहोरा बताउँछन् । तोरी लगायत तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी, जंगलमा पाइने तेलजन्य बोटको लोप तथा बजारमा तेल प्याकिङ्ग गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ्ग गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएको पञ्चपुरी नगरपालिका–९ का स्थानीय तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षाशास्त्र संकायका उपप्राध्यापक तारा पौडेलले बताए ।
पश्चिम सुर्खेतमा सयौंको संख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका पुराना वस्तु विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागि बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको पञ्चपुरी नगरपालिका–६ का नारु कामीको भनाइ छ । ‘पहिला तोरी पेल्न कोलमा दिनभर समय लाग्थ्यो’ उनले भनिन्, ‘अलि–अलि तोरी भए पनि अहिलेका आधुनिक मिलमा १०–१५ मिनेटमै छिटो छरितो काम हुन थालेको छ त्यसैले पनि कोल लोप हुँदै गए ।’
करिब एक दशक अगाडि पश्चिम सुर्खेत लगायत जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देखिन मुस्किल भएको छ । आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम प्रयोग गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ ।
बजारको प्याकिङ्ग तेल र बारीमै उत्पादन गरिने तोरीको तेलको फाइदाका बारेमा जनचेतना जगाइ च्यूरी लगायत तेलजन्य बोटहरूको संरक्षण तथा रोपण गरी अर्गानिक वस्तुको महŒवबारे जनचेतना फैलाउन सके कोल प्रयोगमा ल्याउन सकिने स्थानीय जानकारहरूले बताएका छन् ।

प्रकाशित मितिः   १४ कार्तिक २०७५, बुधबार १५:३२