थारु बस्तीमा ‘सण्डे क्लब’
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ कार्तिक ।
क्रियाशील पत्रकार महिला (डब्लूडब्लू जे) सुर्खेतले आइतवार वीरेन्द्रनगरको नयाँ बस्तीमा रहेको थारु होमस्टेमा सण्डे क्लब सम्पन्न गरेको छ । थारु जातिको संस्कृतिको संरक्षणको साथै प्रचार–प्रसार गर्नका लागि सण्डे क्लबको आयोजना गरिएको हो । कार्यक्रममा थारु होमस्टे सञ्चालक जितबहादुर चौधरीले संस्कृति तथा परिकारलाई संरक्षण गर्दै पर्यटन प्रबद्र्धनका लागि कर्णाली प्रदेशमा थारु होमस्टे सञ्चालनमा ल्याइएको बताए ।
४० लाख रूपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको होमस्टेमा थारु समुदायका परिकार पाइने सञ्चालक जितबहादुर चौधरीले बताए । होमस्टेमा ढिकुरी, घोंघीका अलावा लोकल सुँगुरको मासु, स्थानीय खोलामा पाइने साना माछा, लोकल कुखुरा, हाँस, भेडाको मासु लगायत बट्टाइ चराको मासुसमेत उपलब्ध हुने उनले जानकारी दिए ।
यस्तै, हरेक हप्ताको शनिवार थारु संस्कृति झल्कने सांस्कृतिक नाचहरूसमेत सञ्चालन हुने उनले बताए । थारु संस्कृतिको नयाँ वर्ष तथा थारु समुदायको महान चार्ड माघीदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने होमस्टेमा ग्राहकहरूलाई सगुनको रूपमा अनदीको विशेष झोल पनि रहने सञ्चालक जितबहादुरले बताए ।
हलसँगै होमस्टेमा छुट्टै बसाइँका लागि ११ वटा क्याविनको निर्माण कार्यसमेत सम्पन्न भएको उनले बताए । थारु संस्कृति संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले बताए । कार्यक्रममा होमस्टेका शान्ति चौधरी, स्थानीय व्यापारी सिंहबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो । डब्लूडब्लूजे सुर्खेतका अध्यक्ष लक्ष्मी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव सविता जिसीले गरेकी थिइन् ।
साझा बिसौनी संवाददाता ।