तीन प्रहरी पुरस्कृत

साझा बिसौनी संवाददाता
सुर्खेत, १० कार्तिक ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जना प्रहरीलाई पुरस्कृत गरेको छ । लागूऔषधको दुव्र्यसनी नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनतर्फ असोज महिनामा सबैभन्दा उत्कृष्ट कार्य गरेवापत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान मोहन पौडेल पुरस्कृत भएका छन् । असोज महिनामा लागूऔषध दुव्र्यसनी नियन्त्रण गर्न लागूऔषधको बरामतका साथै सेवन, बिक्री वितरण तथा ओसार–पसारमा संलग्न मानिसहरूलाई पक्राउ गरी लागूऔषध दुव्र्यसनी नियन्त्रणमा उत्कृष्ट कार्य गरेकोले उनलाई महिनाको सर्वोत्कृष्ट लागूऔषध नियन्त्रण पुरस्कारबाट सम्मानित गरिएको हो ।


यस्तै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने प्रहरीचौकी आग्रीगाउँका प्रमुख गोविन्द विक पनि पुरस्कृत भएका छन् । सीमित स्रोत साधन तथा जनशक्तिको उच्चतम सदुपयोग, मानवअधिकारको सम्मान, भौगोलिक अवस्था तथा जनचेतनामूलक कार्यक्रमको संख्या समेतको आधारमा समुदाय र प्रहरीबीच असल सम्बन्ध कायम गरी समाजमा शान्ति सुरक्षा कायम गरेकाले उनलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शनिवार नै पुरस्कृत हुने अर्का प्रहरी हुन् अस्थायी प्रहरी बिट जहरेका प्रमुख झलकबहादुर बुढा । उनलाई असोज महिनाको सर्वोत्कृष्ट जनचेतनामूलक कार्यक्रमबाट पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हरेक महिना विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कृत गर्ने जनाएको छ ।

प्रकाशित मितिः   ११ कार्तिक २०७५, आईतवार १३:३८