‘आयोगको काम प्रदेशबाटै हुन्छ’
साझा बिसौनी संवाददाता
सुर्खेत, १२ कार्तिक ।
राष्ट्रिय योजना आयोगले संघीय संरचना अनुसार प्रदेश तहबाटै काम गर्ने भएको छ । आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले उक्त जानकारी दिएका हुन् ।
प्रदेशको आवश्यकताका आधारमा दिगो विकास योजना निर्माणमा आयोगले प्रदेश कार्यालयमार्फत् काम गर्ने उनले बताए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले वीरेन्द्रनगरमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीलाई विशेष प्राथमिकतामा राखेर योजना निर्माण गरिने बताए । ‘प्रदेशको कार्यक्षमता अनुसारका योजना आयोगले प्रदेशबाटै तयार गर्छ’ उनले भने, ‘ठूला योजना निर्माणमा केन्द्रबाट आयोगले काम गर्छ ।’
अन्य प्रदेशभन्दा कर्णाली विपन्न भएकाले पनि प्राथमिकतामा पर्ने बताए । सडक सञ्जाल विस्तारलाई आयोगले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । ‘अब बन्ने पन्ध्रौं आवधिक योजना कर्णालीको विकास हुने गरी बन्छन्’ उनले भने, ‘जेठसम्म कर्णालीमा आगामी पाँच वर्षमा कुन, १२ वर्षमा कुन र २५ वर्षमा कुन आयोजना सम्पन्न गर्ने भन्ने योजना आयोगले
सार्वजनिक गर्छ ।’ उनले अब आयोगले अन्तरप्रादेशिक र राष्ट्रिय गौरवका तथा राष्ट्रिय प्राथमिकतामा परेका योजनाहरू मात्रै हेर्ने बताए । ‘अब केही समयपश्चात् प्रदेशमा पनि योजना आयोग गठन हुनेछ । त्यो आयोगले प्रदेशस्तरका आयोजनाहरू निर्माण गर्नेछ’ उपाध्यक्ष कँडेलले भने, ‘बाँकी राष्ट्रिय महŒवका आयोजनाहरू हामीले हेर्नेछौं । त्यो भन्दा बढी अब हामी नीतिमा केन्द्रित हुनेछौं ।’
उनले आयागले कर्मचारीहरूको क्षमता अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिरहेको बताए । विगतमा कर्णालीका पाँच जिल्लाको विकास गर्ने भनेर बनाइएको कर्णाली विकास आयोगको क्षेत्राधिकार बढाइने भएको छ । उनले आगामी बन्ने पन्ध्रौं योजनामा हिल्सा नाका सञ्चालन गर्ने, भौतिक पूर्वाधारको विकास गर्ने, पर्यटन उद्योगको विकास र प्रवद्र्धन गर्नेलाई प्राथमिकता दिइने बताए ।
साझा बिसौनी ।