अपराध रोक्न ‘सीपीपी मोडेल’
साझा बिसौनी संवाददाता
सुर्खेत, १० कार्तिक ।
जिल्लामा आपराधिक गतिविधि न्यूनीकरण गर्न नयाँ रणनीति अपनाइने भएको छ । सुरक्षित जिल्लाका रूपमा परिचित गराउन सुर्खेतमा कम्युनिटी–पुलिस पार्टनरसीप ‘सीपीपी मोडेल’ अर्थात समुदाय–प्रहरी साझेदारी अपनाइने भएको हो । अपराध नियन्त्रण गरी सुरक्षित समाज स्थापनाका लागि प्रहरीले सीपीपी मोडेल अघि सारेको हो ।
उक्त मोडेल कार्यान्वयनका लागि सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्नका लागि नेपाल प्रहरी र स्थानीय तहबीच सहकार्य गर्ने सहमति भएको छ । स्थानीयस्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरू, विद्यमान सामुदायिक प्रहरी सेवा केन्द्र, गैर–राजनीतिक, सामुदायिक र सामाजिक संघ–संस्थाहरू सहभागिता हुनेछन् । समुदाय–प्रहरी साझेदारी अन्तर्गत तल्लोस्तरसम्ममा आवश्यक संयन्त्र खडा गरिनेछ । जिल्ला, गाउँपालिका र नगरपालिका, वडा, टोल र विद्यालयस्तरमा समितिहरू गठन गरी अपराधविरुद्धको अभियान थालिने बताइएको छ । जिल्लामा समुदाय–प्रहरी जिल्ला समिति, नगर÷गाउँपालिकामा समुदाय–प्रहरी पालिका समिति, वडास्तरमा समुदाय प्रहरी–वडा समिति, टोलमा समुदाय–प्रहरी टोल समिति र शैक्षिक संस्थाहरूमा प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरिनेछ ।
सामुदायिक सचेतना तथा अपराध रोकथाम, प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम, स्थानीय तहको सेवा प्रवाहमा प्रभावकारी सुरक्षा समन्वय, सीसीटिभी लगायतका प्राविधिक सुरक्षा उपकरणको स्थापना र विस्तार, सामुदायिक गस्ती र प्रभावकारी प्रहरी परिचालन, एकीकृत स्वयम्सेवक परिचालन, फरार अभियुक्त पक्राउमा समुदायको रचनात्मक सहयोग, सूचना आदान–प्रदान, तथ्यांक संकलन, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि यो अभियानले काम गर्नेछ । सुरक्षा र विकास अन्तरसम्बन्धित भएकाले स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गरी टोल–टोलमा सुरक्षा संयन्त्र परिचालन गर्ने रणनीति बनाएको हो । जसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्लाका नौ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूबीच लिखित रूपमा समझदारी हुनेछ ।
जिल्लाका वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिकाले शनिवार समुदाय–प्रहरी साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदी, चौकुने गाउँपालिका अध्यक्ष धिरबहादुर शाही र जिल्ला प्रहरी प्रमुख बसन्त रजौरेबीच समुदायमा हुने आपराधिक गतिविधि रोक्न आवश्यक सहयोग गर्ने प्रतिबद्धतासहितको सहमति भएको हो । समझदारी पत्रमा काम, कर्तव्य र जिम्मेवारी बाँडफाँड गरिएको छ । जसअनुसार स्थानीय तहले सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाको दायित्व सम्हाल्नु पर्नेछ । नेपाल प्रहरीले जिल्लामा हुने अपराध नियन्त्रण र रोकथाम गर्ने दायित्व तोकिएको छ । सामाजिक संघ–संस्थाहरूका सामुदायिक सुरक्षा र जनचेतना केन्द्रित उद्देश्यहरू असल र सक्षम नागरिकको विकास गर्ने शिक्षा प्रणालीको लक्ष्य र राष्ट्रिय सुरक्षाको सन्दर्भमा संविधानले निर्दिष्ट गरेका नागरिकको कर्तव्यसमेत संस्थागत सहकार्य र समन्वय गर्नका लागि सामुदाय–प्रहरी साझेदारी गरिएको हो ।
समुदाय–प्रहरी साझेदारीमार्फत् दिगो र दीर्घकालीन साझेदारी संयन्त्र निर्माण गर्ने अपेक्षा लिइएको छ । स्थानीयस्तरको विद्यमान परिस्थिति र भावी कार्यदिशाको सम्बोधन गर्न, विकास र सुरक्षाबीचको अन्तरनिर्भरता एकीकृत रूपमा आत्मसात् गर्न, सुरक्षा सचेतना, स्थानीय तहका सेवा प्रवाहमा प्रहरी र जनप्रतिनिधिबीच समन्वय कायम गर्न मद्दत पुग्ने चौकुने गाउँपालिकाका अध्यक्ष शाहीले बताए । जिल्ला, स्थानीय तह, वडा, टोल समितिहरूमा साझेदार संघ–संस्था र नागरिक समाजका प्रतिनिधिसँग मासिक रूपमा अन्तरक्रिया गरिने, विद्यालय–सम्पर्क समितिको दुई÷दुई महिनामा एक पटक बैठक गरिने जनाइएको छ । सुर्खेतका अन्य स्थानीय तहका प्रमुख र जिल्ला प्रहरी कार्यालय सुर्खेतबीच आइतवार समुदाय–प्रहरी साझेदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
जिल्ला प्रहरी कार्यलय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले
दिएको जानकारी अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक कार्यक्रमकाबीच आज (आइतवार) समुदाय–प्रहरी साझेदारी कार्यक्रमको औपचारिक उद्घाटन गर्ने भएका छन् ।
साझा बिसौनी संवाददाता ।