प्रदेश सभा बैठक बस्दै

साझा बिसौनी संवाददाता
सुर्खेत, १० कार्तिक ।
कर्णाली प्रदेश सभाको बैठक आज (आइतवार) बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको बैठक १९ दिनपछि बस्ने भएको हो । शनिवार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकबाट सभा सञ्चालन गर्ने सहमति भएको हो ।


बैठकले गरेको निर्णय अनुसार दिउँसो १ बजेदेखि बस्ने प्रदेश सभामा कांग्रेसले राखेका मागहरूमाथि सरकारको तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भनाइ राख्नेछन् । कांग्रेसले चालु आर्थिक वर्षको विकास बजेट समेटिएको रातो किताब र सांसदहरूको सेवा–सुविधा तत्काल उपलब्ध गराउन माग राख्दै आएको छ ।
प्रदेश सभा सचिवालयको कार्यतालिका अनुसार आजको बैठकमा गाउँपालिका तथा नगरपालिका सञ्चालन सम्बन्धी विधेयक–२०७५ पनि छलफलका लागि संसदमा प्रस्तुत गरिनेछ ।