प्रहरी बन्न चाहन्थें

निशा पौडेल वरिष्ठ मनोसामाजिक परामर्शकर्ता हुन् । उनले विगत १८ वर्षदेखि सुर्खेतमा मनोसामाजिक सेवा दिइरहेकी छन् । वि.संं. २०३४ असोज ५ गते बुबा लक्षिराम ढकाल र आमा जमुना ढकालको कोखबाट दैलेखको नौमूले गाउँपालिका तोलीमा जन्मिएकी हुन् उनी । महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थामा आवद्ध भएर मनोसामाजिक परामर्शकर्ताको रूपमा काम गरिरहेकी निशाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी गरिन्ः

मेरो जन्म दैलेखको तत्कालीन तोली गाविस हालको नौमूले गाउँपालिकामा भएको हो । गाउँमा जताततै भिरपाखा । तिनै भिरपाखामा खेल्दै, लुकामारी गर्दै बाल्यकाल बित्यो । त्यस बेलामा छोरालाई मात्र स्कुल पठाउने चलन थियो । छोरीहरू पढ्नबाट वञ्चित थिए । विद्यालय जाँदैन थिए । केही अपवाद छोरीहरूले मात्र विद्यालय गएर पढ्ने अवसर पाएका थिएँ ।
म घरको माइली छोरी । ठूली दिदीको सानैमा विवाह भयो । त्यसपछि बहिनीहरू हेर्ने जिम्मेवारी म माथि आयो । बहिनीहरूको हेरचाहा गर्नुपथ्र्यो । हामी पाँच बहिनी र एक जना दाई हुनुहुन्थ्यो । दाई कक्षा ९ मा पढ्ने बेलमा बित्नुभयो । त्यसभन्दा अघि दाईले मात्र पढ्नुभएको थियो । पढ्न धेरै मन लाग्थ्यो तर हामी छोरीहरू पढ्नुहुँदैन भन्ने समाज थियो । सुरुमा हामी घरकै काम गर्नका लागि जन्मिएका हौं कि भन्ने लाग्थ्यो । तर दाइहरूले पढेको देख्दा पढ्न मन लाग्थ्यो । दाइ कक्षा ९ मा पढ्दै हुनुहुन्थ्यो । उहाँको असामहिक निधन भयो । एउटा छोराको मृत्यु भएपछि बुबाआमाहरूलाई पीडा हुनु स्वभाविक थियो । हामीलाई पनि पीडा भयो । त्यसपछि छोराहरू मात्र पढाउनुपर्छ छोरीलाई पढाउनुहुन्न भन्ने समाजलाई तोड्दै बुबाले मलाई पढाउने निर्णय गर्नुभयो ।
म सानै उमेरदेखि बाठी थिएँ । अन्याय सहन सक्दिनथें । यही स्वभावले पनि मलाई यो बाठी छ यसलाई पढाउनुपर्छ भनेर विद्यालय भर्ना गरिदिनुभयो । पहिलो दिन विद्यालय जाँदाको अनुभव तितो पनि थियो र मिठो पनि छ ।
अरुकोभन्दा बढी उमेर भइसकेपछि मात्र म विद्यालय भर्ना भएकी थिएँ । कक्षामा सबै भन्दा ठूली मै थिएँ । केटी साथीहरू जम्मा पाँच जना मात्र थियौं । केटाहरू सानै उमेरमा विद्यालय जाने भएकाले उनीहरू सानै हुन्थे । सबैभन्दा ठूली मलाई देखेर एक जना सरले ‘उमेर ठूलो हुँदा पनि किन होला पढ्न आएको ? बरु घाँसदाउरा गरे हुने नी’ भनेको अझै पनि सम्मझनामा छन् । एकछिन मात्र मन दुखे पनि पढाइमा नै ध्यान दिएँ । पढाइप्रति रुचि भएकाले मलाई अरु सोच्न दिएन ।
त्यसबेलामा कालो पार्टीमा लेख्थ्यौं । मैले तीन कक्षा पढ्ने बेलासम्म कापी र कलम देख्न पाइनँ । पछि कक्षा कक्षा ४ मा पढ्न थालेपछि मात्र मैले कापी र कलम पाएको थिएँ । त्यसबेलामा धेरै रमाइलो लागेको थियो । कापीमा पेनले लेखिरहन मन लाग्थ्यो । एक रूपैयाँको कापी पाइन्थ्यो । पढ्दा खेरी दियालो बारेर पढ्थ्यौं । घरको काम सबै सकेर मात्र पढ्ने सुरु हुन्थ्यो । बिहान–साँझ घरकै काममा हुने भएकाले साँझको समयमा दियालो बारेर घरमा बसेर पढ्थ्यौं । मट्टीतेल लिनका लागि बुबाहरू सुर्खेत आउनुहुन्थ्यो । एक पटक लिन आएको तेलले वर्षभरी पु¥याउनुपर्ने भएका कारणले प्रायः दियालो नै बालेर पढ्थ्यौं । साथीहरूको लहलहैमा लागेर विद्यालय कहिले पनि छुटाइनँ । बरु घरकै कामले कहिलेकाँही विद्यालय छुट्थ्यो । घरको काम समेत सकेर पढ्न जानुपथ्र्यो ।
कहिले काहीं रमाइलो पनि गरिथ्यो । खेल्ने र रमाउने पनि हुन्थ्यो । अझ केटाकेटीमा धेरै खेल्न रमाउन पनि मन लाग्ने हुन्थ्यो । डन्डीबियो, लुकामारी खेल्ने गथ्र्यौ । माथितिर लोहोरे खोला हुन्थे । त्यहाँ गएर पौडी खेल्ने र रमाउने पनि गथ्यौं । विशेष गरेर घाँसदाउरा गर्न जादाँ । कहिलेकाहीं मेलापात जाँदा अमिलो चोरेर खान्थ्यौं । घरबाट नुन खुर्सानी पिसेर लैजान्थ्यौं । अनि अमिलो चोरेर वनमा लिएर खाएको सम्झना अmझै पनि उस्तै लाग्छ । जात्रा लाग्ने समयमा जात्रा हेर्न जान्थ्यौं । केटाकेटी हुँदा खान मन लाग्ने । मेलामा ममफली र सुन्तला जति पनि हुन्थे । किनेर खाउँ भने हामीहरूसँग पैसा हुन्थेन । प्रायः बुढापाका हुन्थे । हामीले चोरेर खाएको कसैले थाहा पाउँदैन्थे ।
सानो छँदा म प्रहरी बन्न चाहन्थें। मैले सानैदेखि घरमा एकजना श्रीमती हुँदाहुँदै अर्को विवाह गर्ने गरेको देख्दै आएकी थिएँ । छोरीको चाहाना नहुँदा नहुँदै पनि सानैमा विवाह गरिदिने, महिला हिंसा गर्ने जस्ता घटना देख्दा मलाई प्रहरी बन्न मन लाग्थ्यो । प्रहरी बनेर यस्ता विकृति, विसंगति र रुढीवादी संस्कारलाई परिवर्तन गर्नुपर्छ भन्ने सोच आउँथ्यो । घरमा छोरी हुर्कदै गइ भने विवाहको कुरा चलाइहाल्ने हुन्थ्यो । मेरो पनि सानैमा विवाहको कुरा आइरन्थ्यो ।
मेरो कुरा बुबाले काट्न नसक्ने भएकाले मात्र उहाँले विवाह गरिदिनुभएन । पछि मागेर नै विवाह गरें । निजी विद्यालयबाट एसएलसी उत्तीर्ण गरें । अहिले म मनोसामाजिक विर्मशकर्ता भएर काम गरिरहेको छु । यसबाट महिला हिंसा न्यूनीकरणका लागि, बालबाविवाह न्यूनीकरणका लागि र महिलाहरूलाई न्याय दिन सहयोग गरेको छु भन्ने लाग्छ ।

प्रकाशित मितिः   १२ कार्तिक २०७५, सोमबार १३:४४