वेटरदेखि मालिकसम्म

वि.सं. २०४० साल वैशाख २७ गते बुबा सिंहबहादुर सिंह र आमा पञ्चकला सिंहको कोखबाट जन्मिएका जनक सिंह ठकुरी घरका कान्छा छोरा हुन् । कालिकोटको महावै गाउँपालिका–४ मा जन्मिएका जनकको बालापन वडो संघर्षमय तरिकाले बित्यो । बुबा–आमाले कृषि गरेरै जनक र उनका दाई कमलकुमार सिंहलाई माध्यमिक तह पढाए । वि.सं. २०५६ सालमा जनकले एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनको लागि नारायण क्याम्पस दैलेखमा पुगे ।


कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा समस्या आइप¥यो । पढ्नको लागि आर्थिक अभाव भएपछि कमाउनको लागि जनक भारत पुगे । भारतमा करिब आठ वर्ष वेटरको रूपमा काम गरे । वेटरदेखि एचआरसम्मको काम गरेका जनकले भारतमै बसेर करिब चार वर्षसम्म आफ्नै रेष्टुरेण्टसमेत सञ्चालन गरे । वि.सं. २०५७ सालमा भारत पसेका जनक वि.सं. २०६९ सालमा नेपाल फर्किएका हुन् । जीवनमा पैसाको लागि भन्दा गरीबको घरमा चुलो बाल्नको लागि व्यवसाय सञ्चालन गरेको बताउने युवा व्यवसायी जनकसिंह ठकुरीले हाल वीरेन्द्रनगरको बुलबुले नजिक ‘होटेल बुलबुले भ्यू’ सञ्चालन गरेका छन् । संघर्ष नै जीवनको सफलताको राज बताउने होटेल व्यवसायी जनकले आफ्नो पेसागत जीवनको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी खोलेः

हामी तीन भाइ र एक बहिनी थियौं । दिदी र जेठो दाइ गाउँमै हुनुहुन्छ । माइलो दाइ कमलकुमार सिंह र मैले पढ्नको लागि ठूलो संघर्ष गरेको हौं । मैले होटेल क्षेत्रकै बी.एच.एम (ब्याचुलर अफ होटेल म्यानेजमेन्ट) पास गरेको छु ।
वि.सं. २०५६ सालमा कालिकोटको पोखराचौर माध्यमिक विद्यालय डिल्लीकोटबाट एसएलसी पास गरेर उच्च शिक्षाको लागि दैलेखको नारायण क्याम्पसमा पुगें । त्यसपछि झनै संघर्षका दिन सुरु भए । मेरो परिवार एकदमै न्यून आर्थिक अवस्थाको थियो । बुबा–आमाले कृषि पेसा गर्नुहुन्थ्यो । घरमा पैसा आउने कुनै ठाउँ थिएन । बुबा–आमाले अन्न तथा पाठाबाख्रा बेचेरै मेरो पढाइ खर्च दिनुहुन्थ्यो । मेरो बालापन यति संघर्षमय तरिकाले बित्यो कि बिहान चार बजे उठेर घाँस–दाउरा गरिसकेपछि दुई घण्टा हिँडेर विद्यालय पुग्थें ।
त्यति मात्रै होइन खेतीबालीको लागि रातभरी मल बोकेर बिहान पढ्न जानुपथ्र्यो । आमा–बुबाले एक्लैले खेतीपातीको काम गर्न सम्भव पनि थिएन, त्यसैले आमा–बुबालाई सघाएर मात्रै विद्यालय पढ्नको लागि जानुपथ्र्यो । मेरो दाइ कमलकुमार सिंह अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा उपप्राध्यापक हुनुहुन्छ । उहाँ र म विद्यालयबाट फर्किएपछि गृहकार्य गरेर रातभरी खेतीपातीको काम गथ्र्यौं । आमा–बुबाले खेतीकिसान गरेरै पढाउनुभएको हो ।
वि.सं. २०५७ सालमा नायारण क्याम्पस दैलेखमा प्लस टू पढ्दापढ्दै म आर्थिक अभावकै कारण भारत पस्न बाध्य भएँ । हामी दुईभाईले यतिसम्म गथ्र्यौं कि कालिकोटबाट दैलेख आउँदा बाटोबाट दाउरा खोजेर ल्याइ मकैको पिठो पकाएर खान्थ्यौं । दाई र मैले अत्यन्तै संघर्ष गर्दा–गर्दै पनि केही सीप नलाएर म भारतको गुजरात गएको हुँ । त्यहाँ गएर मैले होटेलमा वेयटरको काम सुरु गरें ।
करिब आठ वर्षजति मैले होटेलमा वेयटरदेखि सुरु गरेर सबै डिपार्टमेन्टमा काम गरें । वेयटर, क्याप्टेन, म्यानेजर एफएमबीदेखी एचआरसम्म भएँ । करिब आठ वर्षजति अरुको होटेलमा काम गरिसकेपछि मैले गुजरातमै आफ्नै रेष्टुरेन्ट सञ्चालन गरें । करिब दुईलाख पचास हजार जति महिनाको भाडा दिन्थें र पचास जना जतिलाई रोजगारी दिएको थिएँ ।
करिब चार वर्षजति भारतमा रेष्टुरेण्ट सञ्चालन गरेपछि वि.सं. २०६९ सालमा नेपाल फर्किएको हुँ । घरपरिवारबाट गरेको आग्रह र आफ्नै देशमा केही गर्ने उद्देश्यले म भारत छोडेर नेपाल आएको हुँ ।
नेपाल आएपछि पनि मैले त्यसै बस्न सकिनँ र वीरेन्द्रनगर–८ क्याम्पस रोडमा एड्भान्स बुक्स एण्ड अर्डर सप्लायर्स सञ्चालन गरें । हाल वीरेन्द्रनगर–६ जनउच्च माध्यमिक विद्यालय अगाडि त्यो पुस्तक पसल रहेको छ । व्यवसाय गर्दागर्दै राजनीतितिर पनि म समावेश भएँ । हाल म राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कर्णाली प्रदेश सचिवको रूपमा काम गरिरहेको छु ।
मैले होटेल सञ्चालनका लागि प्रेरणा खास कसैबाट पाएको होइन । मेरो जीवन नै यसैमा समर्पित भएपछि मैले यही क्षेत्रबाटै केही गर्नुपर्छ भन्ने लागेर यो कामको सुरुवात गरेको हुँ । मेरा हरेक दुःख सुखमा साथ दिने मेरी जीवन संगीनी सुर्जा खत्री र मेरो दाई कमलकुमार सिंह नै हुनुहुन्छ । त्यसमा मेरी आमाको आशीर्वाद त छँदैछ । पैसा कमाउनको लागि भन्दा पनि मैले कसैलाई रोजगारी दिनको लागि यो व्यवसाय सञ्चालन गरेको हुँ । प्लस टू पढ्दा आफ्नो जीवनको गरिबी र बेरोजगारीका कारण भारत पस्नुपरेको पीडा मेरो मनमा आज पनि छ । त्यसैले मेरो यो होटेल व्यवसाय पैसा भन्दा कम्तीमा पनि २०÷२५ जनालाई रोजगार दिएर उनीहरूको घरमा चुलो बाल्ने र उनीहरूको मनको ईच्छा पूरा गर्नको लागि हो ।
मेरो कारणले गर्दा कसैको घरमा चुलो बल्छ भने किन व्यवसाय नगर्ने भनेर मैले भर्खरै मात्रै करिब चार करोडको लगानीमा होटेल बुलबुले भ्यू सञ्चालनमा ल्याएको छु । यसबाट कर्णालीको पर्यटन प्रवद्र्धन समेत हुन्छ भन्ने आशा राखेको छु । मेरो परिवारिक कुरा गर्दा जीवनसंगीनी सुर्जा खत्री जाजरकोट खानेपानी कार्यालयमा खानेपानी सहायक टेक्निसियनको रूपमा काम गर्छिन् । एउटा छोरा र एउटा छोरी छन् । मेरो व्यवसायमा परिवारको ठूलो सहयोग छ । मेरो जीवनको सबैभन्दा दुःखको क्षण भन्नुपर्दा मेरो बुबाको २०६७ सालमा मृत्यु भएको बेलामा म आउन पाइन । बुबाको मृत्यु भएको ४५ दिनपछि मात्रै थाहा पाएँ । मेरो बुबाको क्रिया पनि गर्न पाइन र मुख देख्न पनि पाइन त्यो दिन मेरो जीवनको सबैभन्दा दुःखको क्षण हो । खुशीको क्षण भनेर त खासै छैन । क्षणभरमै खुशी आउँछ र जान्छ पनि । तर मेरो परिवारको खुशी नै मेरो खुशी हो । उहाँहरू खुशी भए म त्यसै खुशी हुन्छु ।
आगामी दिनमा खुशी हुनको लागि मैले हाल होटेल बुलबुले भ्यूबाट २० जनालाई रोजगारी दिएको छु । आगामी दिनमा जुनसुकै पेसाबाट भए पनि सयौं जनालाई रोजगारी दिने उद्देश्य छ । म मेरो पेसाप्रति एकदमै खुशी छु । किनभने त्यो बेला मसँग कापी र कलम किन्ने पैसा थिएन र मैले विकल्पको रूपमा यो पेसालाई रोजेको थिएँ । आज यही पेसाका कारण मैले सबै थोक पाएको छु । मैले यही पेसाका कारण शिक्षा पाएँ, पैसा पाएँ र अर्को कुरा आज धेरै जनालाई रोजगारी पनी दिन पाएको छु । त्यसैले मेरो पेसाप्रति म खुशी छु । आगामी दिनमा सयौं जनालाई रोजगारी दिनको लागि पनि यही पेसाले मलाई सहयोग गर्छ भन्ने मैले ठानेको छु ।

प्रकाशित मितिः   १४ कार्तिक २०७५, बुधबार १५:३१