तीन जिल्लामा स्वास्थ्य कार्यालय

साझा बिसौनी संवाददाता
हुम्ला, १२ कार्तिक ।
प्रदेश सरकार मातहत सञ्चालन हुने गरी कर्णाली प्रदेशका तीन जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । तीन हिमाली जिल्लाहरू हुम्ला, मुगु र डोल्पामा स्वास्थ्य कार्यालय स्थापना गरिएको हो ।
साविक जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अस्पताललाई समायोजन गरी नयाँ संरचना अनुसार स्वास्थ्य कार्यालय नामाकरण गरिएको हो । सिमकोटमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कार्यालयको उद्घाटन गरेका छन् । कार्यालय उद्घाटन गर्दै मन्त्री रावलले कर्णाली प्रदेशको स्वास्थ्य अवस्था सुधार्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । मन्त्री रावलले संघीय व्यवस्था कार्यान्वयनका लागि जनप्रतिनिधि क्रियाशील भइरहेको जनाए ।
उनले हुम्ला र डोल्पामा अक्सिजन प्लान्ट स्थापना गर्न यो वर्ष एक करोड बजेट विनियोजन गरिएको बताए । उनका अनुसार बिरामीलाई एअर लिफ्टिङ गर्न एक करोड ५० लाख रूपैयाँ विनियोजन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुल्सीप्रसाद अधिकारीले भौगोलिक विकटता, जनशक्ति अभाव, पर्याप्त पूर्वाधार अभावलगायत कारण जिल्लाको स्वास्थ्य अवस्था कमजोर भएको बताए । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जिल्लामा सडक यातायात सुविधा नहुँदा यस वर्ष २५ जनालाई हेलिकोप्टरमा उद्धार गरिएको जानकारी दिए ।
त्यस्तै, मुगुमा एक औपचारिक कार्यक्रमकाबीच कार्यालय उद्घाटन गरिएको छ । कार्यालयले स्थानीय तहमा रहेका स्वास्थ्यचौकीको अनुगमन तथा नियमनका साथै अन्य स्वास्थ्य सम्बन्धी काम गर्नेछ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहने गरी डोल्पामा जिल्ला स्वास्थ्य कार्यालयले आइतवारबाट काम सुरु गरेको कार्यालय प्रमुख रनलाल कुलालले बताए ।
जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले साइनबोर्ड खोलेर लेखिएका अक्षर पढी कार्यालयको उद्घाटन गरेका थिए । कार्यालयले महामारी नियन्त्रण, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य बीमा, निजी स्वास्थ्य संस्थाको अनुगमन लगायत कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मितिः   १३ कार्तिक २०७५, मंगलवार १३:४३