केन्द्रले कि संसदीय दलबाटै ?

बाझियो शक्ति र जनार्दनको भनाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ कार्तिक ।
दुई साताअघि सुर्खेत आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले पार्टीको प्रदेश संसदीय दलको नेता केन्द्रीय स्थायी कमिटीले छनौट गर्ने धारणा राखेका थिए ।
शर्माको उक्त अभिव्यक्ति आए लगत्तै प्रदेश सह–इञ्चार्ज यामलाल कँडेलले नेता छनौटको निर्णय संसदीय दलको बैठकले गर्ने आशयको अभिव्यक्ति दिए । उनले फेसबुकमा लेखे, ‘नेकपाको विधान अनुसार संसदीय दलको नेता बनाउने कुरा सम्बन्धित दलको विषय हो ।’ कँडेलले उक्त अभिव्यक्तिको सन्दर्भ खुलाएका छैनन् । तर शर्माको भनाइ आएलगत्तै लेखिएको उक्त स्टाटस शर्माकै प्रतिउत्तरमा भएको चर्चा गरिएको छ ।
अर्कोतर्फ शुक्रवार सुर्खेत आइपुगेका वन तथा वातावरणमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले पनि उक्त विषयमा मुख खोलेका छन् । उनले पनि कँडेलले जस्तै शर्माको अभिव्यक्तिभन्दा फरक भनाइ राखे । बस्नेतले प्रदेश संसदीय दलको नेता सम्बन्धित प्रदेश संसदीय दलको बैठकबाटै निर्णय गरेर छनौट गरिने प्रतिक्रिया दिए ।
दुई पार्टीबीच एकता भएसँगै नेकपाको प्रदेश संसदीय दलको नेता को हुने भन्ने विषयमा अनेक चर्चा र परिचर्चा भइरहेका बेला आएका शर्मा, बस्नेत र कँडेलका यी अभिव्यक्तिले नेकपाका नेताहरूबीच नै संसदीय दलको नेता छनौटका विषयमा मतभेद रहेको प्रष्ट हुन्छ ।
कर्णाली प्रदेशमा तत्काल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेता रहेका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका छन् भने पूर्व नेकपा एमालेका संसदीय दलको नेता यामलाल कँडेल हुन् । दुई पार्टी एक भइसके पनि संसदमा भने पूर्व पार्टीको संसदीय दलको नेताकै रूपमा शाही र कँडेलको प्रतिनिधित्व हुँदै आएको छ । एकता भइसकेको पार्टीको संसदीय दलको नेता को बन्ने भन्ने विषयको चर्चा आम कार्यकर्तामाझ पनि भइरहँदा नेकपाका केन्द्रीय नेताहरूबीच नै नेता छनौट कसरी गर्ने भन्ने विषयमै मतभेद देखिएको छ ।
नेकपामा कर्णालीबाट प्रतिनिधित्व गर्ने तीन शीर्ष नेताहरूमध्ये शक्ति बस्नेत र यामलाल कँडेलको भनाइमा एकरूपता पाइन्छ भने शर्माको भनाइ उनीहरू दुईको भन्दा फरक रहेको छ । बस्नेतले संसदीय दलको नेता सम्बन्धित संसदीय दलले नै छनौट गर्ने बताए । प्रदेश संसदीय दलको नेता छनौटको विषयमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले पार्टीको विधान र प्रचलित विधि अनुसार नेकपाको कर्णाली प्रदेश संसदीय दलको बैठकबाटै दलको नेता छानिनुपर्ने बताए । जबकी केही साताअघि मात्रै सुर्खेत आएका प्रदेश इञ्चार्ज शर्माले प्रदेशको संसदीय दलको नेता केन्द्रले तोक्ने बताएका थिए । कर्णालीका दुई शीर्ष नेताहरूबीच नै मत बाझिएको छ । यसलाई बस्नेत र शर्माबीचको टकरावको रूपमा समेत चित्रण गर्न थालिएको छ ।
पूर्व माओवादी केन्द्रका नेताद्वय शर्मा र बस्नेतबीच आन्तरिक शक्ति संघर्ष चल्दै आएको छ । विशेष गरी कर्णाली प्रदेशमा पूर्व माओवादी केन्द्रका नेता–कार्यकर्ता यी दुई नेताको गुटमा विभाजित देखिन्छन् । जसको संकेत समय–समयमा सार्वजनिक समेत हुने गरेको छ । जस्तो कि शुक्रवार मन्त्री बस्नेत सुर्खेत आउने भएपछि पूर्व माओवादीका जिल्ला इन्चार्ज समेत रहेका कृष्ण जिसी ‘जितेन्द्र’ले फेसबुकमार्फत् शक्तिको आगमनलाई कटाक्ष गरे । उनले मन्त्रीको स्वागतमा अघिल्लै दिनदेखि विमानस्थलमा स्वागत गर्न दौडधुप भएको र स्वागतमा जानका लागि उर्दी जारी गरिएको आशयसहितको व्यंग्य गरेका थिए । उनको स्टाटसमा कमेन्ट गर्दै अन्य केही नेताहरूले शक्ति बस्नेतलाई गुटगत भेला गर्न आउन लागेको टिप्पणी समेत गरेका थिए ।

प्रकाशित मितिः   १० कार्तिक २०७५, शनिबार १५:४७