कर्णाली चिनाउन फोटो प्रदर्शनी
भाषा, कला, साहित्य, ऐतिहासिक, मनोरम दृश्य, ताल, हिमाल तथा जैविक विविधताले भरीपूर्ण छ कर्णाली प्रदेश । कर्णालीको यही पहिचानलाई ऊजागर गर्न पत्रकार भरतबन्धु थापाले कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा फोटो प्रदर्शनी गरेका छन् । सुर्खेत लाईन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी २ को आयोजनामा पत्रकार थापाले नौ वर्ष लगाएर खिचेका कर्णाली प्रदेशका जिल्लाहरूको तस्वीर प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा प्रदेशका १० जिल्ला ५५ वटा तस्विर छन् । प्रदर्शनीमा विश्वको सबैभन्दा उच्च स्थानमा रहेको मानववस्ती द्यो, नेपालको सबैभन्दा ठूलो ताल राराताल, नेपालको सबैभन्दा गहिरो ताल फोकसुण्डो ताल, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपालको अभिलेख, नेपाली भाषाको उद्गम थलो जुम्ला, नेपालको सबैभन्दा उचाईमा रहेको सदरमुकाम हुम्लाको सिमकोटको खलगा बजार, लोपोन्मुख अवस्थामा रहेको जाजरकोटको खुँडा नाच तथा राउटेका साथै पर्यटकीय स्थलहरू रहेका छन् ।
त्यसैगरी दोस्रो लुम्बिनीका रूपमा परिचित सुर्खेतको काँक्रेबिहार, कर्णाली प्रदेशको शक्तिका रूपमा पूजा गरिने देउतीबज्यै मन्दिर लगायत कला, संस्कृति, ताल, मन्दिरहरूका तस्वीरहरू प्रदर्शनीमा समावेश गरिएको छ । भरतबन्धु थापाले यसअघि भक्तपुर, काठमाडौं, नेपालगन्ज, धनगढी, कास्की र सुर्खेत गरी नौ पटक प्रदर्शनी गरिसकेका छन् भने थापाले पश्चिम नेपालका पर्यटकीय स्थलहरूको फोटो किताबसमेत निकाली सकेका छन् ।
प्रकाशित मितिः ११ कार्तिक २०७५, आईतवार १३:४०
साझा बिसौनी संवाददाता ।